logo
२०८० चैत्र १५ बिहीवार



दश वर्षदेखि गोठमा हतकडीमा बाँधिएकी शान्ति सुनी 

पढ्नै पर्ने |
प्रदेश |
समाज |


दश वर्षदेखि गोठमा हतकडीमा बाँधिएकी शान्ति सुनी 
१० वर्षदेखि हतकडीमा बाँधिएकी शान्ति सुनी । तस्बिरः गोकर्ण दयाल


 

गोकर्ण दयाल
बैतडी, मङ्सिर १४ गते । तीन सन्तानकी आमा शान्ति सुनी विगत १० वर्षदेखि अँध्यारो गोठमा हतकडी लगाएर राखिएको अवस्थामा फेला पर्नुभएको छ । स्थानीय आरनमा बनाइएको फलामको हतकडीमा बाँधिएका कारण शान्तिका हातमा निलडाम बसेकाे छ।

बैतडीको मेलौली नगरपालिका–९, रोकटा गाउँकी ३२ वर्षीया शान्ति सुनीलाई मानसिक रोगको उपचार गराउन नसक्दा घरपरिवारले आरनमा बनाएको हतकडी र गोडामा जन्जीर लगाएर अँध्यारो गोठमा राख्दै आएका छन् ।

गरिब तथा विपन्न दलित घरपरिवारकी शान्ति सुनीको १६ वर्षअघि बैतडीकै उदयदेवबाट विवाह भएको थियो । शान्तिका तीन छोराछोरी छन् । घरमा खान लगाउन नपुगेपछि शान्तिका श्रीमान् रोजगारीको क्रममा भारतमा रहेको परिवारले बताएका छन् ।

शान्ति सुनीलाई घरका जेष्ठ सदस्य ससुरा नाता पर्ने ७० वर्षका काशी सुनीले खाना गोठमै दिने गर्नुभएको छ ।

“बुहारीको उपचार गर्न खर्च छैन । साँझ–बिहानको छाक टार्न पनि मुश्किल छ,” ७० वर्षीय सुसुरा काशी सुनीले भन्नुभयो, “ खेतबारी केही छैन । भएको घर पनि पहिरोको जोखिममा छ । छाक टार्न समस्या भएपछि छोरा भारतमा मजदुर गर्दैछ । गाउँमा कुनै रोजगारी छैन । नातिनातिना कसरी पढाउने ? भन्ने अर्को चिन्ता छ ।”

१० वर्षदेखि अँध्यारो गोठमा बर्बराउँदै आइरहेकी शान्ति सुनीको उपचार गर्न नसक्दा साह्रै पीडा भइरहेको शान्तिका ससुरा काशी सुनीले गुनासो गर्नुुभयो ।

शान्ति सुनीकी दुई छोरी मध्ये जेठी हरिना सुनी कक्षा ७ मा पढ्छिन् भने कान्छी छोरी असिना सुनी कक्षा दुई र १० वर्षका छोरा तस्बिर सुनी कक्षा तीनमा पढ्छन् ।

उनीहरुसँग कापी कलम र विद्यालय जाने पोशाकसमेत नभएको ७० वर्षीय हजुर बुवा काशी सुनीले पीडा सुनाउनुभयो ।

“दैवले त ठगेकै थियो, त्यसमाथि बाढी पहिरोका कारण ओत लाग्ने घर पनि पहिरोको जोखिममा परेको छ” ७० वर्षीय काशी सुनीले भन्नुभयो, “दुई जना बुढाबुढीको भरमा तीन नाती नातिना र मानसिक रोगी बुहारी छिन् । परदेश गएको छोरा घर फर्किदिए सबैको जिम्मा लगाउन हुन्थ्यो ।”

बुहारीको उपचारका लागि स्थानीय सरकारसँग हारगुहार माग्न वडा कार्यालय धाए पनि जनप्रतिनिधि भेट्न नसकेको उहाँले बताउनुभयो ।

शान्तिको उपचारका लागि नगर कार्यपालिकाको बैठकमा कुरा उठाउने मेलौली नगरपालिकाका उप प्रमुख राधा ओझाले बताउनुभयो ।

उप प्रमुख ओझाले भन्नुभयो,“शान्तिको विषयमा अहिलेसम्म थाहा पाउन सकेनौं । के कस्तो अवस्था रहेछ वडा अध्यक्षलाई बुझेर उपचारका लागि आवश्यक पहल चाल्नेछौं ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?