गोविन्द रेग्मी, दृश्यमा मनाेजरत्न शाही/केशब गुरूङ्ग
काठमाडौं, माघ २७ गते । सन् १९२५ को समय नेपालमा राणा शासनको जगजगी थियो । विलासिताका सामान सुरुमा राणाले नै प्रयोग गर्दथे । त्यतिबेला साइकल विलासिताकै सामानमा नपर्ने कुरै भएन । नेपालमा राणाले दरबारमा साइकल भित्र्याएका थिए ।
बेलायतबाट काठमाडौँमा साइकल ल्याईएको थियो । राणा परिवारकै संगतमा रहेका कमलाछीका अष्टनारायण मानन्धरले पनि एक दिन राणाहरुको साइकल चढ्ने मौका पाउनुभयो । अष्टनारायणले राणाको साइकल के चलाउनु भएको थियो । उहाँ भुइँमा पछारिनुभयो । भुइँमा पछारिएकै कारण अष्टनारायणलाई त्यसपछि साइकल चढ्न दिइएन ।
रानीपोखरीदेखि ५० मिटर भित्रका अष्टनारायणलाई राणाको साइकल फेरि चढ्न नपाएकोमा झ्वाक चल्यो । त्यही इखले उहाँले जसरी पनि साइकल चढेरै छाड्ने निर्णयमा पुग्नुभयो । ९७ वर्षअघि उहाँ साइकल किन्न भारतको कोलकत्ता हानिनुभयो । उहाँले साइकल चढ्ने मात्र होइन सोही वर्षदेखि कमलाछीमा साइकलको पसल नै सुरु गर्नुभयो ।
सुरुमा तरकारी पसल भएको घरमा कोलकत्ताबाट ल्याएका ६ वटा बेलायती हर्कुलस साइकल राखियो । बाबु (पञ्चनारायण) र छोराको नामबाट पञ्चनारायण अष्टनारायण साइकल पसल नाम राखियो । त्यो बेला कोलकत्तादेखि काठमाडौँ साइकल ल्याईपुर्याउन कम्ता दुःख थिएन । भिमफेदीदेखि कुल्लीले बोकेर ल्याएका ६ वटा साइकल बेच्न एक वर्ष लागेको थियो । एउटा साइकलको २५ रुपियाँ पर्दथ्यो । तरकारी पसल मासेर साइकल पसल राख्दा अष्टनारायणले बुबाको गाली खुबै खानुभयो ।
विस्तारै साइकल पसललाई अष्टनारायणका छोरा तीर्थ नारायणले चलाउनुभयो । कमलाछी साइकलको हब नै बन्यो। जहाँ अहिले पनि १४ वटा साइकल पसल छन् । सन् १९५० मा पसलको नाम पञ्च अष्टनारायण राखियो । नेपालमा साइकलका लागि पञ्च अष्टनारायण पसल एक प्रकारको ब्रान्ड नै बन्यो । साइकल राणा परिवारबाट विस्तारै सर्वसाधारण जनताको यातायातको साधन बन्यो ।
अष्टनारायणले सुरु गरेको साइकल पसललाई सन् १९७० देखि नाती त्रिरत्न मानन्धरले चलाउनुभयो । पोल्यान्डमा अध्ययन गरेर फर्किनु भएका त्रिरत्नको पासलबाट साइकल किनेर नेपालमा साइकल चढ्नेको लहरनै चलेको थियो । त्यतिबेला बेलायतको हर्कुलस र भारतको हिरो तीन गेयरको साइकल चल्तीमा थियो ।
विस्तारै त्रिरत्नले ताइवानको सान्तोषा साइकल नेपाल भित्र्याउनुभयो । सन् १९८० को दशकमा सान्तोषा विश्वकै चर्चित ब्रान्ड थियो ।
साइकलको लोकप्रियता बढ्दै गएपछि त्रिरत्नले भारतको हिरोसँग कोलाब्रेसन गरेर नेपालमै साइकल कारखाना खोल्ने योजना बनाउनुभयो । कारखानाका लागि हेटौँडाको बसामदीमा तयारी भयो । तर, सन् १९८३ मा त्रिरत्नको मृत्यु भयो । जतिबेला उहाँका छोरा तिरेक अढाई वर्षका मात्र हुनुहुन्थ्यो । त्रिरत्नको मृत्युले नेपालमै साइकल कारखाना खोल्ने तयारी बीचमै रोकियो ।
कमलाछीको पसल परिवारले चलाउँदै आयो । हुर्कदै गरेका तिरेकले अध्ययनसँगै साइकल पसलमा पनि चासो दिनुभयो । पाँचौँ पुस्ताका तिरेकले सन् २००० मा पुल्चोक इन्जिनियरिङ कलेजबाट मेकानिकलमा स्नातक (बीई) सक्नुभयो । उहाँसँगै बीई सकेका साथी ठूला जागिरे भए । अधिकांश यूरोप र अमेरिका हानिए । तर, तिरेकको मनमा साइकलको भूत पस्यो । मेकानिकल इन्जिनियर तिरेकले विस्तारै परिवारकै व्यापार सम्हाल्ने निधो गर्नुभयो । उहाँको दैनिकी साइकलसँगै सुरुभयो । अशनको सेतो घर जहाँ पुर्खाले मिहिनेत गरेर नेपालमा साइकलको पहिचान बनाए । अहिले पनि त्यहाँ साइकल पसल छँदैछ ।
‘बुबाको पालामा साइकलको क्रेज छुट्टै थियो । विक्रम सम्वत् २०४६ सालमा बहुदलीय प्रजातन्त्र आयो । देशमा आर्थिक उदारीकरण सुरुभयो । सर्वसाधारण धनी बन्दै गए । धेरैले पैसा कमाउन थाले । मोटर साइकल र गाडी किन्न बैंकले कर्जा दिन थाल्यो । विस्तारै मोटरसाइकल र गाडी चढ्ने जमात बढ्यो । साइकल संस्कृति हराउँदै गयो । तर, मैले हरेस खाएको थिइन । मेनानिकल पढेकोले पनि साइकलमै केही नयाँ गर्न सकिन्छ भन्ने लाग्यो । पारिवारिक व्यापारलाई जीवन्त दिन र नेपालमा साइकल संस्कृतिको विकास गर्नसक्छु भन्ने सोच बनाएँ,’ ३८ वर्षीय तिरेक भन्नुहुन्छ ।
तिरेकले पुर्खाको नामलाई समेत समेट्ने गरी पञ्च अष्टनारायण साइकल पसललाई ‘प्याङ्क’ नामाकरण दिनुभयो । कमलाछीसँगै उहाँले कान्तीपथमा पनि ‘प्याङ्क’ को आउटलेट सञ्चालन गर्नुभएको छ । बिक्रीसँगै सबै ब्रान्डको साइकल मर्मतमा ‘प्याङ्क’ सक्रिय छ । तिरेकको ‘प्याङ्क’ मा २२ जनाले प्रतक्ष रोजगारी पनि पाएका छन् । ‘प्याङ्क’ अहिले नेपालको चर्चित ब्रान्ड भइसकेको छ । साइकलका पुराना पारखीले भने पसलको नाम लिँदा अहिले पनि पञ्च अष्टनारायणकै नामले चिन्छन् ।
साइकलमै सन्तुष्टि
के छैन साइलमा ? साइल बेचेर आर्थिक रुपमा नाफा त छँदै छ । यसमा रोजगारी, साहसिक पर्यटन, सांस्कृतिक रक्षा, सामाजिक कार्य, साथीभाइसँगको जमघट, पर्यावरणको रक्षा, इन्धनको बचत, नागरिक स्वास्थ्य, राजधानी काठमाडौँमा बढेको ट्राफिक जामको समाधान, बढ्दो प्रदूषणको अन्त्य, तेल र गाडी आयातका लागि देशबाट अरबौँ रकम बाहिर जाने प्रवृतिको अन्त्य र देशलाई आर्थिक रुपले सबल बनाउने उपाय सबै एउटै साइकलमा छ, साइलको उपयोगिताबारे तिरेक भन्नुहुन्छ । नेपालमा केबल बुझाउन नसकेको र सम्बन्धित निकायले त्यति चासो नदिएको कारण साइकल माल पाएर पनि चाल नपाएको जस्तो भएको तिरेकको गुनासो छ ।
पछिल्लो समय विस्तारै नेपाली समाजमा साइकलको महत्व सुरु भएकोमा भने तिरेक आशावादी हुनुहुन्छ । त्यसैले त तिरेकले विश्वभर पाइने सातै प्रकारका साइकल नेपाल भित्रयाउनु भएको छ । उहाँका अनुसार सुरुमा नेपालमा ‘फलामे फ्रेम’ भएको सिटी साइकल (रोडमा मात्र चलाउने) प्रयोगमा थियो ।
त्यसपछि ‘हाईब्रेड’ (रोड र अफ रोर्ड) दुवै ठाउँमा चलाउन मिल्ने आयो । ‘फलामे फ्रेम’ र ‘हाईब्रेड’ मूल्यको हिसाबले सस्तो पर्छ । त्यसपछि बढी मूल्यको ‘आल्मुनियम फ्रेम’ भएको क्याजुअल डाँडाकाँडामा लैजान मिल्ने, ‘क्रसकन्ट्री’ हाईट्रेड एयरग्राफ अल्मोनियम डाँडाकाँडा नाघेर जाने, ‘ट्रेल बाइक’ दुईवटा सक भएको डाँडाकाँडा चाँडो उक्लने, इनडउरो बाइक’ उफ्रँदै तल झर्ने र ‘डाउन हिल बाइक’ जम्प गर्दै तल झर्ने साइकल प्रयोगमा छ ।
प्रयासमा साइकल संस्कृति निर्माण
साइकललाई केबल व्यापार र पैसा कमाउने माध्याम मात्र होइन । तिरेकको परिवार समाज सेवामा पनि सक्रिय छ । साइकलबाट कमाएको केही अंश सामाजिक कार्यमा सदुपयोग गरेको पनि तिरेकले सुनाउनुभयो । ‘साइकललाई सांस्कृतिक र प्राकृतिक सम्पदाको रक्षाको रुपमा पनि उपयोग गर्न सकिन्छ । हामीले हात नभएका र खुट्टा नभएकालाई पनि साइकल चढ्न प्रेरित गरेर साइकल प्रदान गरेका छौँ । हात र खुट्टा नभएकाले साइकल चढ्दा अरुलाई पनि प्रेरणा मिल्दो रहेछ,’ तिरेक भन्नुहुन्छ ।
नेपालमा साइकल संस्कृतिको निर्माण गर्न तिरेक ‘नेपाल साइकल सोसाइटी’ नामक संस्थामा पनि आबद्ध हुनुहुन्छ । पछिल्लो समय बढ्दो प्रदूषण, ट्राफिक जाम, विभिन्न रोगको संक्रमणको डरसँगै स्वास्थ्यको कारणले पनि साइकल चढ्ने मानिस बढ्न थालेको उहाँको बुझाई छ ।
‘आधुनिकताले मानिस वाक्क दिक्क भएका छन् । व्यायाम र घुम्नका लागि पनि साइकल प्रिय साधान बन्न थालेको छ । साइकल टुरको अवधारणा विस्तारै विकास भएको छ । हप्ताको एक दिन वा बिहान एकैछिन भए पनि साइकल चढ्ने मानिस बढेका छन् । अब विभिन्न कार्यालयका कर्मचारी, स्कुल कलेजका विद्यार्थी सबैलाई साइकल चढ्न प्रेरित गर्न आवश्यक छ,’ तिरेक भन्नुहुन्छ ।
ठूला मानिसले हप्ताको एकदिन मात्र साइल चढ्ने गरे पनि साइकल चढ्नेको जमात बढ्ने तिरेकको बुझाई छ । ‘ललितपुरका मेयर चिरीबाबु मर्हजनले साइकल लेन बनाएपछि अहिले धेरैको आँखा खुलेका छन् । काठमाडौँ महानगर पालिकाले पनि ललितपुरबाट सिक्न आवश्यक छ । अझै साइकलको प्रयाप्त लेन र पार्किङको राम्रो व्यवस्था भए । साइकल चढ्नेको जमात बढ्ने निश्चित छ,’ तिरेक ठोकुवा साथ भन्नुहुन्छ ।
तिरेकका अनुसार साइकल चढ्दा आर्थिक, सामाजिक, सांस्कृतिक र स्वास्थ्यको हिसाबले धेरै फाइदा छ । प्राकृतिक दृष्टिले नेपाल साहसिक साइक्लिङका लागि उत्कृष्ट गन्तव्य हो । पछिल्लो समय टुर डे लुम्बिनी, हेरिटेज राइड, अन्नपूर्ण सर्किट, काठमाडौँ युनिभर्सिटी साइकल र्याली, सात हजार भन्दा बढीको सहभागितामा काठमाडौँ कोरा च्यारिटी, काठमाडौँ रारा राईड, शनिबार सामूहिक र्याली जस्ता कार्यक्रम भइरहेका छन् ।
पोखरा, कोशी टापु, हेटौंडा, झापाको कन्यम, कर्णालीको खप्तड, रारा, डोल्पाको से-फोक्सुन्डो लगायत स्थानमा साइकलको माध्यामबाट भ्रमण गर्ने क्रम बढ्दै गएको छ । यसलाई अहिले ‘ट्राभल विथ साइकल’ अभियानको रुपमा लिइएको छ । कोभिड–१९ (कोरोना भाइरस) पछि सुरु भएको लकडाउनले पनि विश्वभर साइकल चढ्ने मानिस बढेको तथ्याङ्क छ । कोरोनाबाट बच्न र सामाजिक दूरी कायम राख्ने सवारी साधनको रुपमा साइकलको प्रयोग बढेको हो । त्यसैले त अहिले उत्पादक कम्पनीलाई साइकल पुर्याउन हम्मेहम्मे छ ।
भर्खर हिँड्न सुरु गरेको बालकदेखि बुढासम्ममा साइकलको पहुँच सहज बनाउनु तिरेकको अबको लक्ष्य हो । ‘प्याङ्क’ ले अहिले विदेशबाट सामग्री झिकाएर बच्चालार्ई गुडाउने साइकलदेखि पाकासम्मलाई फिट हुने साइकल एसेम्बल र निर्माण पनि गरिरकेको छ । यसैगरी साइकलका लागि प्रयोग हुने लुगा, चस्मा, रेनकोट, हाफपेन्ट, हाइब्रेड इलेक्ट्रिक साइकल समेत उत्पादन गरिरहेको छ ।
तिरेकको यो भन्दा माथिको एउटै सपना छ, नेपालमै साइकलको कारखाना खोल्ने । उहाँको बुबाले पूरा गर्न नसकेको काम अहिले पनि सुरु भएको छैन । त्यसैले उहाँ निकट भविष्यमा नेपालमा साइकलको छुट्टै कारखाना खोल्ने तयारीमा हुनुहुन्छ ।
‘विदेशबाट पार्टपूर्जा झिकाएरै भए पनि नेपालमा साइकल निर्माण गर्न सकियो भने यसको लागत कम हुन्छ । मूल्य कम हुँदा साइकल चढ्ने मानिस स्वत बढ्छन् । नेपालीको शारीरिक बनोट अनुसार साइकल निर्माण गर्न सकिन्छ । यसाे गर्न सके बुवाकाे सपना पनि सकार हुन्छ', उहाँले भन्नुभयाे,'एउटा छोराको लागि यो भन्दा ठूलो कुरा के होला ?'