logo
२०८१ जेष्ठ ५ शनिवार



तीजलाई खर्चिलो र भड्किलो बनाउन नहुने - अध्यक्ष तिमिल्सिना   

आरक्षण खारेजीको अभियान चलाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको आग्रह

राष्ट्रिय |


तीजलाई खर्चिलो र भड्किलो बनाउन नहुने - अध्यक्ष तिमिल्सिना   
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना इन्द्रेणी एकीकृत विकास समाज र पुष्पाञ्जी इभेन्ट कम्पनीले बुधबारदेखि पोखरा महानगरपालिका–१ स्थित टुँडीखेल मैदानमा आयोजना गरेको तीज मेलाको उद्घाटन गर्दैै ।



कास्की, भदौ ११ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नारीहरुको पर्व हरितालिका तीजलाई खर्चिलो र भड्किलो बनाउन नहुनेमा जोड दिनुभएको छ ।

इन्द्रेणी एकीकृत विकास समाज र पुष्पाञ्जलि इभेन्ट कम्पनीले आजदेखि पोखरा महानगरपालिका–१ स्थित टुँडीखेल मैदानमा आयोजना गरेको तीज मेलाको उद्घाटन कार्यक्रममा उहाँले तीज लगायतका पर्व सबै नेपालीले मनाउनसक्ने बनाइनुपर्ने बताउनुभयो ।    
    
पर्वलाई खर्चिलो नबनाइकन पनि संस्कृति र परम्पराको संरक्षण गर्न सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “तीज नेपाली कला र संस्कृतिको संरक्षण गर्ने पर्व हो, विगतमा अधिकार नभएको समयमा महिलाहरुले यसलाई स्वतन्त्रताको दिनको रूपमा लिए पनि अब सशक्तिकरणका लागि मनाइनुपर्दछ ।”

संविधानमा गरिएको आरक्षणको व्यवस्था कमजोर र प्रतिस्पर्धा गर्न नसक्नेलाई भएकाले अवका महिलाहरुले हामी सशक्त छौँ, समान प्रतिस्पर्धा गर्न सक्दछौँ भन्ने सन्देश दिने खालका गीत तथा सङ्गीतका माध्यमबाट आरक्षण खारेजीको अभियान चलाउनुपर्ने अध्यक्ष तिमिल्सिनाको आग्रह गर्नुभयो ।

पोखराको पुरानो टुँडीखेल खेल मैदान पछिल्ला वर्षहरुमा अतिक्रमण भएको चिन्ता व्यक्त गर्दै उहाँले तीनै तहका सरकारहरुले सार्वजनिक सम्पतिको संरक्षणको योजना बनाउनुपर्ने बताउनुभयो ।    
   
सांसद दुर्गा विकले विगतमा अधिकारका लागि विभिन्न माध्यमबाट सङ्घर्ष गरे पनि अहिलेको अवस्थामा महिलाहरु उत्पीडनमा पर्ने अवस्था नरहेको बताउँदै संविधानमा उल्लेख गरिएका हक अधिकारको कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्यहरु रामजीप्रसाद बराल, विन्दुकुमार थापा, गायत्री गुरुङ, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, पोखरा–१ का वडाध्यक्ष शारदा पराजुली, मेलाको मुख्य प्रायोजक सिजी फुड्सका सुरेन्द्र खनाललगायतले तीज पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।    
    
कार्यक्रममा गायिका बाबा राणालाई गायनका माध्यमबाट समाज र देशको विकासमा योगदान गरेकोमा सम्मान गरिएको थियो । त्यसैगरी शिक्षासेवी बलराम पराजुलीलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

लोपोन्मुख संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा आमा समूहस्तरीय खुला तीज गीत, छेलो, टपरी गाँस्नेलगायतका प्रतियोगिता समावेश गरिएको र आगामी भदौ १७ गतेसम्म मेला सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?