logo
२०८१ बैशाख २० बिहीवार

    जाडोमा किन बढ्छन् आगलागीका घटना ? 



सजग नहुँदा आगलागी, दमकलमा मात्र भर पर्नु अनुचित

पढ्नै पर्ने |
राष्ट्रिय |


सजग नहुँदा आगलागी, दमकलमा मात्र भर पर्नु अनुचित


काठमाडौं, पुस ११ गते । जाडो सुरु भएसँगै आगलागीका घटना बढेका छन् । मुख्यतया वर्षायामको तुलनामा हिउँदममा आगलागीका घटना बढ्ने गरेको तथ्याङ्क छ । तर यतिबेला वनजङ्गलमा मात्र होइन बस्ती र घरमा पनि आगलागी बढेको छ ।

समयमै आगो नियन्त्रण गर्न नसक्दा ठूलो जनधनको क्षति हुने गरेको छ । सोमबार मात्र काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा इन्भटर सर्ट हुँदा आगलागी भयो । गत मङ्सिर १ गते मुगुको गमगढीमा आगलागी हुँदा ३५ करोडभन्दा बढीको क्षति हुनुका साथै ८० घरपरिवार विस्थापित भए । पुस २ गते लुम्बिनीमा आगलागी हुँदा एक दर्जन पसल जलेर नष्ट भए । जसबाट ७० लाख बराबरको क्षतिभयो । केही दिन अघि काठमाडौंको सोह्रखुट्टेको एक गार्मेन्टमा आगलागी हुँदा ठूलो क्षति भयो ।

जाडोयाम सुरु भएपछि भएका यी आगलागीका प्रतिनिधि घटना हुन् । जाडोबाट जोगिन मानिसले न्यानोका लागि आगो बाल्ने तर त्यसलाई उचित व्यवस्थापन नगरी छोड्दा आगलागी बढ्नसक्ने जानकारको भनाइ छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन प्रतिकार्य सञ्चालन केन्द्रका प्रमुख खुमाकान्त आचार्यले आगलागीका घटनामा मानिसको लापरबाही मुख्य कारण रहेको बताउनुहुन्छ ।

नेपालमा आगलागीमा मुख्य कारणमध्ये प्रविधिगत आगलागी बढ्दै गएको देखिन्छ । ग्यास लिक, विद्युत् सर्ट, सिलिण्डर पड्कने, हिटर, आइरन तथा अन्य विद्युतीय उपकरण, खाना पकाउने र पानी तताउने विद्युतीय उपकरणका कारण आगलागी बढेको देखिएको छ ।

परम्परागत आगलागीमा सलाई, लाइटरको दुरुपयोग, चुरोटका ठुटा जथाभावी फालेर, तराई क्षेत्रमा खाना पकाइसकेपछि आगो नियन्त्रण नगर्दा, वन, जङ्गल कृषि उपज तथा खरको छाना भएका घरमा आगलागी हुने गरेको देखिन्छ । पछिल्लो समय अहिले पेट्रोल, डिजेल र केमिकलजन्य आगलागीको घटना पनि हुन थालेका छन् ।

५८८ स्थानीय तहमा छैनन् दमकल
आगलागी नियन्त्रणका लागि दमकल सेवाको महत्वपूर्ण भूमिका हुन्छ । प्रभावकारी सेवाका लागि चालक, तालिमप्राप्त अग्नि नियन्त्रक र समयमै पानी भर्ने व्यवस्था हुनुपर्छ । तर, देशका ७५३ स्थानीय तहमध्ये ५८८ वटा स्थानीय तहमा दमकल नै छैनन् । आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणका क्रममा प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार अहिलेसम्म १९२ वटा स्थानीय तहमा मात्र दमकल उपलब्ध छन् ।

‘दमकल मात्र आगलागी नियन्त्रणको समाधान होइन’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले दमकल हुँदैमा मात्र आगलागी भइहाले नियन्त्रण गर्न सकिन्छ भन्ने सोच्न नहुने बताउनुभएको छ । पहाड तथा हिमालका स्थानमा दमकल पुर्याउन नै समस्या हुने हुँदा स्थानीय तहमा दमकल हुँदैमा आगलागी नियन्त्रणमा लिन नसकिने उहाँको भनाइ छ ।

दमकल भन्दा पहाडी क्षेत्रमा घरछेउछाउमा पोखरी बनाएर पानीको जोहो गर्न सके आगो निभाउन सहज हुने उहाँले बताउनुभएको छ । ‘देशका पहाडी र हिमाली क्षेका अधिकांश स्थानमा दमकल नै जाँदैनन् यस्ता ठाउँमा पानीको जोहो गर्नको लागि घरवरिपरि पोखरी निर्माण गर्नुपर्छ । जसका कारण आगलागी भैहाले नियन्त्रणमा लिन सजिलो हुन्छ,’ उहाँले भन्नुभयो ।

सबैभन्दा पहिले घरभित्रको आगलागी नियन्त्रण, दोस्रो चरणमा घरमा रहेको ग्यासको सिलिण्डर बन्द गर्ने र त्यसपछि मात्र दमकलतर्फ सोच्नुपर्ने भएकाले दमकललाई प्राथमिकतामा राख्न नहुने उहाँले बताउनुभयो । ‘पहिले घरभित्रको आगोलाई ख्याल गर्नुपर्छ दोस्रोमा घरभित्रको सिलिण्डरलाई बन्द गर्ने र त्यसपछि मात्र दमकलको खोजी हुन्छ। हामीले दमकलसँगै अन्य कुरामा पनि ख्याल गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

पहाडी क्षेत्रमा दमकल पुग्न समय लाग्ने हुँदा आगोले ठूलो नोक्सानी गर्ने अनुभव उहाँको छ । ‘गतवर्ष ताप्लेजुङ्को मङ्गलसेन बजारमा लागेको आगो नियन्त्रणका लागि दमकललाई बोलाइयो । तर, दमकल आउन ढिला भयो । आगलागी भएको ठाउँभन्दा १० मिटर तल नदी बगिरहेको थियो । तर, त्यो नदीको पानी केही काम लागेन’, उहाँले भन्नुभयो, ‘यसकारण आगलागी भइहालेमा पानी अभाव हुने ठाउँहरुमा पानीको जोहो गरेर राख्नुपर्ने महत्वपूर्ण कुरा हो ।’ पानी नभएको अवस्थामा बालुवा र माटो प्रयोग गरेर आगो निभाउन सकिने उहाँले बताउनुभयो ।

चार वर्षमा २५७ को मृत्यु, १२६८ घाइते, १० अर्ब क्षति

पछिल्ले चार वर्षमा आगलागीका कारण २५७ जनाको मृत्यु भएको छ भने १२ सय ६८ जना घाइते भएका छन् । आगलागीकै कारण यो अवधिमा १० अर्ब बढी क्षति भएको छ । आगलागीबाट आर्थिक वर्ष २०७४÷७५ देखि ०७७÷७८ सम्ममा २५७ जनाको मृत्यु भएको छ भने एक हजार २६८ जना घाइते हुनुभएको प्रहरी तथ्याङ्क छ । सोही अवधिमा १० अर्ब ७८ करोड ८३ लाख ५६ हजार ९५३ बराबरको क्षति भएको छ ।

आगालगीका कारण आर्थिक वर्ष २०७४÷७५ मा ६७ को मृत्यु, २६५ घाइते, एक अर्ब ७१ करोड १७ लाख ५४ हजार ७८२ बराबरको क्षति भएको थियो । आर्थिक वर्ष ०७५÷७६ मा ७२ जनाको मृत्यु भएको छ भने ३१२ घाइते भएका छन् । सोही अवधिमा दुई अर्ब ७८ करोड ८९ लाख दुई हजार २५५ बराबरको क्षति भएको छ। आर्थिक वर्ष ०७६÷७७ मा ३७ को मृत्यु हुँदा ३०९ घाइते हुनुभएको छ । दुई अर्ब २१ करोड ५६ लाख ५५ हजार ३०० बराबरको क्षति भएको छ ।

आर्थिक वर्ष ०७७÷७८ मा ८१ को मृत्यु हुँदा ३८२ घाइते हुनुभएको छ । चार अर्ब सात करोड २० लाख ४४ हजार ६१६ बराबरको क्षति भएको थियो ।
यस्तै चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा पाँच जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन् । जसबाट १६ करोड नौ लाख ९६ हजार ७८२ बराबरको क्षति भइसकेको प्रहरीको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?