विसं १९९६ को मीनपचासको बिदा सकिने बेला टङ्कप्रसाद आचार्यले पत्रमार्फत गरेको आग्रहअनुसार गोविन्दप्रसाद उपाध्याय जनकपुर पुगे । टङ्कप्रसादले कोठामा चुकुल लगाउँदै बाकसबाट रोनियो साइक्लोस्टाइल मेसिन झिके । यो मेसिन महेन्द्रविक्रम शाहको सहयोगबाट भारतको कलकत्तामा किनिएको थियो । रक्सौलबाट अमलेखगन्जसम्म रेल चल्थ्यो । अमलेखगन्जबाट लरीमा चढेर भीमफेदीसम्म आउन समस्या भएन । दुवैका एक–एकवटा बाकस र गुन्टा थिए । मेसिनका पुर्जालाई अलग अलग पारेर तिनै बाकस र गुन्टामा राखिएका थिए (नेपालको प्रजातान्त्रिक इतिहास–सन्दर्भ) । ढिक्कै मेसिनलाई काठमाडौँ प्रवेश गराउनु सम्भव नै थिएन । राम्ररी थाहा थियो– पक्राउ परियो भने जिन्दगी खलास !
भीमफेदी आइपुग्दा सानो सुरुङ पार गर्नुपथ्र्याे । लरीको अन्तिम स्टेसन भीमफेदी हुन्थ्यो । भरियाका समूह फेला पर्थे । भरियाले मानिसलाई पनि बोक्थे । ठाडा उकाला आएपछि गह्रौँ भारी बोकेका भरिया सामूहिक रूपमा ‘नारायण’ भनेर कराउँथे (त्रिभुवनकी एरिका) । चिसापानी गढीमा भन्सार र चेकपोस्ट थियो । सामान भन्सारका कर्मचारीले जाँचेपछि बल्ल काठमाडौँ प्रस्थान गर्न अनुमति मिल्थ्यो । गढी आइपुगेपछि त्रास सुरु भयो, हिम्मत गुमिसकेको थिएन ।
टङ्कप्रसाद र गोविन्दप्रसादका छेउमा बडेमानका ज्यान भएका सुबेदार आइपुगे । दुवै चुरोटको सर्काे तान्दै थिए । त्यो बेला ‘क्राइभेन–ए’ चुरोटको ख्याति थियो । निजलाई चुरोट ‘अफर’ गरियो । सुबेदारले बडो शानका साथ सर्काे ताने । पद्मशमशेरको दरबार विशालनगर र टङ्कप्रसादको घर हाँडीगाउँमा । छिमेकी भएकाले केटाकेटी हुँदा टङ्कप्रसाद पद्मशमशेरका छोरासँग खेल्न दरबार पुग्थे । दरबारका बारेमा धेरै कुरा थाहा भएकाले सुबेदारसँग गफ गर्ने मेलो मिल्यो । गफैगफमा केही थान चुरोट सुबेदारले सके । बिहान ९ बजेपछि भन्सारका कर्मचारी खाना खान हिँडेको मौकामा सुबेदारलाई आफ्ना बाकस र गुण्टा जाँच्न अनुरोध गरे दुवैले । ‘बाजेहरूले के ल्याएको होला र ?’ भन्दै माथितिर सामान्य हेरेर छाडिदिए । “सुबेदार साहेब, पुराना लुगालत्तामात्र छन्” उनीहरूले जवाफ फर्काए (नेपालको प्रजातान्त्रिक इतिहास–सन्दर्भ) ।
खासै जाँच नभएपछि त्रासले सास बन्द हुन थालेका दुवै जनाले राहतको लामो सास लिन पाए । भाग्यले साथ दिएकै मान्नुपर्छ । सुबेदारको हात बाकसको तलसम्म पुगेको भए बिताउन सक्थे । घर प्रवेश नगरुञ्जेल डर त हुने नै भयो । भोलिपल्ट भरियाहरूका साथ चन्द्रागिरि आइपुगे । त्यो बेला चन्द्रागिरिबाट उपत्यकाभित्र तीनवटा दृश्य प्रस्ट देखिन्थे– मन्दिरका गजुर, दरबार र धरहरा । सर्वसाधारणका घर ठम्याउने कुरा सम्भव थिएन । चन्द्रागिरिबाट ओरालो लागेपछि थानकोटसम्म हिँड्नै पथ्र्याे । दरबारिया भए थानकोटसम्म गाडी लिन जान्थ्यो । सहर आइसकेपछि आआफ्ना घरतर्फ लागे ।
केही समयपछि टङ्कप्रसादसँग भएका लिथो मेसिनका पुर्जा गोविन्दप्रसादको घर डिल्लीबजारमा पुग्यो । सबै पुर्जालाई जोडेर टङ्कप्रसादले सग्लो मेसिन तयार गरे । छ महिनाजति मेसिन त्यत्तिकै थन्कियो । बेलाबखत टङ्कप्रसादले बाकसबाट मेसिन झिकेर चलाउँथे । मेसिन त ठिक छ है ।
मेसिन भिœयाउनुको उद्देश्य थियो– पर्चा छाप्न । पर्चा छर्न सम्भव थिएन । पर्चा छर्न सहज हुने दिन छनोट गरियो– १९९७ साल असार ९ गते । जावलाखेलमा रातोमच्छिन्द्रनाथको भोटो देखाइँदै थियो त्यो दिन । जुवा पनि फुकाइन्थ्यो । जुवा खेल्नकै लागि कफ्र्यु पनि लगाइँदैन थियो । तिनताक हरेक साँझ नौ बजेपछि र बिहान चार बजेसम्म कफ्र्यु लगाइन्थ्यो । कफ्र्युअघि तोप पड्काएर जनाउँ दिने चलन हुन्थ्यो (उहिले बाजेका पालामा) ।
पाँच किसिमका पर्चा तयार भयो । टङ्कप्रसादको सिफलका घरमा । टङ्कप्रसाद बढी बोलक्कड प्रकृतिका । कुरा चुहिएला भन्ने डरले टङ्कप्रसादलाई नेपाल प्रजापरिषद्ले निर्णय गरेर काशी पठायो । पर्चा छर्न पाटनका लागि पुस्करनाथ उप्रेती र केशवराज कार्कीले, चावहिलदेखि बानेश्वर हुँदै भक्तपुरसम्मका लागि मुकुन्दनाथ रिमालले, काठमाडौँ सहरभित्रका लागि धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठले, डिल्लीबजारदेखि महाराजगन्जसम्मका लागि रामहरि शर्मा, बलबहादुर पाण्डे र गोविन्दप्रसादले जिम्मा पाए । क्रान्तिकारी केही विद्यार्थीले पनि सहरभित्रको जिम्मा लिए । कफ्र्यु नभएकाले सजिलो– रातभर पर्चा छर्ने काम भयो । महावीर इन्स्टिच्युटका विद्यार्थी गिरिराजविहारी र उनका भाइ हरिवंशविहारी देवकोटाले सिंहदरबारभित्र पर्चा छर्न गए । काटिएको बाँसको ठुटोले हरिवंशविहारी घाइते भए । त्यो घटना थाहा पाएपछि उनका पिताले गिरिराजविहारीलाई निकै पिटे र असह्य पीडाले १३औँ दिनमा उनको निधन भयो । भोटाहिटीका कृष्णलाल श्रेष्ठले कसाइटोल, कमलाक्षीमा पर्चा छरेको थाहा पाएपछि उनका बाबुले पनि कुटे । कुटाइका कारण कृष्णलालको पनि साता दिनपछि निधन भयो (नेपालको जनक्रान्ति) । उपत्यकामा सन्नाटा छायो । राणा शासकको मथिङ्गल घुम्न थाल्यो । गुप्तचर छ्याप्छ्याप्ती परिचालन गरिए । आउजाउमा कडाइ गरियो । १९९७ साल साउन ११ गतेको गोरखापत्रमा नयाँ इस्तिहार प्रकाशित गरियो । पर्चा छर्ने प्रजा परिषद्कालाई पक्राउ गराउनेलाई पाँच हजार रुपियाँ इनाम बक्स मिल्ने इस्तिहार थियो त्यो । निकै प्रयास भयो, तर पर्चा छर्नेको अत्तोपत्तो चल्न सकेन ।
कात्तिक २ गते । सबैभन्दा पहिले धर्मभक्त पक्राउ परे । उनका डायरीका आधारमा बाँकी पनि धमाधम पक्राउ पर्न थाले । सडक–गल्लीमा भागाभाग मच्चियो । केही दिनसम्म जारी रह्यो । कात्तिक ९ गते गोरखापत्रले ‘राजद्रोही दल पकडिए’ शीर्षकमा सामाचार छाप्यो, “हालसालै हाम्रा यहाँ राजद्रोहात्मक पर्चा फैलाउने राजद्रोही दल र सबुत प्रमाणसमेत फेला पारी पक्राउ भएकोले त्यसबारेमा उचित कारबाही हुन लागेको छ । अब इदमित्थ हुन आएको व्यहोरापछि प्रकाशित हुनेछ ।” यस घटनामा टङ्कप्रसादको पनि संलग्नता रहेको ठहर गरियो । काशीमा रहेका उनलाई पिताजी बिरामी भएको झुठो खबर पठाइयो । जलेश्वरमा गिरफ्तार गरी नेल–हतकडीसहित पैदल हिँडाएर काठमाडौँ ल्याइयो (नेपालको प्रजातान्त्रिक इतिहास–सन्दर्भ) । राजद्रोहीको मुद्दा लागेका कैदी प्रायः सबैलाई सिंहदरबार परिसरभित्र थुनियो । सिंहदरबार परिसरमा रहेको स्कुलघर र गारतमा थुनिए (नेपालको जनक्रान्ति) । रेडियो नेपालको पुरानो भवनमा त्यो बेला राणा शासकका सन्तानलाई पढाइन्थ्यो र त्यसलाई स्कुलघर भनिन्थ्यो । पछि त्यो भवनलाई थुनुवा राख्न प्रयोगमा ल्याउन थालिएको थियो । एउटा कोठामा दुई जनाका दरले थुनिए (उहिले बाजेका पालामा) । राजबन्दीले निर्घात पिटाइ खाए ।
मुद्दाउपर छानबिन थालिएको थियो । राणा शासक जे चाहन्थे त्यही फैसला हुन्थ्यो । पुस २५ गते थुनामा रहेका वा तारेखमा रहेका करिब दुई सय जनामध्ये अधिकांशले सफाइ पाए भने केहीले जरिवाना तिर्नुप¥यो । राजबन्दी धेरैले कुटाइ खाने डरले यो कार्यमा राजा त्रिभुवनको पनि संलग्नता रहेको पोल खोले ।
माघ ७ गते बिहान १० बजे । सजाय तोकिन बाँकी रहेका राजबन्दीलाई सिंहदरबारको दक्षिण–पश्चिमतर्फको फुटबल मैदानमा उभ्याइयो । त्यो मैदानमा हरेक बिहान जुद्धशमशेरले घोडा दौडाउँथे । त्यो दिन विशेष अदालतको इजलास बस्दै थियो । तीनवटा सामियाना गाडिएका थिए । कारबाट उत्रिएर जुद्धशमशेर ‘कीराले हीरा बिगार्न सक्दैन’ भन्दै कड्किए, “बिउ रोप्ने यही शुक्रराज हो, यसलाई मेरो घोडाले कुल्चाइ कुल्चाइ मार्छु, सियोले घोची घोची मार्छु ।” कारिन्दाले अपराधको व्यहोरा पढेर सुनाए । सो सकिनासाथ राजा त्रिभुवनसँग जुद्धशमशेरले ‘‘यी राजद्रोहीलाई के कस्तो सजाय दिनुपर्ला ?’’ भनेर सोधे । त्रिभुवनले ‘‘पनिस्मेन्ट भनेको मडरेट र मर्डनाइज्ड हुनुपर्छ, सियोले घोचेर र घोडाले कुल्च्याएर मार्ने खालको हुनु हुँदैन’’ भने (उहिले बाजेका पालामा) । धर्माधिकारीहरूले शास्त्रका कुरा अगाडि सारे । मृत्युदण्ड दिनुपर्ने तर्क प्रस्तुत गरे । इजलासका नाममा भएको सभाप्रति चित्त नबुझेपछि तत्कालीन अधिराजकुमार बसुन्धरा उत्तेजित भएर उठे । त्यो देखेर राजा त्रिभुवन आक्रोशित हुँदै दरबारतर्फ प्रस्थान गरे । जुद्धशमशेर पनि हिँडे । डेढ बजेतिर सबैलाई फर्काएर बन्दीगृहमा लगियो ।
साँझ ४ बजे । सबै राजबन्दीलाई सिंहदरबारको बरफबागमा लामबद्ध गराइयो । फैसला काजी रत्नमानले सुनाउने जिम्मेवारी पाएका थिए । आँट देखाउन सकेनन् । भित्रबाट ल्याएको कागज सुब्बा महेन्द्रबहादुर महतलाई थमाइदिए । उनले नाम सम्बोधन गर्दै जान्थे । राजबन्दी एक कदम अगाडि बढेर आफ्नो सजाय सुन्थे र पुनः पछाडि पाइला सार्थे । गङ्गालाललाई सजाय सुनाउँदा जुद्धशमशेरले ‘यस्तो कलिलो केटोले माफी मागे जन्मकैद र सर्वस्व’ भन्दा गङ्गालालले ‘कसैले बकस दिएको ज्यान लिएर बाँच्न चाहन्नौँ’ भन्ने जवाफ दिएपछि जुद्धशमशेरले ‘त्यसो भए ज्यान सजाय’ भने (दमनराज तुलाधर आत्मकथा) । ज्यान सजाय तोकिएका सबैलाई झुण्ड्याउने भनिएको थियो । पछि दशरथ चन्द र गङ्गालालले झुण्डिदा कायरको मृत्यु हुने हुँदा गोली हान्न आग्रह गरे । उनीहरूको आग्रह सुनियो । गोली हान्न लैजाँदा गङ्गालालले थुनामा रहेका आफ्ना जेठान हरिकृष्ण श्रेष्ठसँग आग्रह गरे, “दाइ, बहिनीको ख्याल राखिदिनू ।”
कसलाई कति सजाय तोकियो भन्ने बारेमा बक्समा हेर्नुहोस् । अन्यमा जीवराज शर्मा, धर्मरत्न यमी, केदारमान श्रेष्ठ र चन्द्रमान मास्केलाई सर्वस्व भई १८ वर्षको कैद सजाय तोकियो । सिद्धिचरण श्रेष्ठ, ध्रुवप्रसाद दुवाडी, गणेशराज श्रेष्ठ, ड्राइभर मरिचमान, ड्राइभर कटकबहादुर नकर्मी र रामदास खत्रीलाई १२ वर्षको कैद सुनाइयो । यीमध्ये सिद्धिचरण र रामदासलाई सर्वस्वसमेत तोकियो । छ वर्षको कैद पाउनेमा वाक्पतिराज जोशी, फणिन्द्रराज हमाल, पूर्णबहादुर श्रेष्ठ एमए र चित्तधर तुलाधर थिए । सर्वस्वसहित पाँच वर्षको कैद पाउने राजलाल कलवार वीरगन्जको थिए । भूपाल श्रेष्ठ, अवन्तीनाथ पाध्या, नूतनराज पाध्या र ज्योतिप्रसाद पाध्यालाई तीन वर्षको कैद ठेकियो । खगेश्वर पाध्याले दुई महिनाको कैद सजाय पाए । रामदलका सिपाही भीमबहादुर जागिर खोसुवामा परे । केशवराज कार्की, चित्रबहादुर खत्री, परीक्षितनरसिंह राणा र कुलदीपदेव पाठक देश निकाला (आफ्नै जिल्लामा नजरबन्द)मा परे । परीक्षितलाई ३६० रुपियाँ भत्ता दिई गोर्खा धपाइयो र उनलाई अखबार हेर्न नपाउने पनि सजाय तोकियो । महेन्द्रविक्रम शाह पाँच सय रुपियाँ तिरेर रिहा हुने भए । अन्य थुप्रैले एक रुपियाँदेखि ५० रुपियाँसम्म जरिवाना तिरे । कैद तोकिएकालाई भद्रगोल जेलभित्रको कालकोठरीमा थुनियो । कालकोठरीमा चोबिसै घण्टा ताल्चा लगाइन्थ्यो । कैदीलाई सिक्री भएका नेल लगाएरै राखिन्थे । सुत्दा पनि फुकालिँदैन थियो ।
सबैभन्दा पहिले माघ १० गते शुक्रराजलाई पचलीमा फाँसी दिइयो । धर्मभक्तलाई माघ १३ गते सिफलमा झुण्ड्याइयो । माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभाभगवतीमा गोली हानेर मारियो । माघ १७ गते टङ्कप्रसाद र रामहरिलाई सिंहदरबार बाहिर जनै चुँडालियो र चारपाटा मुडियो । सुँगुरको पाठा झुण्ड्याइदिने चलन भए पनि त्यस्तो गरिएन । जनतामा झन् क्रान्ति बढ्नसक्छ भन्ने अनुमानकै कारण हुनुपर्छ सहर परिक्रमा पनि गरिएन । भद्रकाली हुँदै सिधँै जेलमा लगेर थुनियो । सुब्बा पूर्णनारायण जागिरे थिए । कमान्डर इनचिफ पद्मशमशेरसँगको सम्बन्धका कारण तत्काल मृत्युदण्ड दिइएको थिएन । वसन्तपञ्चमीका दिन नयाँसडकको प्रवेशद्वारको दक्षिणतर्फ (हाल नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय रहेको) खाल्डो खनेर बाँस गाडिदै थियो । जुद्धशमशेर वसन्त श्रवणका लागि वसन्तपुर (हनुमानढोका) जाँदै थिए । मानिसहरू झुम्मिएको देखेपछि उनले जिज्ञाशा राखे । नरशमशेरले पूर्णनारायणलाई झुण्ड्याउनका लागि बाँस गाड्न लागेको जवाफ दिए । जुद्धशमशेरले ‘ज्यान माफ भयो, १८ वर्षको कैद भयो’ भनेर ठाउँको ठाउँ घोषणा गरिदिए । पूर्णनारायण मृत्युदण्डबाट जोगिए (नेपालमा प्रजातन्त्र र श्री ५ त्रिभुवन) । २०३५ सालमा उनको निधन भयो । पद्मशमशेरले पूर्णनारायणलाई जोगाउन गरेको प्रयासका कारण दिउँसै बाँस गाड्ने र मृत्युदण्ड मिनाहा दिने प्रपञ्च रचिएको भनी इतिहासकारहरूको विश्लेषण छ ।
राजबन्दी रहेका खड्गमान सिंहले ‘शहीदको सम्झना’मा शुक्रराजका बारेमा लेखेको एक अनुच्छेद, “९ गते दिनभर केही खानु भएको थिएन । चार बजेतिर माता–पिता र अरूहरू भेट्न आए । दूध घरबाट ल्याएको रहेछ । रोटी पकाइ खान ठिक्क परेको बखतमा ‘लौ हिँड् कि हिँड्’ भन्न लाग्यो । खानै नदिई लग्यो । आखिर बाहिर पाटीमा बाह्र एक बजेसम्म राख्नु रहेछ । खान दिएर एकाध घण्टापछि लगेको भए पनि हुन्थ्यो तर अमानुषिकताले केको विचार गथ्र्याे ? जेलबाट जाँदा ‘सबै भाइलाई नमस्ते, मर्नु सबैले पर्छ, त यसरी मर्न पाउँदा मेरो नाम अमर भयो’ भन्दै निस्कनु भयो । छब्बीस महिना जेल यातना भोगेर ४८ वर्षको उमेरमा फाँसीको लिफ्ट (बिजुलीको भरेङ)द्वारा अमर लोक सुधार्नु भयो ।”
भोलिपल्ट पिता माधवराज जोशी पचली पुगे । आफ्ना बहादुर पुत्रको शव झुण्डिएको देखेपछि औँला ठड्याउँदै गर्वका साथ चिच्याए– साबास बेटा ! बेटा हो तो ऐसा हो । (अधिकाँश समय भारतमा बसोबास गरेका कारण माधवराज हिन्दीमा नै कुरा गर्थे ।)
नरशमशेरले आत्मवृत्तान्तमा धर्मभक्तलाई मारेपछि महिनौँसम्म खान मन नलागेको र राजा त्रिभुवनको अगाडि पर्न नसकेको उल्लेख गरेका छन् । उनले राजा त्रिभुवन, धर्मभक्त र आफ्नो विशेष सम्बन्ध रहेको भने पनि त्यसलाई स्वीकार्न सकिँदैन किनकी फाँसी दिँदा डोरी चुडिएपछि गालादेखि चिउँडोसम्म छुरीले काटिदिनुका साथै सिपाही लगाएर मरणासन्न हुनेगरी पिटे । मुर्छा अवस्थामा फाँसी लगाएर ज्यान लिइयो (गोरखापत्रका एक सय एक निबन्ध) ।
डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन थिए– मृगेन्द्रशमशेर । १९९७ सालको त्यो पर्वपछि गोरखापत्रका सम्पादक प्रेमराज शर्मालाई मृगेन्द्रशमशेरले ठाडो आदेश दिए, “अब उप्रान्त मानिसहरूमा जोश उठाउने खालका कविता निबन्ध नछाप्नू ।” यस पर्वका कारण जुद्धशमशेरको मनस्थिति बिग्रन थाल्यो । प्रायश्चित गर्ने उपाय खोज्न थाले । हजार गाई दान गरे । कोटी यज्ञ लगाए । सुवर्ण तोला दान गर्न चाहे । कौसी तोषाखानाबाट सुन झिकाइयो । यिनको तौल झण्डै ९० केजीको थियो । पशुपतिनाथमा सोही बराबरको सुवर्ण दान गरे । १९९७ सालको पर्वमा राजबन्दीलाई उपस्थित गराइएको त्यो फुटबल चौरमा २००२ साल मङ्सिर १४ गते कर्मचारीदेखि साहुमहाजनसम्मलाई उपस्थित हुन उर्दी जारी गरियो (राणाशासनको वृत्तान्त) । सबैका सामु श्रीपेच झिकी पद्मशमशेरलाई पहिराइदिँदै भने– नेपालमा रामराज्य ल्याएस् (त्यस बखतको नेपाल) । अनि बग्गीमा चढेर रिडी प्रस्थान गरे । त्यसअघि थुनामा रहेका १८ जना राजबन्दीलाई छाडियो । राजर्षी महाराज केही महिनापछि भारतको देहरादुनतर्फ लागे ।
१९९८ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका हिमालयशमशेर जबराले शुक्रराजलाई झुण्ड्याइएको भोलिपल्ट बदली लागेको र मृत्युदण्ड दिइएको हरेक स्थानमा हेर्न गएको स्मरण गर्दै भने, “शुक्रराजको छातीमा देशद्रोह गर्नेलाई यस्तै सजाय हुनेछ भनेर लेखिएको थियो । मेरा पिताजी लक्ष्मणशमशेर (मेजर जनरल)ले शुक्रराजलाई झुण्ड्याइएको देखेपछि ‘आज यिनलाई झुण्ड्याइयो, भोलि यिनको यहीँ सालिक बन्नेछ’ भन्नुभयो । ठिक त्यस्तै भयो ।”
२००७ सालको क्रान्ति सफल भयो । एक दिन नेपाल प्रजापरिषद्को अफिसमा एउटा बेवारिसे साइकल फेला परेको र जसको हो लैजानु भन्ने विज्ञापन गोरखापत्रमा छापियो । गोरखापत्रले प्रजापरिषद्को प्रचार ग¥यो भनेर सम्पादकले खप्की खानुप¥यो (गोरखापत्रका एक सय एक निबन्ध) । २०१० सालबाट हरेक माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने प्रचलन सुरु भयो ।