logo
२०८१ मंसिर ९ आईतवार



माघे सङ्क्रान्तिमा लाग्ने माई(कन्काई)मेला नगर्ने निर्णय

पढ्नै पर्ने |
समाज |


माघे सङ्क्रान्तिमा लाग्ने माई(कन्काई)मेला नगर्ने निर्णय
फाइल फाेटाे


विष्णुप्रसाद पोखरेल
दमक, पुस २७ गते । कोरोना सङ्क्रमणदर बढ्न थालेपछि र गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्नका लागि सार्वजनिक अपिल गरेपछि प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा लाग्ने माई(कन्काई)मेला नगर्ने निर्णय भएको छ । शिवसताक्षी नगरपालिका र कन्काई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी वर्षेनी मेला लाग्दै आएको थियो ।

दुबै नगरपालिकाले मेलाका लागि ठेक्का लगाएर सम्झौताको चरणमा पुगेको अवस्थामा सोमबार बसेको दुबै नगरका जनप्रतिनिधिहरुको बैठकले माईमेला रोक्ने निर्णय गरेको शिवसताक्षी नगरपालिकाले सार्वजनिक सूचना गरेर जानकारी दिएको छ । कनकाई नदीको पूर्वपट्टी कनकाई नगरपालिका र पश्चिम पट्टी शिवसताक्षी नगरपालिकाले मेलाको व्यवस्थापन गर्दै आएको थियो ।

कोरोनाभन्दा अघि सहज अवस्थामा वर्षेनी माईमेलामा तीन लाखभन्दा बढी भक्तजन तथा दर्शकहरु आउने गरेका थिए । माई मेलामा नेपालका विभिन्न ठाउँका साथै भारतबाट समेत हजाराैं भक्तजनहरु आउने गरेको बताइन्छ । कन्काई अर्थात् माई इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ । यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट बगेकोछ ।

यसैबीच, झापामा सोमबार एकैदिन ३४ जनामा कोरोना संक्रमण भेटिएपछि स्थानीय तह तथा प्रशासनले समेत कोरोना सङ्क्रमण रोक्नका लागि भिडभाड हुन नदिनका लागि यस्ता किसिमका मेला तथा भेला रोक्नलाई कसरत शुरु गरेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार हाल जिल्लामा ७९ जना सक्रिय सङ्क्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?