logo
२०८१ बैशाख १३ बिहीवार



होलीमा सकेसम्म 'अर्गानिक' रङ्ग प्रयोग गर्न चिकित्सकको सुझाव

पढ्नै पर्ने |
समाज |


होलीमा सकेसम्म 'अर्गानिक' रङ्ग प्रयोग गर्न चिकित्सकको सुझाव


काठमाडौं, चैत ३ गते । फागुन शुक्ल पूर्णिमाका दिन होली पर्व मनाउने गरिन्छ । होली पर्वलाई रंगहरुको पर्व भनेर पनि चिन्ने गरिन्छ । मित्रता, एकता तथा सद्भावरूपी रङ्गहरूको पावन पर्व होली खुसी आदानप्रदान गरी मनाइँदै छ ।
साना बालबालिकादेखि वृद्धवृद्धासम्म होलीको रङ्गमा रगिने गर्दछन् । नेपाली समाजमा पछिल्लो समय होली पर्व धुमधामसँग मनाउने प्रचलन बढ्दो छ । आफ्न्त भेट हुने एक अर्कोलाई रङ्ग लगायर मिठोमिठो खानेकुरा खाएर होली पर्व मनाउने प्रचलन बढ्दै गइरहेको छ ।
तर पछिल्लो समय एकअर्कामा रङ्ग दलेर खुसी साटासाट गरेर मनाइने होली पर्वमा केही विकृत प्रवृति पनि भित्रिएको छ । अर्कोतर्फ स्वास्थ्यका हिसाबले होलीमा प्रयोग गरिने रङ्गबाट पनि सतर्क रहनुपर्ने चिकित्सक बताउँछन् ।
होलीमा प्रयोग गरिने विभिन्न रंगमा रसायनिक वस्तु मिसाइएको हुन्छ । जसको शरीरमा नकारात्मक असर पर्ने चिकित्सक बताउँछन् ।
कुन रङ्गमा कस्तो रासायनिक मिसिएको हुन्छ
जति गाढा रंग भयो त्यति नै स्वास्थ्यको लागि हानिकारक हुने छाला रोग विशेषज्ञ बताउँछन् । होलीमा विशेषगरीे रातो रंगहरु रातो,कालो, हरियो,नीलो,गुलाबी,बैजानी,गिलिटर, सेतो जस्ता रंगको प्रयोग गर्दछन् ।
छालारोग विशेषज्ञ प्रा. डा. सविना भट्टराईका अनुसार रातो रङ्गमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व मिसाइएको हुन्छ ।
‘होलीमा प्रयोग हुने रातो रंगमा मर्करी,नीलो, हरियो रङ्गमा कपर सल्फेट र कालो रंगमा लिड अक्साइड भन्ने केमिकलको प्रयोग भएको पाइएको छ ।’उहाँले भन्नुभयो,‘ त्यस्तै टल्कने रङ्ग अर्थात गिल्टिरमा कतिपयमा सिसा पिसेर हालेको पाइएको छ । भने कतिपय गिलिटरमा बालुवामा टल्कने सिलिकाको प्रयोग गरिन्छ ।’
डा भट्टराइका अनुसार धूलो रङ्गभन्दा झोल रंग स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ ।
होलीमा सकेसम्म प्रकृति रंगको प्रयोग गर्न छालारोग विशेषज्ञ डा भट्टराइको सुझाव छ ।
‘पहिले/पहिले फूलहरु पिसेर रङ्ग बनाइन्थ्यो मेहन्दीको कलर र बेसार पनि रंगका रुपमा प्रगोग गरिन्थ्यो तयसैल. रङ्गले त्यती धेरै असर गर्दैन थियो’, उहाँ भन्नुहुन्छ ।’ अहिले पनि बजारमा अर्गानिक रंगहरु पाइन्छन् त्यसैले होली खेल्दा सकेसम्म अर्गानिक रंगको प्रगोग गर्दा राम्रो हुन्छ ।’
रासायनिक रङ्गले छालामा कस्तो असर गर्छ ?
डां भट्टराइका अनुसार रासायनिक तत्वहरूले छाला,आँखा,कान लगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पु-याउँछ । सामान्य एलर्जीदेखि शरीरका विभिन्न अंग जस्तै मुटु, किड्नीमा विभिन्न समस्या देखिने डा. भट्टराइ बताउनुहुन्छ ।
‘सबै रङ्गमा हुने रसायनले शरीरको नरम छालामा एलर्जी गराउने गर्छ । फलस्वरूप छाला रातो हुने, चिलाउने, रातो डाबर आउँछ । आँखामा प्रवेश गरे चिलाउने, रातो हुने, पानी बग्ने, हुन सक्छ । त्यस्तै कानमा रंग परेमा चिलाउने र पछि गएर कान पाक्छ ।’डा. भट्टराइ बताउनुहुन्छ ।
कस्ता मानिसले रंग खेल्नु हुँदैन ?
छालामा घाउ भएका,गर्भवती,बालबालिकाहरुले गाढा रंगबाट टाढै बस्नुपर्छ । यस्ता मानिसलेको लाला पातलो हुने भएकोले रंगमा मिसाइएको रसायन छालाबाट भित्र पसेर रगको माध्यबाट रङ्ग शरीरका विभिन्न अंगमा असर गर्ने गर्छ । त्यसैले यस्ता मानिसले रंग खेल्नु परे पनि विशेष ध्यान दिनुपर्ने डा.भट्टराइको सुझाव छ ।
होली खेल्दा ध्यान दिनुपर्ने कुरा
डा. भट्टराइका अनुसार होलीको रंगको कम असर पार्न टाउकोमा तेल लगाउने ,शरीरमा म्वइस्चराइजर क्रिम लगाउनुका साथै, नङमा पोलिस लगाउने र पूरा शरीर छोप्ने गरेर लुगा लगाउनु पर्छ । सकेसम्म आँखा, कान तथा मुखमा रंग लाग्नबाट जोगाउनुपर्ने लागिहालेमा तुरुन्त सफा पानीले सफा गर्नुपर्ने डा भट्टराइ बताउनुहुन्छ ।
यदि पहिले देखिनै छालामा एलर्जी छ होलीमा रंग नखेल्नु नै उचित हुने डा. भट्टराइको सुझाव रहेको छ । एलर्जी भएमा तुरून्त रंग धुने र तेल र म्वइस्चराइजर क्रिम लगाउने गर्नु पर्छ र यदि धेरैनै गाह्रो भएमा चिकित्सकलाई देखाउनु पर्छ ।
होलीको रङ्ग कसरी निकाल्ने
होलीको रंग धेरै बेर नखेल्न चिकित्सको सुझाव दिनुहुन्छ ।‘होलीको रङ्ग जबरजस्ती निकाल्न हुर्दैन तयसले छालामा झन स्वास्थ्य समस्या निम्तने गर्छ,’उहाँ भन्नुहुन्छ,‘पहिलो तेल क्रिम लगाएर खेलियो भने पछि माइल्ड साबुन वा स्याफु प्रयोग गर्नुपर्छ ।’रङ्ग निकालेपछि पनि तुरन्त तेल वा क्रिमको प्रयोग गर्दा छालामा समस्या नआउने डा भट्टराइ बाताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?