काठमाडौं,मङ्सिर ११ गते । केही दिन पहिले पाटनमा एक घरमा आगलागी भयो । उक्त आगलागीमा परि एउटै घरका चार जनाको मृत्यु भयो,घर जलेर नष्ट भयो । । त्यसको भोलिपल्ट नै अनामनगरको एक फर्निचर उद्योगमा अगलागी भयो । मानवीय क्षति नभए पनि लाखौैंको क्षति भयो । यस्तै मंसिर १ गते राती मुगुमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भए।
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन । अचेल विद्युत सर्ट भएर वा अन्य कारणबाट हुने आगलागीका घटना बढेका छन् । जसका कारण मानवीय साथै धनको क्षति भएको छ । सामान्यतया सुख्खा वा गर्मी मौसममा आगलागीका घटना बढी हुन्छन् तर दुर्घटना, हेलचेक्राई, विद्युत सर्ट वा जानाजान कसैले आगो लगाउने मुख्य कारण देखिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
गत आ.व २०७७÷७८ मा आगलागीका घटनामा ८१ जनाको ज्यान गएको तथा ३८२ जना घाइते भएको प्रहरी तथ्यांक छ । आगलागीबाट एक हजार ७०९ घरगोठमा क्षती भएको तथ्यांक छ । आगलागीबाट कुल चार अर्व सात करोड २० लाख ४४ हजार ६१६ रुपौंया बराबरको क्षती भएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।
चालु आ व २०७८÷७९ को चार महिनामा आगलागीबाट पाँच जनाको ज्यान गएको छ भने ६६ जना घाइते भएका छन् । आगलागीले १६४ घरमा क्षति पुयाएको प्रहरीको तथ्यांक छ ।
जानाजान पनि आगो लगाइन्छ
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्र.व.उ बसन्तबहादुर कुँवरका अनुसार केही आगलागीका घटना मानिसले जानाजान पनि लगाउँदा पनि हुने गरेको पाइएको छ । केही आगलागीका घटना मानिसले आफै जानजान पनि भएको देखिन्छ । बीमाबाट बढी पैसा आउने लोभले पनि केही आगो लगाउने गर्दछन्’ कुँवर भन्नुहुन्छ । अनुसन्धानका क्रममा गाडी,सम्पत्तीमा जानाजान मानिसले आगो लगाउने गरेको भेटिएको उहाँको भनाइ छ । तर, यी घटनाहरु भने निकै कम रहेको उहाँले बताउनुभयो । यसरी जानाजान आगो लगाउनेलाई कारबाही पनि गरिएको उहाँ बताउनुहुन्छ । कतिपय सवारी साधन पुराना भएसँगै मानिसले बीमाबाट बढी रकम पाउने लोभले सवारीमै आफै आगो लगाइदिने गरेको पनि पाइएको प्रवक्ता कुँवर बताउनुहुन्छ ।
आगलागी सम्बन्धी विज्ञ सुन्दर शर्माका अनुसार पनि कतिपय सवारी धनि तथा उद्योगहरुले बीमा बापतको रकम पाउने लोभका कारण जानाजान आगो लगाउने देखिएको बताउनुभएको छ । कतिपयले कागजपत्र लुकाउने मनसायका साथ पनि उद्योग तथा अन्य कम्पनीमा आगो पनि लगाउने सम्भावना हुने उहाँले बताउनुभयो ।
घरमै आगो निभाउने उपकरण राख्ने प्रचलन नै छैन
विकसित देहशरुमा आगलागी भए धुवाँ र आगोको मात्रा बमोजिम अलार्म बज्ने भएकाले आगो फैलिनुअघि नै नियन्त्रणमा लिन सजिलो हुन्छ तर नेपालमा यस यससम्बन्धी कुनै प्रविधिको प्रयोग भएको पाइँदैन । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख खुमानन्द आचार्यका अनुसार घरघरमा अग्नि नियन्त्रक उपकरण नराख्नाले पनि विद्युत सर्ट वा अन्जानवस हुने आगलागीको घटनाको क्षति बढ्ने बताउनुभयो । ‘हाम्रो नेपालमा घरघरमा अग्नि नियन्त्रक उपकरण राख्नुपर्छ भन्ने स्मरण नै भएको देखिदैन जसका कारण अचानक लागेको आगोले धेरै क्षति भएको पाइएको छ,’ उहाँले भन्नुभयो ।
सहरमा सडक जामले आगो निभाउन समस्या
काठमाडौं उपत्यकाका लगायत अन्य मुख्य सहरहरुमा सडकमा अत्याधिक जाम भएका कारण सहरभित्र आगलागी हुँदा चाँडै नियन्त्रणमा लिन समस्या भैरहेको जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख चन्दन श्रेष्ठले बताउनुभयो । ‘मुख्य–मुख्य सहरमा बाटोमा लामो जाम हुन्छ ,दमकललाई बाटो छाड्न पनि नसक्ने अवस्थामा गाडीको लाइन हुन्छ । दमकल आगलागी भएको ठाउँसम्म पुग्दा धेरै क्षति भइसकेको उदाहरण थुप्रै छन्,’उहाँले भन्नुभयो । काठमाडौंका भित्री सडकहरु साँगुरा भएकाले पनि भित्री क्षेत्रमा आगलागी हुँदा निकै कठिनाई भैरहेको उहाँ बताउनुहुन्छ ।
के छ आगलागी सम्बन्धी अन्तराष्ट्रिय अभ्यास ?
आगलागी सम्बन्धी विज्ञ सुन्दर शर्माका अनुसार विकसित देशहरूमा फायर अलार्म सबै संरचनामा अनिवार्य रूपमा जडान गरिने बताउनुहुन्छ । धुवाँ र आगोको मात्राबमोजिम अलार्म बज्ने भएकाले आगो फैलिनुअघि नै नियन्त्रणमा लिन सजिलो हुन्छ । अमेरिका तथा युरोप लगायतका देशमा आगलागी सम्बन्धी कानुनलाई पहिलो प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो ।
साथै आगो निभाउने सिलिन्डर पनि हुन्छ। आगो लागेको ठाउँबाट अर्को कोठामा सर्न नदिन सोहीबमोजिमको भित्ता र ढोकाहरू जडित हुन्छन्। सामान्यतया ३० मिनेटसम्म त्यस्ता ढोकाबाट आगो सर्न पाउँदैनन्। जहाँ आगो निभाउन नसकिए तुरुन्त फोन गर्न सकिन्छ। साथै, आगोको मात्राबमोजिम सानो र ठूलो अर्लाम बज्ने गर्छ । ठूलो अर्लाम बजेको अवस्थामा आगलागी भएको सूचना सम्बन्धित निकायमा स्वतः पुग्ने प्रविधि हुन्छ । केही मिनेटभित्र प्रहरी, दमकल, एम्बुलेन्सहरू आइपुग्छन ्। जसले गर्दा विकसित देशहरुमा आगलागीबाट हुने घटनाको क्षति निकै कम हुने उहाँ सुनाउनुहुन्छ । घर निर्माण गर्ने क्रममै फायर कोड निर्माण गर्न आग्रह गरिएको हुन्छ । जसका कारण आगलागी लाग्ने सम्भावना निकै कम हुन्छ ।