मनाेजरत्न शाही/केशब गुरूङ्,प्रस्तुति सपना थामी
काठमाडौं, मंसिर १ गते । कात्तिक महिनाभरी नै नाचिने नाचलाई कात्तिक नाच भनिन्छ । इतिहास अनुसार सिद्धिनरसिंह मल्लको राज्यकालमा मगा नक्षत्रमा पर्ने हालको ललितपुर नगर क्षेत्रमा झाडापखाला लगायतका रोग, व्याधीले जनताको अकालमा ज्यान जाने अवस्था सिर्जना भएको थियो । यस समस्या निवारणका लागि गुरुद्वय हरिवंश राजोपाध्याय र विश्वनाथ राजोपाध्यायलगायत अन्य ज्योतिषहरुबीच भएको छलफलले नरबलि दिनुपर्ने निष्कर्ष निकाल्यो ।
तर, सधै नरबली दिन असम्भव भएको हुँदा नाट्यसम्राट समेत रहेका गुरु हरिवंशले नेपाल संवत् सात सय ६१ मा नरसिंह नाच र बराह नाचलाई नरबलीको प्रतिकको रुपमा सिर्जना गरिएको र तत्पश्चात् रोग, व्याधी हटेर जनकल्याण भएको जनविश्वास रहँदै आएको कात्तिक नाच संरक्षण समितिका प्रचार संयोजक सञ्जय शर्मा राजोपाध्याय बताउनुहुन्छ ।
नरसिंहको अवतारमा नाचिने यस कात्तिक नाचमा हिरण्य कशेपुलाई वध गरी बेहोस् गरिएको र गुरु विश्वनाथले तान्त्रिकरुपमा जल खुवाएर होस्मा ल्याइएको किंवदन्ती छ । यसरी नरबलीको प्रतिकको रुपमा कात्तिक नाच प्रारम्भ भएको राजोपाध्याय बताउनुहुन्छ । कात्तिक नाचमा स्वयम् आफैँ पनि नाच्दै आउनुभएको राजोपाध्याय भन्नुहुन्छ, ‘मुकुट लगाइसकेपछि त्यहीँ पात्रमा डुबेको महशुस हुन्छ । जुन महशुस अन्य नाच नाच्दा हुँदैन ।’
कात्तिक नाच प्रशिक्षणका लागि करिब एक वर्षको समय लाग्ने गर्दछ । तर, समय र आर्थिक अभावका कारण कम्तिमा तीन महिना मात्रै प्रशिक्षण गराएर नाच प्रदर्शन गर्नुपरेको गुनासो उहाँको छ । उहाँ भन्नुहुन्छ, ‘पहिलाको जस्तो नामको मात्र संस्था नभएर जिल्ला प्रशासन कार्यालयमा समिति दर्ता गराएर आगामी पाँच–सात वर्षभित्र दश करोडको अक्षय कोष खडा गर्ने योजना छ ।’ हालसम्म ललितपुर महानगरपालिकाले एक करोड रुपियाँ र वडा नम्बर १६ बाट दश लाख रुपियाँ र कला, संस्कृति पारखीहरुले मात्रै गरगहना र मुकुटाहरु अनुदानमा सहयोग गर्दै आएका छन् । हालसम्म कलाकारहरुको श्रमदानबाट कात्तिक नाच सञ्चालन हुँदै आएको छ । नाच संरक्षणमा नयाँ पुस्ताको पनि ध्यानाकर्षण जानुपर्ने उहाँको धारणा छ ।