लक्ष्मणदत्त पन्त
महेन्द्रनगर, कात्तिक ९ गते । अघिल्लो दिनको साँझबाट वर्षा भइरहेको थियो, सदाझैँ नियमित काम सकेर खाना खाएर सुतेका थियौ ।
श्रीमतीले राति ११ बजे एकाएक घरमा पानी भरिएको भनेर उठाइन् । उठ्दा पानीले घुँडासम्म छोइसकेको रहेछ । पानी आउने कल्पनासम्म थिएन । महाकाली यहाँबाट दुई/तीन सय मिटर पर छ, फेरि यो यति धेरै उँचो ठाउँ छ तर महाकालीले उग्ररुप लिएको रहेछ ।
केही बेरमा पानीको तेज बढ्दै गयो, महाकाली पुरै उर्लिएर आएझैँ भयो, हामी घरको अलिमाथि उँचो भएको ठाउँतिर स¥यौ । पानीले त्यहापनी हामीलाई डुबाउन शुरु ग¥यो, गोठ कुर्न आउनुभएका गाउँले भाउजु (दीर्घमतीदेवी खड्का) पनि सँगै हुनुहुन्थ्यो । मेरो मोबाइलको ब्याट्री चार्ज थिएन । उहाँको मोबाइलबाट दाजुलाई फोन गरेर उद्धारका लागि गुहार गरे तर उद्धार सम्भव थिएन ।
दाजुले साहस गर्न र सुरक्षित स्थानतर्फ जान आग्रह गर्नुभयो । हामी सर्दासदै अन्तमा एउटा ढुङ्गामा उभिएर भगवान, देवीदेउता, नजिकै पारीपट्टी रहेको पूर्णागिरिमातालाई सम्झिरह्यौँ । रातभरी परेको झरीले भिजेर लथरम्म भएका थियाैँ, महाकाली सुसाएको आवाज सुनिन्थ्यो पानी अझै बढिरहेको थियो । उज्यालो कहिले होला भन्ने पखाईमा बसिरह्यौँ, बाँच्ने आशा हराइसकेको थियो । तीन वर्ष पहिले महाकालीमा बगेर ज्यान गुमाएकी छोरीलाई सम्झिए । गंगामैयाले पुरै परिवारलाई लग्ने भयो भन्ने लाग्यो । रुँदै देवीदेउता पुकार्दै एउटा बच्चालाई मैले र एउटालाई श्रीमतीले काखमा लिएर एउटा कम्बलले माथिको पानी छेक्दै रात बितायाैं । अहिले मृत्युको मुखबाट फर्केर आएजस्तो लाग्छ ।
बिहान भयो उद्धारका लागि हेलिकप्टर आउँदैछ भनेपछि मन हर्षित भयो बाँच्ने आशा पलायो, तर दिउँसो दुई बजेतिर मौसम खराबका कारण हेलिकप्टर आउन नसकेको र आएर फिर्ता गएको भन्ने खबर पाएसँगै पुनः बाँच्ने आशा हरायो । यससँगै मोबाइल पनि अफ भयो । दुई बजेदेखि उद्धार हुँदाको समय साँझ पाँच बजेसम्मका ३ घण्टा रातिका जस्तै सकसपूर्ण रह्योे ।
पानीको सतह बढिरहेको थियो ढुङ्गामा उक्लेर उभिरहेँ । बाँच्ने आशा हराएको थियो । आफू पौडी खेल्न जान्दथेँ तर एक्लै बाँचेर के गर्ने बच्चा र श्रीमतीसँगै मर्न तयार भएर बसिरहेँ ।
एकाएक हेलिकप्टर देखेपछि मनमा खुसी लाग्यो । भगवानले हाम्रो पुकार सुनेको अनुभूति भयो । सरकार, सेना र सहयोग गर्ने सबैमा धन्यबाद दिन चाहन्छु । यो पीडा बाढी आउँदा महाकालीको बीच टापुबाट उद्धार गरिएका भीमदत्त नगरपालिका–९ खल्ला मुसेटीका ३६ वर्षीय लक्ष्मणसिंह नायक (पुस्कर) को पीडा हो ।
उहाँको त्यहाँ महाकाली नदी नजिकै रहेको घर, गाईगोठ, दुईवटा कुखुरा खोर र एक हजार पाँच सय बोईलर कुखुरा, २२ वटा लोकल कुखुरा, १५/२० हजार नगद र लत्ताकपडा समेत बाढीले बगाएको छ । उहाँकी ३० वर्षीया श्रीमती शान्तिदेवी नायक पनि आफू रातभर रोएर भगवानलाई पुकार्दै बसेको बताउनुहुन्छ । उहाँहरुका साथमा दुई छोराहरु आठ वर्षका अजयसिंह नायक र वर्ष पाँच का सुरजसिंह नायक समेत थिए । घरबार बगाएपछि अहिले उहाँहरु आफ्नो दाजुको घरमा एउटा कोठा मागेर बस्नुभएको छ ।
उहाँहरुलाई सन्तनगर खल्ला विपत व्यवस्थापन केन्द्रले रेडक्रसको अनुदानमा त्रिपाल, भाँडाकुडालगायतका सामाग्री प्रदान गरेको छ ।
यस्तै गाईगोठ र घर कुर्न जानुभएका बर्ष ६६ की दीर्घमतीदेवी खड्काको पनि आफ्नै अनुभव छ । दिउँसो माथिपट्टीको घरमा र राति खोर र गाईगोठ भएको घरमा सुत्ने गर्नुभएका उहाँ भन्नुहुन्छ, ‘श्रीमान केटाकेटीको याद गर्दै बसे, देवीदेउता पुकारे, ३३ कोटी देवताको जप गरेर बसे, आफूले गल्ती तथा पाप नगरेको तर केको सजाय पाइरहेको हो भन्ने मनमा लागिरह्यो ।’
प्रायः धार्मिक कार्यक्रममा व्यस्त रहने र छाडा गाईबस्तुको स्याहार गर्ने गर्नुभएकी उहाँले साक्षात भगवानका रुपमा आएर उद्धार गर्नुहुने सबैमा धन्यवाद व्यक्त गनुहुन्छ । उहाँले भन्नुभयो, ‘गाईगोठ, कुखुरा फर्म, कुखुरा सबै बगेकाले दुःखी छु, तिल, धान, बोडी र कोदो बगाएको छ ।’
भीमदत्त नगरपालिका–९ मा पर्ने खल्ला मुसेटीमा महाकालीमा आएको बाढी गाउँखेततिर पस्यो, तर अहिलेसम्मकै ठूलो २०७० सालको बाढी समेत त्यता नपसेको स्थानीय बताउँछन् । बाढी पसेपछि गाउँभन्दा अलि पर उचो ठाउँमा घर बनाएका नायक परिवार र गोठ बनाएका खड्का बीचमा फस्नुभएको हो । कात्तिक २ गते उहाँहरुको नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको थियो ।
रुख र पुराना ढुङ्गाले बचायो
उँचो ठाउँमा गए पनि कम्मर भन्दामाथि पानी पुगिसकेको उहाँहरुलाई अगाडि रहेका पुराना ठूला ढुङ्गा र रुखहरुले बचाएको नायकको दाबी छ । उहाँले भन्नुभयो, ‘हामीहरु भएको ठाउँमा आउने पानीको बहाब कम भएको कारणले बाँचिएको हो, ढुङ्गा र रुखहरुले पानीको बहाबलाई रोकेको थियो । उहाँ आफूहरुले अर्को जीवन पाएको अनुभूति भएको समेत बताउनुहुन्छ । -स्थलगत रिपाेर्ट