logo
२०८१ बैशाख ८ शनिवार

  बहसमा एमसीसी  



तीन दिन अघि प्राप्त नौवटा दस्तावेज अध्ययन गर्दै कार्यदल

पढ्नै पर्ने |
राष्ट्रिय |


तीन दिन अघि प्राप्त नौवटा दस्तावेज अध्ययन गर्दै कार्यदल


काठमाडौं, माघ १७ गते । सत्ता गठबन्धनका दलहरुबीच अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पुनः बहस सतहमा आएको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौताका लागि गठबन्धनबीच सहमतिको प्रयास जारी राख्दै आउनुभएको छ ।

गठबन्धनमा सहमति भएको छैन : खनाल


पाँच दलको सत्तागठबन्धनले एमसीसीका विषयमा अध्ययन गर्न गठन गरेको कार्यदलका संयोजक रहनुभएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि यो विषयमा सहमत हुदै भन्नुहुन्छ, – ‘प्रधानमन्त्री एमसीसी पास गर्ने पक्षमा हुनुहुन्छ । तर, यस विषयमा पाँच दलका गठबन्धनमा सहमति भएको छैन ।’
सन् २००७ मा तात्कालीन काँग्रेस सरकारको समयमा एमसीसी सम्झौता भएपनि यस सम्बन्धमा हालसम्म अनेकौं सम्झौता भएको खनाल बताउनुहुन्छ । ‘त्यसपछि पनि हामीले भर्खर अस्तिको दिन मात्रै नौ वटा नयाँ दस्तावेज प्राप्त गरेका छौं । यसबारे अध्ययन नै गर्न पाएका छैनौं । यी सबै कुरा अध्ययन, संश्लेषण एवम् विश्लेषण नगरी एमसीसीबारे टुंगो लाउन सक्दैनौं ।’, उहाँले भन्नुभयो ।
गठबन्धनमा खनाल नेतृत्वको एमसीसी कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य हुनुहुन्छ ।
एमसीसीबारे प्राप्त नयाँ दस्तावेज सात, आठ सय पृष्ठभन्दा बढी रहेका कारण पनि अध्ययनका लागि समय लागिरहेको उहाँको भनाई छ । यससँगै गठबन्धनभित्रका पाँच दलहरुबीचमा पनि एमसीसीबारे अलग–अलग धारणा छन् । एउटा सहमतिमा नपुगी एमसीसी अगाडि बढ्ने अवस्था छैन । राष्ट्रिय सहमतिको समेत कुनै सम्भावना नदेखिएको बताउनुहँुदै उहाँले एमसीसी तत्काल अगाडि बढ्ने सम्भावना नै नरहेको बताउनुभएको छ ।
संसद सुचारु गर्नमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाधक बनिरहेको बताउनुहुँदै उहाँले यी समस्याको समाधान नभई संसद पनि सुचारु गर्न नसकिने भनाई राख्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसीसी संसदबाटै पारित हुनुपर्ने मनस्थितिमा रहदै आउनुभएको छ ।

टेबुल गर्ने,पास गर्ने सहमति भएको छैन : श्रेष्ठ


यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीबारे गठबन्धनका दलहरुबीच छलफल भइरहेको बताउनुभयो । यसबारे दुई वटा दृष्टिकोण रहेको बताउनुहुदै, एमसीसी पारित नभए प्रधानमन्त्रीले गठबन्धन टुट्छ भनेर भन्नुभएको भनेर मिडियामा आएको कुरा सत्य होइन । र एमसीसी टेबल गर्ने, पास गर्ने भन्ने सहमति गठबन्धनमा भएको भन्ने दुवै विषय सत्य नभएको उहाँ बताउनुहुन्छ ।
‘प्रधानमन्त्री र काँग्रेसले यो टेबल गर्नुपर्छ र पारित पनि गर्नुपर्छ भन्नेमा हुनुहुन्छ । तर, गठबन्धनका अरु पार्टी चाही यथास्थितिमा एमसीसी पारित गर्न नसकिनेमा हुनुहुन्छ । एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादवजीहरु पनि एमसीसीबारे विभाजित हुनुहुन्छ ।’, श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भने चुनाव अगावै नै एमसीसी अगाडि बढ्नुपर्ने गठबन्धनमा बताइरहनुभएको भएपनि यथास्थितीमा अघि बढ्न नसकिने उहाँको भनाई छ ।
प्रधानमन्त्री देउवाले एमसीसी लगायत संसद सुचारु गर्ने सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट वान टु वान भेट गर्दै आउनुभएको छ । एमसीसीबारे सत्ता गठबन्धनको स्पष्ट धारणा आएपछि मात्रै पार्टीले आफ्नो धारणा राख्ने एमालेले जनाएको छ ।

सहमतिको प्रयास जारी छ : पौडेल


पाँच दलीय उच्चस्तरीय समन्वय समितिका संयोजक एवम् काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने एमसीसी सम्झौतामा सहमति जुटाउन दलहरुबीच सहमतिको प्रयास जारी रहेको बताउनुभयो । ‘यसबारे अहिले केही भएको छैन । सहमतिको प्रयास जारी छ ।’, पौडेलले भन्नुभएको छ ।

गठबन्धनमा आगामी स्थानीय तहको निर्वाचन जेठभित्र सम्पन्न गर्ने सहमति जुटेको छ । तर, एमसीसी सम्झौतबारे भने सहमति जुट्न सकेको छैन । गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिले भने पहिले नै एमसीसी पारित गर्नुपर्ने पक्षमा निर्णय गरिसकेको छ । तथापि, अन्य दलहरुमा भने एमसीसी सम्बन्धमा मत बाझिदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?