logo
२०८१ बैशाख ६ बिहीवार



प्रमाणीकरण र श्रमिक छनोट अनलाइनबाट

राष्ट्रिय |


प्रमाणीकरण र श्रमिक छनोट अनलाइनबाट


सीता शर्मा

काठमाडौँ, पुस १८ गते । वैदेशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण (एटेस्टेसन) र श्रमिक छनोट (सेलेक्सन) प्रक्रियाका काम बुधबारदेखि वा सन् २०२० जनावरी १ देखि अनलाइन प्रणालीबाट सुरु गरेको छ ।
विभागले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित यो प्रणाली लागू गरेको हो । विभागले बुधबारदेखि मलेसिया, यूएई र कुवेतका दूतावासबाट मागपत्रको स्वीकृति प्रमाणीकरणको काम सुरु गरेको
जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले मलेसिया दूतावासले मङ्लबारदेखि नै १६÷१७ वटा मागपत्रका फाइल यो सिस्टमबाट आइसकेको जानकारी दिनुभयो । यूएई, कुबेतले पनि यो सिस्टमलाई लगइन गरिसकेको र कतार एवं कुबेतले यो सिस्टममा जानका लागि निकै चासो दिएर सोधखोज गर्ने काम भइरहेकाले सबै दूतावास यस सिस्टममा छिटै आउने विश्वास व्यक्त गर्नुभयो ।
विभागले सन् २०२० जनवरी १ देखि श्रम स्वीकृतिका सबै कार्यलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मार्फत गर्न नसके पनि श्रमिकको मागको प्रमाणीकरण र छनोटलाई अनलाइन प्रणालीबाट गर्ने बुधबारबाट मलेसियाको एटेस्टेसन सुरु गरेको छ ।
एफईआईएमएस पूर्ण रूपमा कार्यान्वयनमा आएपछि विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी, अध्यागमन विभाग, राहदानी विभाग, मेडिकल, बैङ्क, बीमा, अभिमुखीकरण, विदेशस्थित नेपाली नियोग एकैसाथ जोडिने छन् ।
यो प्रणाली कार्यान्वयनपछि प्राविधिक रूपमा समस्या आउँदाबाहेक श्रमिकको श्रम स्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट गर्न नै नपर्ने विभागका महानिर्देशक भुसालले जानकारी दिनुभयो ।

एक साता म्याद
विभागले डिसेम्बर ३१ (पुस १५)सम्मका पूर्वस्वीकृतिका फाइलहरूको टुङ्गो लगाइसक्न सात दिनको म्याद दिएको छ । जसअनुसार वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले पुष २२ भित्र पुष १५ भित्रका पूर्वस्वीकृतिका फाइलको काम टुङ्ग्याइसक्नुपर्ने निर्देशन दिएको छ ।
माग प्रमाणीकरण भइसकेका तर वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेस नभएका फाइल पेस गर्न र पूर्वस्वीकृति लिनका लागि भने पुस मसान्तसम्मको म्याद दिइएको छ ।
बुधबारदेखि सबै राजदूतावासबाट प्रमाणीकरण गरिएका कागजात वैदेशिक रोजगार सूचना प्रणालीबाट प्राप्त भएको आधारमा म्यानपावर संस्थाका मागपत्रका लागि अनलाइन पूर्वस्वीकृति, विज्ञापन प्रकाशन, अनलाइन आवेदन र अनलाइन श्रम स्वीकृति प्रारम्भ हुँदै छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?