logo
२०८० चैत्र १५ बिहीवार



राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाइ

पढ्नै पर्ने |
राष्ट्रिय |


राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाइ


काठमाडौं, पुस २० गते । सरकारले रिक्त रहेका २० वटा देशका लागि राजदूत नियुक्तिको प्रक्रिया छिट्टै अगाडि बढ्ने जनाएको छ । पछिल्लो समय परराष्ट्र मन्त्रालयले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको प्रक्रिया भने अगाडि बढेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार २० वटै देशको राजदूत छिट्टै नियुक्ति गर्ने मन्त्रालयको तयारी छ । उहाँका अनुसार परराष्ट्र मन्त्रालय र राजनीतिक गरी दुवैतर्फबाट नियुक्ति गर्ने नियमित परम्परा रहेकोमा मन्त्रालयको तर्फबाट सबै तयारी पूरा छ । राजनीतिक दलहरुबाट निर्र्णय हुनेबित्तिकै सबै रिक्त रहेका राजदूतको पदपूर्तीको प्रक्रिया अघि बढ्ने उहाँ बताउनुहुन्छ ।

अहिलेसम्म राजदूत पद रिक्त भइरहँदा पर्ने असरबारे उहाँ भन्नुहुन्छ, ‘राजदूत नियुक्ति पनि मन्त्रालयको नियमित काममध्येकै हो । राजदूतहरुको पद खाली भइरहँदा मिसनका कार्यबाहकबाट अन्य देशमा प्रतिनिधित्व हुने काम भइरहेको छ । यसो हुदा अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यक्रमहरुमा अरुले किन प्राथमिकता नदिएको भन्ने भने हुनसक्छ । राजदूत हुँदा जति मोबिलिटी हुन्छ, इंगेजमेन्ट र को–अर्डिनेसन को विषय छ यसमा थोरै असर त पर्छ नि ।’, लम्साल बताउनुहुन्छ ।

अष्ट्रेलिया, अष्ट्रिया, ब्राजिल, बङ्गलादेश, बहराइन, चीन, डेनमार्क, इजिप्ट, इजरायल, जापान, मलेसिया, म्यानमार, ओमान, कतार, रुस, श्रीलङ्का, दक्षिण अफ्रिका, साउदी अरेबिया, दक्षिण कोरिया र स्पेन गरी २० देशको राजदूत नियुक्ति अझै हुन नसकेको हो ।

अहिले बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, क्यानडाका लागि भृगु ढुङ्गाना, फ्रान्सका लागि दीपक अधिकारी, जर्मनीका लागि रामकाजी खड्का, कुवेतका लागि दुर्गा भण्डारी, पाकिस्तानका लागि तापस अधिकारी, स्वीट्जरल्याण्डका लागि मणि भट्टराई, थाइल्याण्डका लागि गणेश ढकाल, युनाइटेड अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल र परमानेन्ट मिसन अफ नेपाल टु द यूएनका लागि अमृतबहादुर राई हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?