logo
२०८१ मंसिर ७ शुक्रवार

  नयाँदिल्लीमा संयुक्त पत्रकार सम्मेलन  



द्विपक्षीय संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न प्रम देउवाको आग्रह

पढ्नै पर्ने |
राष्ट्रिय |


द्विपक्षीय संयन्त्रमार्फत सीमा समस्या समाधान गर्न प्रम देउवाको आग्रह


काठमाडौं, चैत १९ गते । तीनदिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समास्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको बताउनुभएको छ । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाल–भारतबीचको सीमा विवाद विषयलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी नरेन्द्र मोदीसँग छलफल गरेको बताउनुभएको हो । ‘हामीले सीमा विषयका बारेमा छलफल गर्यौं । र मैले मोदीजीलाई यो विषय द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्नका लागि आग्रह गरेकाे छु ।,’

उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो । यता, भारतीय प्रधानमन्त्री मोदी पनि सीमा समस्या द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न प्रस्ताव गर्नुभएको छ । ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं । र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु ।,’ उहाँले भन्नुभयो । पछिल्लो समय नेपाल–भारतबीच सीमा विवादका कारणले समस्या भइरहेको छ । दुई देशबीच सीमा समस्या समाधानको लागि पटक–पटक पहल भएपनि अघि बढ्न सकेको छैन ।'

प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको मित्रता र नागरिकबीचको सम्बन्ध जस्तो उदाहरण विश्वमै कहीँ देख्न नपाउने बताउनुभएको छ । ‘भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धकाे उदाहारण विश्वमै कहीँ देख्न पाइँदैन ।,’ मोदीले भन्नुभयो । साथै उहाँले दुई देशको सभ्यता, संस्कृति आदानप्रदानको धागो प्राचीन कालबाटै जोडिएको पनि बताउनुभएको छ ।

यसैगरी, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबाहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको पनि बताउनुभएको छ । आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएकाे उहाँले बताउनुभयाे । 

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताउनुभएको छ ।    
    
यसैबीच राससका अनुसार दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताउनुभएको हो ।    
    
 भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको बताउँदै उहाँले भन्नुभयो, “अनादिकालदेखि हामी एकअर्काका सुखदुःखका साथी हौँ ।” प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गर्नुभयो ।    
    
प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुनुहुन्छ भन्दै उहाँले भारत–नेपाल सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन श्री देउवाले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।    
    
आफ्नो पहिलो कार्यकालदेखि नै ‘छिमेक पहिले’ अर्थात् छिमेकीसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्नुभएका भारतका प्रधानमन्त्री मोदीले नेपालसम्बन्धी भारतको नीति आत्मीयताले प्रेरित छ भन्नुभयो । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारतको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।    
    
 प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलसँग बहुआयमिक भारत–नेपाल सम्बन्धका सबै पक्षमा छलफल र समीक्षा भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ऊर्जा क्षेत्रमा साझेदारी र सहकार्य गर्न दुवै देश सहमत भएका बताउनुभयो । दुई दशकभन्दा लामो समयदेखि गतिहीन बनेको पञ्चेश्वर बहुद्देश्यीय परियोजनालाई द्रुतगतिमा अघि बढाउने प्रतिबद्धता पनि उहाँले दोहो¥याउनुभयो ।    
    
 नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा प्रवर्धनमा भारतले सघाउने, नेपालले झेल्नुपरेका व्यापार घाटा कम गर्न आवश्यक प्रयास गरिने बताउँदै उहाँले आजदेखि सञ्चालनमा आएको जयनगर–कुर्था रेल सेवाले दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ सघन तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।    
    
 भारत र नेपालबीचको खुला सिमानाको दुरुपयोग नहोस्भन्नेतर्फ आफूहरू सचेत रहेको तथा त्यस सम्बन्धमा पनि आफूहरूले छलफल गरेको जानकारी दिँदै भारतका प्रधानमन्त्रीले धार्मिक पर्यटन प्रवद्र्धनका लागि रामायण परिपथको विकास, नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण, नेपाल प्रहरीलाई समयानुकूल तालिम दिने प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणमा भारत–नेपाल साझेदारी हुने बताउनुभयो ।    
    
 काठमाडौँको पशुपतिनाथ र वाराणसीको काशीविश्वनाथका कारण दुई देशबीचको सम्बन्ध अनादिकालदेखि विशेष रहेको प्रसङ्ग जोड्दै उहाँले प्रधानमन्त्री देउवाले भोलि गर्नुहुने काशीविश्वनाथको यात्रा फलदायी रहोस् भन्ने कामना पनि गर्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?