यमबहादुर दुरा
‘दुनियाँका उत्तम र सबैभन्दा सुन्दर वस्तुलाई देख्न वा छुन सकिँदैन । त्यस्ता वस्तुलाई त हृदयले अनुभूत गर्न सक्नुपर्छ ।’ चर्चित अमेरिकी लेखिका तथा अधिकारकर्मी हेलेन केलरको यो अभिव्यक्ति ज्यादै मननीय छ । उनको यस अभिव्यक्तिबाट मानवीय अनुभूतिको केन्द्रबिन्दु हृदय नै हो भन्ने सन्देश मिल्छ ।
हुन पनि दया, माया, प्रेम, करुणा वा प्रणयजस्ता मानवीय अनुभूतिहरूकोे नाता हृदयसँग रहन्छ भन्ने दरिलो मान्यता रहिआएको छ । यद्यपि वैज्ञानिक खोज–अनुसन्धानले यसलाई पुष्टि गर्दैन । यति हुँदाहुँदै पनि तमाम मानवीय भावनाको नाता हृदयसँग हुन्छ भन्ने अटल मान्यता प्राचीनकालदेखि कायमै छ ।
अझ एक मानवको अर्को मानवसँगको भावनात्मक सम्बन्धलाई गुल्जार बनाउने एउटा अदृश्य तर बलवान् शक्तिका रूपमा रहेको प्रणयभावको सम्बन्ध सीधै हृदयसँग हुन्छ भन्ने मान्यता सर्वव्यापक छ । गीत–सङ्गीतदेखि कथासम्मका तमाम साहित्यिक अभिव्यक्तिमा प्रणयभाव र हृदयको सम्बन्ध दर्शाउने अनेकन अभिव्यक्ति छताछुल्ल भेटिन्छन् ।
हृदयलाई प्रणयको केन्द्रबिन्दु मान्ने गरिएकाले अचेल टेक्स्ट मेसेज, च्याट इमोजी, कपडा, पुस्तक, गाडी, केक आदिमा पानको पातको आकारयुक्त हृदयको ‘आइकन’ बनाइन्छ, जसले कसैप्रति वा कुनै वस्तुप्रति प्रतीकात्मक रूपमा प्रणयभाव वा अनुराग प्रदर्शन गर्छ ।
अघि नै भनियो हृदयलाई प्रणयको केन्द्रबिन्दु वा प्रणय–प्रतीक मान्ने चलन छ । यसलाई बुझाउन बोलीचालीको भाषादेखि वाङ्मयका सबै विधामा अनेकन विम्ब वा उपमा प्रयोग हुँदै आएका छन् । जस्तै ः हृदयको राजा, हृदयकी रानी, मुटुको टुक्रा, हृदयको पुकार, हृदयको नाता आदि ।
अब जिज्ञासा उठ्छ प्रणय–सम्बन्धको नाता हृदयसँग हुन्छ भनेर मानव जातिले कहिलेदेखि विश्वास गर्न थाले ? यसको उत्तर सहज छैन किनभने मानव जातिको उत्पत्ति र विकासको लामो विकासक्रममा कुन समय–बिन्दुदेखि प्रणय र हृदयबीच सम्बन्ध रहन्छ भनेर मानव जातिले विश्वास गर्न थाले भन्नेबारे यथार्थ समय रेखा कोर्नु कुनै सजिलो काम होइन ।
अमेरिकी इतिहासकार प्राध्यापक मेरिलिन यालमले मानिसको हृदय कसरी प्रेमसँग जोडिन पुग्यो भन्नेबारे आडियाज् डट टेड वेबसाइटमा एउटा विचारोत्तेजक लेख लेखिकी छन् । यो मूलतः त्यही लेखमा उपलब्ध जानकारीहरूमा आधारित छ ।
प्रणय र हृदयको सम्बन्धलाई खोतल्दै जाने क्रममा हालसम्म भेटिएका प्रमाणमा प्राचीन ग्रीस तथा रोमसम्म पुग्न सकिन्छ । पश्चिमी मिथकमा प्राचीन रोममा प्रेमकी देवीका रूपमा परिचित ‘भेनस’ ले आगो लागेको हृदयलाई आफ्नो हातमा झुन्ड्याएको प्रसङ्ग भेटिन्छ ।
‘भेनस’ ले आफ्ना छोरा ‘क्युपिड’ को सहयोगमा हृदयमा आगो लगाएको मिथक छ । मिथक जेसुकै भए पनि मानवीय भावना र हृदयको सम्बन्ध रहन्छ भन्ने मान्यता कुनै नवीनतम विकासक्रम नभई हजाराैँ वर्ष पुरानो विश्वास प्रणाली (Belief system) हो भन्ने तथ्य स्थापित भएको छ ।
प्राचीन युनानी कवयित्री तथा गीतकार सफो (ईपू ६३०–५७०) ले आफ्ना कृतिमा हृदयलाई प्रेमको प्रतीकका रूपमा चित्रण गरेकी छन् । सफो आफ्नो समयको अत्यन्त लोकप्रिय साहित्यिक प्रतिभा ठहरिएकी थिइन् । उनी प्रणयप्रधान कविताका लागि चर्चित छिन् ।
समयले लामो फेरो मारिसकेकाले सफोका धेरैजसो कविता विस्मृतिको गर्भमा भइसकेका छन् । केही कविता बचेका छन् । उनका कवितामा प्रेम र हृदयको नाता–सम्बन्ध झल्कन्छन् । यहाँनेर प्रेम र हृदयबीचको साइनो दर्साउने सफोका कविताको एउटा हरफ यस्तो छ ः
प्रेमले मेरो हृदयमा त्यसरी नै हल्लाइरहेको छ,
जसरी पहाडी हावाले ‘ओक’ को रुखलाई हल्लाउँछ
ग्रीसका दार्शनिकले मानवीय अनुभूति र हृदयबीच सम्बन्ध रहन्छ भन्ने विश्वास राखेको भेटिन्छ । प्लेटो, अरिस्टोटललगायत ग्रीसका दार्शनिकहरूले माया, प्रेम, डर, रिस, पीडा मानवीय भावनाहरूसँग हृदयको धेरथोर सम्बन्ध हुन्छ भन्ने मान्यता राख्ने गरेको पाइन्छ ।
प्राचीन रोमवासीहरू देब्रे हातको साहिँली औँलामा रहेको नसाको हृदयसँग सीधा सम्पर्क रहन्छ भन्ने विश्वास राख्थे । यद्यपि विज्ञानले यस मान्यतालाई अनुमोदन गर्दैन । तापनि हामीकहाँ विवाहमा दुलाहाले दुलहीलाई देब्रे हातको साहिँली औँलामा औँठी लगाइदिने चलनले व्यापकता पाइसकेको छ, जुन प्राचीन रोमवासीको विश्वास प्रणालीमा आधारित चलन हो ।
मानिसले कहिलेदेखि चिजवस्तुमा हृदयलाई चित्र अङ्कित गर्न थाले ?, यसको कुनै निश्चित समयरेखा भेटिँदैन । प्राचीन रोमको साइरिन नामक सहरमा हृदय अङ्कित एउटा सिक्का भेटिएको छ, जो ईपू ५१०–४९० को अवधिमा बनेको मानिएको छ । यसलाई अहिलेसम्मकै मानव हृदयको चित्र अङ्कित प्राचीन वस्तु मानिएको छ ।
रोम तथा ग्रीसबाट विभिन्न वस्तुमा हृदयलाई अङ्कित गर्ने चलन सुरु भएको देखिन्छ । यो चलन विस्तार हुँदै जाने क्रममा बाह्रौँ तथा तेह्रौँ शताब्दीमा युरोपका कुलीन घरानामा हृदयको ‘आइकन’ ले स्थान पाएका थिए ।
पन्ध्रौँ शताब्दीसम्म युरोपभरि हृदयको ‘आइकन’ प्रयोग गर्ने चलन पैmलिएको पाइन्छ । त्यसबेलासम्म तास, काइँयो, तरबारको बिँड, काष्ठकला, चिहान आदिमा हृदयको ‘आइकन’ प्रयोग हुन थालिसकेको थियो ।
हालसम्म भेटिएको प्रमाणअनुसार हस्तलिखित पुस्तकाकार कृतिमा सन् १३४४ मा हृदयको आकृति अङ्कित भएको पाइन्छ । फ्रेञ्च भाषामा लेखिएको ‘द रोमान्स अब् अलेक्जेन्डर’ नामक पुस्तकमा हृदयको ‘आइकन’ प्रयोग भएकोे थियो, जुन अतिशय सुन्दर मध्ययुगीन चित्रमय कृति मानिन्छ ।
सन् १५०० तिर एक जना फ्रान्सेली नागरिक पियर सलाले अर्कैसँग विवाह बन्धनमा बाँधिएकी आफ्नी प्रेमिकाको सम्झनामा प्रणय–कविता रचेर ‘लभ इम्ब्लेम्स् एन्ड मोटोज्’ नामक कविता–सङ्ग्रह निकाले । १२ वटा कविता रहेको त्यस सङ्ग्रहमा हृदयको ‘आइकन’ प्रयोग भएको पश्चिमा लेखकहरूले चर्चा गरेका छन् ।
पश्चिमी गोलाद्र्धमा झैँ पूर्वीय सभ्यतामा पनि हृदयलाई प्रेमको प्रतीक मान्ने र त्यसलाई रसिक तथा साहित्यिक अभिव्यक्तिमा अनेकन किसिमले अभिव्यक्त गर्ने चलन छ, जुन सबैसमक्ष जाहेर नै छ । हाम्रो लोकजीवनमा एउटा गीत प्रचलित छ :
माछी काँ छ, खोलीको लेउमा छ
माया काँ छ, कलेजी छेउमा छ
यस गीतले माया मुटुमा बस्छ नभनी कजेली छेउमा बस्छ भन्ने कथन पेस गरेको छ । यहाँ ‘कलेजी छेउ’ भन्नाले मुटुलाई सङ्केत गरेको हो भन्ने अनुमान गर्न सकिन्छ तर किन सीधै भनिएन माया मुटुमा बस्छ भनेर ? यो प्रश्नको उत्तर खोज्न हाम्रो समाजको मनोसामाजिक पक्षको एउटा बेग्लै विश्लेषण गर्नुपर्ने देखिन्छ ।
हृदयलाई प्रेमको विम्ब मान्ने परिपाटी पूर्वीय सभ्यताको आफ्नै मौलिक चलन हो वा पश्चिमी सभ्यताको अनुकरण हो ? गहन खोज–अनुसन्धानबिना यसबारे यसै भन्न सकिने अवस्था छैन । हालसम्मको खोज–अनुसन्धानले प्रेम र हृदयको नाता–सम्बन्ध जोड्ने हेर्ने परिपाटी पश्चिमी गोलाद्र्धबाटै सुरु भएको लख काट्न सकिन्छ ।
युवामञ्च माघ २०७८