logo
२०८१ जेष्ठ २ बुधवार



वन्यजन्तु उपचार अब अस्पतालमा

राष्ट्रिय |


वन्यजन्तु उपचार अब अस्पतालमा


चाँदनी हमाल

काठमाडौँ, पुस २२ गते । वन्यजन्तु संरक्षणका लागि पालिएका हात्तीलाई पनि उपचार गराइराख्नुपर्छ । यतिबेला भने हात्तीलाई जुकाको औषधि खुवाइँदै छ । टिबी लागेका केही हात्तीलाई भने यसअघि छुट्टै राखेर उपचार गराइएको थियो ।
त्यस्तै एक महिनाअघि दुई भाले गैँडा चितवन राष्ट्रिय निकुञ्जको वनमा जुधेर घाइते बने । कम घाइते गैँडा भागेर जङ्गल पस्यो । बढी घाइते गैँडालाई उपचार थालियो । “चोट नै चोट भएको गैँडालाई जङ्गलको बीचमा उपचार गर्दै थियौँ, १० दिनपछि त्यो पनि भाग्यो,” वन्यजन्तु चिकित्सक डा. विजयकुमार श्रेष्ठले थप्नुभयो, “जङ्गलमा समातेर बस्न र राख्न नै कठिन छ ।”
चितवन निकुञ्जमा पछिल्लो समय एकसिङे गैँडाको सङ्ख्या बढ्दो अवस्थामा रहेकाले आपसमा जुध्ने क्रम बढेको छ । यस्तोमा छिटो उपचार गर्न सकिएन भने गैँडाको सङ्ख्या वृद्धि लक्ष्यमा असर पुग्ने गैँडाविज्ञ शान्तराज ज्ञवाली बताउनुहुन्छ । पोथीभन्दा भाले गैँडा बढी जुध्ने गरेको फेला परेको उहाँको निष्कर्ष छ । उहाँले भन्नुभयो, “घाँसको खोजीमा एक क्षेत्रबाट अर्को क्षेत्रमा जाँदा हुने जम्काभेटमा भाले गैँडा जुध्ने गर्छन् । पोथीले भने आफ्ना बच्चा जोगाउन अर्को गैँडालाई आक्रमण गर्ने गर्छ ।”
वन्यजन्तु करिडोरमा मुख्य सडक भएकाले त्यहाँ बारम्बार दुर्घटना हुँदा वन्यजन्तु घाइते हुन्छन् तर तत्काल लगेर शल्यक्रिया गर्ने र उपचार गर्ने थलोेको अभावले वन्यजन्तुको ज्यान जाने गर्छ । विभिन्न प्रजातिका पक्षी, हरिण, बँदेल, मृगलगायतका आहारा प्रजातिका वन्यजन्तुसँगै बाघ, भालु, गैँडा, हात्तीको आवतज(ावत तीव्र रहने गर्छ । यसरी बिरामी हुने र दुर्घटनाबाट घाइते हुने वन्यजन्तुको उपचारका लागि निश्चित स्थान नहुँदा संरक्षणकर्मीले अप्ठेरो बेहोर्नुपरेको थियो ।

अब अस्पतालबाटै उपचार
अब भने देशभरका संरक्षित वन्यजन्तुले खुला स्थानमा उपचार गराउनुपर्ने समस्या हट्ने भएको छ । वन्यजन्तुको विशिष्ट व्यवस्थापनसहित उपचार गराउन अस्पताल बनेको छ । जहाँ मानिसझैँ वन्यजन्तु उपचारका लागि लगिनेछ । हाल अनौपचारिक रूपमा अस्पतालले सेवा दिइरहे पनि छिट्टै नै वन्यजन्तु अस्पतालले औपचारिक सेवा सुरु गर्दैछ ।
सरकारले विशिष्ट बानीव्यहोरा भएका वन्यजन्तुको स्वास्थ्य संरक्षणका लागि वन्यजन्तु अस्पताल निर्माण गरेको हो । यो देशकै पहिलो र एक मात्र वन्यजन्तु अस्पताल हो । यसरी अस्पतालमा उपचार सुरु भएपछि थप सङ्क्रमणसँगै अन्य विविध जोखिमबाट वन्यजन्तुले मुक्ति पाउने छन् ।
चितवनको सौराहास्थित नेपाल प्रकृति संरक्षण कोषनजिकै बनेको अस्पताललाई प्रविधियुक्त बनाउने क्रम चलिरहेको संयोजक एवं राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन बनिसक्यो, बाँकी काम भइरहेको छ, अब भने वन्यजन्तुलाई एक ठाउँमा राखेर सहज उपचार गराउन सकिन्छ ।”
अर्यालका अनुसार हालसम्म उपचारका लागि दुई करोड ५० लाख रुपियाँ खर्च भएको छ । यसै आर्थिक वर्ष सरकारले थप डेढ करोड रुपियाँ बजेट अस्पताललाई उपचारजन्य प्रविधि उपलब्ध गराउन प्रदान गरेको छ । त्यस बजेटबाट एक्सरे मेसिन, ईसीजी मेसिन, माइक्रोस्कोप्स, ल्याबका सामानलगायतका प्रविधि खरिद गर्ने चरणमा रहेको अर्यालले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?