logo
२०८१ बैशाख १२ बुधवार



जाँगर भए स्वदेशमै रोजगारी

राष्ट्रिय |


जाँगर भए स्वदेशमै रोजगारी
फाइल तस्विर



सीता शर्मा

काठमाडौँ, पुस ११ गते । काम गर्ने इच्छा र जाँगर भएका पैसा कमाउन विदेश नै जानुपर्छ छैन भन्ने गतिलो उदाहरण बनेका छन्, ठेलागाडामा विभिन्न सामानको व्यापार गर्नेहरू । यसरी व्यापार गर्ने महिला पुरुष दुवै छन् । काभ्रे स्थायी घर भई हाल राजधानीस्थित कीर्तिपुर डेरा गरी बस्ने विना थापाले कीर्तिपुर चोकमा ठेलागाडामा सिजनअनुसारका विभिन्न खानेकुरा बनाएर बेच्नुहुन्छ ।
उहाँले बनाएका चना चटपटे, पानीपुरी, भुटेका मकै, भटमास, चना, केराउ पानीपुरीलगायतका खानेकुरा सडकमा ओहोरदोहोर गर्ने जो कोहीले पनि खान्छन् । सामान्य लेखपढ गर्न मात्र सक्ने विनाले घरधन्दा भ्याएर फुर्सदको समयमा ठेलागाडामा खानेकुरा बनाएर बेचेर मासिक औसतमा ३०/३५ हजार रुपियाँ आम्दानी गर्नुहुन्छ, जसबाट घरखर्च मज्जाले चलेको छ । उहाँ भन्नुहुन्छ, दुई छोरालाई निजी विद्यालयमा पढाउन, कोठा भाडा तिर्न र चार जनाको परिवारलाई खाने खर्च चलेको छ ।
उहाँलाई विदेश जाने प्रस्ताव धेरै आए, जाने मनस्थिति पनि बनाउनुभयो तर स्वास्थ्यले साथ नदिएपछि विदेश जान सक्नुभएन । सुरुमा विदेश जान नपाएर कत्रो छट्पटी भयो तर अहिले व्यापार राम्रै चलेको छ, रोजगारीका लागि विदेश गएका महिलाको दुःख र पीडाका समाचार टीभी र रेडियोमा सुन्दा र हेर्दा त मलाई भगवान्ले जोगाए भन्ने लाग्छ, विनाले थप्नुभयो ।
यस्तै चितवन स्थायी घर बताउने कल्पना बिन्दु अधिकारीले राजधानीमा आई साहुको सामान फुटपाथमा लगेर बेचेर मासिक औसतमा १८ /२० हजार रुपियाँसम्म आम्दानी गर्नुभएको छ । उहाँले भन्नुभयो, विदेश गएर अरूको नोक्कर बन्नुभन्दा त यही ठीक छ, खान लगाउन पुगे भइहाल्यो नि ।
विभिन्न उद्देश्य लिएर राजधानी आएका महिला स्वरोजगार व्यापारी बन्न थालेपछि उनीहरूको जीवनस्तरमा परिवर्तनमा मात्र भएको छैन सम्पत्तिका कारण महिलामाथि हुने घरेलु हिंसामा पनि कमी आएको छ । यसरी स्वरोजगार व्यापारी बन्ने विना र बिन्दु मात्र होइन उहाँहरूजस्त ैगरी घरधन्दा भ्याएर फुर्सदको समयमा कोही ठेलागाडामा तरकारी, फलफूल बिक्री गर्ने, चिया, पानीपुरी, चटपटे, खाजालगायत तयार गरेर बिक्री गर्ने, साहुका सामानहरू बिक्री गरेर स्वरोजगारी बनेका थुप्रै महिला आर्थिक तथा सामाजिक रूपमा आत्मनिर्भर भएका छन् । यसरी स्वरोजगार बन्न थालेपछि उनीहरू आर्थिक रूपले मात्रै आत्मनिर्भर भएका छैन, उनीहरूको व्यक्तित्वमा पनि त्यतिकै विकास भएको छ ।
ठेलागाडा सडक छेउमा राखेर तीन वर्षदेखि काठमाडौँको कालीमाटीमा फलफूल बिक्री गर्दै आएकी रीता गुरुङले सडकमा ठेलागाडा राखेर स्वदेशमै आफैँ स्वरोजगार बनेका महिलालाई राज्यले प्रोत्साहन गर्नुको सट्टा उल्टै अनावश्यक तनाव दिएर सामान जफत गर्ने र बिक्रीवितरण गर्नबाट वञ्चित गर्ने गरेको गुनासो गर्नुभयो । ससानो लगानीमा गरिब, निम्न तथा मध्यम वर्गका महिलाले यो पेसामा लाग्ने गरेको भए पनि यस्ता महिलालाई ऋण उपलब्ध गराउनेतिर कसैको ध्यान नपुगेको उहाँको भोगाइ छ ।
टे«ड युनियन महासङ्घ नेपाल (जिफन्ट)का उपाध्यक्ष एवं महिला विभागका अध्यक्ष मीना गुरुङले यस्ता महिलाको स्वरोजगार व्यापारलाई व्यवस्थित गर्नका लागि राज्यबाट सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, विभिन्न ठाउँबाट स्वरोजगार बन्नेका महिलालाई राज्यले हटाएर पटकपटक दःुख दिने होइन कि उनीहरूको उचित ठाउँमा राज्यले व्यवस्था गर्न सक्नुपर्छ तर अहिलेसम्म त्यस्तो हुन नसकेको छैन ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओको परिभाषाअनुसार विना, बिन्दु र रीता स्वरोजगार श्रमिक हुनुहुन्छ । आफैँ रोजगार सिर्जना गरेर रोजगार बन्नेलाई स्वरोजगार भनिन्छ । हिजोको दिनमा टीका चुराका लागि श्रीमान्को भर परेका महिला आज आफँै स्वरोजगार बनेर आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर हुन थालेका छन् । त्यसो त सरकारले आउँदो पाँच वर्षभित्र बाध्यतात्मक वैदेशिक रोजगारीको अन्त्य गरेर स्वदेशको रोजगारीलाई प्राथमिकता दिने कार्यक्रम सार्वजनिक गरेको छ ।
नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घका अनुसार नेपालमा सङ्गठित स्वरोजगार व्यापारीको सङ्ख्या १० हजारको हारहारीमा रहेकामा ७५ प्रतिशतभन्दा बढी महिला रहेका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?