logo
२०८१ मंसिर ८ शनिवार

  दृश्य समाचार  

 



जो हर क्षण मुरली फुक्छन्, तर संगीतकार होइनन्

पढ्नै पर्ने |
समाज |


जो हर क्षण मुरली फुक्छन्, तर संगीतकार होइनन्



विष्णु पाण्डेय, दृश्यमा मनोजरत्न शाही/केशब गुरुङ्ग
काठमाडौं ,चैत ७ गते । गाडीको कर्कस हर्न अनि सहचालकले यात्रुलाई बोलाएको एकोहोरो चिच्याहट । आउने जाने मानिसका होहल्लाका बीचमा अचानक मुरलीको धुन बज्छ रेशम फिरिरी,रेसम फिरिरी........ ।
मध्य दिनमा मुरलीको सुमधुन धुनले पशुपति क्षेत्रमा भएको कोलाहल नै कम भएको भान हुन्छ । त्यसो त पशुपति क्षेत्रमा गुञ्जिने संगीतमय धुनले पनि शान्ति मिल्ने धेरैको भनाइ छ । तर, त्यसैमा मिसिएको मुरलीको धुनले भने धेरैको ध्यान तानेको छ ।
भीडको बीचमा आधा कपाल फुलेको, नीलो कमिज पाइन्ट अनि खुट्टामा कालो चप्पल, कालो वर्णको अनुहारमा दाह्री जुँगा पालेका अधबैंसे मानिस मुरली फुक्दै हुनुहुन्छ माेहमद इजराबुल । उहाँको कलाले सबैलाई तानिरहेको थियो ।


उहाँ एकपछि अर्को धुन फेर्दै जानुहुन्छ, मान्छेको भीड पनि बढ्दै र घट्दै गर्छ । भीडको पछि बसेर उहाँलाई सुन्ने हो भने त कुनै कन्सर्ट झैँ लाग्दथ्यो तर उहाँ कुनै चर्चित ब्यान्डको सदस्य नभइ मुरली–बाँसुरी बेच्दै, जीविका चलाउने व्यबसायी हुनुहुन्छ ।
धेरैले उहाँलाई काठमाडौं इन्द्रचोकका साथै सहरका मुख्य ठाउँमा देखेको अनि सुनेको हुनुपर्छ । उहाँको मुरली–बाँसुरी बजाउने कलाको प्रशंसक पनि धेरै होलान् । तर उहाँको कला चाहिं श्रोताको प्रशंसा बटुल्ने भन्दा पनि आफूँसँग बोकेर हिँडेको बाँसुरी ती दर्शकहरुलाई बिक्री गर्ने छ । ‘धेरैले सुन्छन्, थोरैले किन्छन् । बाँसुरीको धुन मिठो हुन्छ । यस्तो भीड बीचमा कसैलाई त बजाउन पनि रहर जागी हाल्छ नि,’ उहाँ भन्नुहुन्छ ।

उहाँका बुबा भारतको विहाबाट काठमाडौं आएर गल्ली गल्लीमा मुरली–बाँसुरी लिएर बेच्दै हिड्नुहुन्थ्यो । उहाँ पनि बुबासँगै काठमाडौं आएर सानो उमेरमै मुरली–बाँसुरी बेच्दै हिँडेको उहाँ सुनाउनुहुन्छ । ‘भारतबाट बुबासँगै काठमाडौं आएर सानैदेखि यही काममा लागियो । कामलाई अहिलेसम्म निरन्तरता दिएको छु,’ उहाँ सुनाउनुहुन्छ ।
मोहमदले बाँसुरी अनि मुरली बोकेर बिक्री गर्न थालेको तीन दशक कटेछ । समयसँगै धेरै कुरा फेरियो । गाना–बजाना, कलाकारिता, सामाजिक सोच अनि मूल्य मान्यता नै फेरियो । उहाँको जीविको पार्जनको माध्यम चाहिँ उही रह्यो.. बाँसुरी अनि मुरली बोकेर बेच्न हिंड्ने ।
‘पहिले एउटा बाँसुरीको पाँच सुका भन्ने अनि एक रुपैयाँमा बेच्थें’उहाँले भन्नुभयो ‘चार सुकामा बिक्री हुने बाँसुरी अहिले दुईसय रुपैयाँमा बिक्री गर्न कुनै समस्या पर्दैन ।’मोहमद मुरली–बाँसुरी बोकेर काठमाडौंको गल्ली मात्र होइन, जहाँ जात्रा, मेला, महोत्सव हुन्छ त्यहाँ पुगिहाल्नुहुन्छ ।
उहाँलाई साथ दिन उहाँसँगै भतिज र छोरा पनि सँगै हिड्नुभएको छ ।भतिज मोहमद प्रविन पनि यसरी बाँसुरी–मुरली बेच्दै हिँडेको १५ वर्ष वितेको छ । बुबासँगै हिँडेर मुरली व्यावसाय नै सिकेको उहाँ सुनाउनुहुन्छ । ‘म पनि सानो नै थिएँ बुबासँगै भारतबाट काठमाडौं आएर यसरी मुरली बेच्न थाले , बुबा अहिले घरमा बस्नुहुन्छ म मात्र बिक्री गदै हिड्छु,’उहाँले भन्नुभयो ।
बाँसुरी बेचेर दिनमा तीन हजारसम्म कमाइ हुने गर्दछ प्रविनको पनि । यही कमाइबाट उहाँको घर व्यवहार चलेको छ । घरका सदस्यहरुको पालन पोषण पनि यही व्यापारले धानेको उहाँ सुनाउनुहुन्छ ।
आफूहरुका ग्रहाक बच्चादेखि बृद्धसम्म सबै रहेको प्रविन बताउनुुहुन्छ । ‘बाँसुरीको धुनको मिठास भने नेपालीको मनमा जमेकै छ’उहाँले भन्नुभयो ‘बच्चादेखि बृद्धसम्मका व्यक्ति नै हाम्रा ग्राहक छन् ।’मोहमदको मुरलीबादन ठूलो मन्च मार्फत स्रोतासम्म पु¥याउने जमर्को कहीँ कतैबाट कहिले भएन । ‘पेशामा लगाव भए जीवन चलाउन गार्हो हुन्न’ भन्ने एउटा ज्वलन्त उदाहरण बन्नुभएको छ । ‘बाँसुरी बजाउनु मेरो लागि त जिउनु हो । म कलाकार चाहिँ बन्न सकिन तर बाँसुरी बजाउने अनि बिक्री गर्ने कला भने मसँग छ । मेरो जीवनको पहिचान नै यही हो, उहाँ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?