logo
२०८१ जेष्ठ २ बुधवार



राष्ट्रिय स्तरमा सगरमाथा संवादको तयारी

राष्ट्रिय |


राष्ट्रिय स्तरमा सगरमाथा संवादको तयारी


चाँदनी हमाल

काठमाडौँ, पुस २३ गते । राष्ट्रिय स्तरको सगरमाथा संवादका विभिन्न सत्रमा हुने छलफलको विषयको टुङ्गो लागेको छ । नेपालले विश्वको ध्यानाकर्षण गर्दै आगामी चैतमा विश्वस्तरीय सगरमाथा संवाद आयोजना गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय स्तरको यो संवाद सफल तुल्याउन अभ्यासस्वरूप राष्ट्रिय संवादको तयारी भइरहेको हो ।
काठमाडौँमा आयोजना हुने राष्ट्रिय संवादले अन्तर्राष्ट्रिय संवादलाई मार्गनिर्देशन गर्न सघाउ पु¥याउने सगरमाथा संवाद सचिवालयका संयोजक कुमारराज खरेलले जानकारी दिनुभयो । “विश्वस्तरीय सगरमाथा संवादमा जो जो विज्ञले भाग लिनुहुन्छ, उहाँले आफ्ना धारणा राख्दा नेपालको जलवायु परिवर्तनको विषयमा हालको अवस्था के छ भन्नेमा खारिएको निष्कर्ष निकाल्ने काम राष्ट्रिय संवादले गर्ने छ”, खरेलले थप्नुभयो, “नेपालको तर्फबाट विश्वमाझ पस्कने साझा अवधारणा र खाका विकास गर्न मद्दत पु¥याउँछ । ” उहाँका अनुसार एउटा फराकिलो सहभागिता र नेपालमा यस खालको योजना बन्दै छ भन्ने सचेतना जगाउन पनि यस संवादले भूमिका खेल्ने छ । राष्ट्रिय संवादमा झन्डै तीन सय सहभागी हुने अनुमान छ ।
त्यसअघि पोखरामा एउटा क्षेत्रीय स्तरको छलफल भइसकेको सगरमाथा संवाद सचिवालयले जनाएको छ । अर्को क्षेत्रीय छलफल जनकपुरमा गर्ने तयारी भइरहेको सचिवालयका सञ्चार संयोजक किरण चापागार्इंले जानकारी दिनुभयो ।
मङ्गलबार सचिवालयमा व्यस्त उहाँलगायत कर्मचारीले राष्ट्रिय संवादका विषय र विज्ञबारे थप गृहकार्य गरिरहनुभएको थियो । “आउँदो फेब्रुअरी ९ मा राष्ट्रिय संवाद हुँदै छ । त्यसैको तयारी गरिरहेका छौँ”, चापागार्इंले थप्नुभयो, “विज्ञ को को आउने, कसलाई निम्ता गयो, त्यसैको लेखाजोखा भइरहेको छ । ”
उहाँका अनुसार राष्ट्रिय संवादका लागि विभिन्न पाँचवटा सत्रका विषय टुङ्गो लागेका छन् । पहिलो सत्रमा अनुकूलन, सहजपन र जीविका शीर्षकमा छलफल हुने छ । यस सत्रमा खाद्य तथा जल सुरक्षा र जलवायु परिवर्तनले ल्याउने विपत्तिबारे बहस गरिने छ । त्यस्तै दोस्रो सत्रमा हरित अर्थ व्यवस्था र ऊर्जा शीर्षकमा छलफल हुने छ । यसमा जनताका लागि आवश्यक नीति, समृद्धि र विविध क्षेत्रका बारेमा छलफल गरिने छ । तेस्रो सत्रमा भने परिवर्तनकारी समाधानहरू शीर्षकमा विशेष बहस हुने छ । यसअन्तर्गत प्रविधिमा लगानी र आविष्कार तथा प्राकृतिक पद्धतिमा आधारित समाधान एवं परम्परागत ज्ञानको चर्चा गरिने छ ।
चौथो सत्रमा प्रकृतिसँग बाँच्नका लागि सद्भाव शीर्षकमा नागरिक संवाद आयोजना गरिने छ । त्यस सत्रमा हरित अर्थ व्यवस्थाका लागि सहर र समुदाय तथा दिगो भविष्यका लागि व्यक्तिगत कार्य उपशीर्षक राखेर छलफल गर्ने तयारी भइरहेको छ । पाँचाँै सत्रमा विश्वव्यापी साझेदारी र क्षेत्रीय सहयोग शीर्षकमा बहस हुने छ । यसअन्तर्गत उच्च पर्वतीय भूभागलाई साना टापु राष्ट्रसँग जोड्दै जलवायु न्याय र महिला एवं युवाको त्यसमा भूमिकाको खोजी गरिने जनाइएको छ ।
राष्ट्रिय संवादमा एउटा छुट्टै पूर्ण सत्रको समेत आयोजना गरिने छ; जसमा १.५ डिग्री सेल्सियस तापक्रमको महŒवाकाङ्क्षा हिमालका लागि तत्काल कार्ययोजना र मानवीयताको भविष्यका लागि मार्गनिर्देशन सम्बन्धी जल्दोबल्दो विषयमा बहस गरिने तय भएको छ ।
परराष्ट्र मन्त्रालय मातहत सञ्चालन हुने सगरमाथा संवादको अन्तर्राष्ट्रिय संस्करणको तयारीस्वरूप राष्ट्रिय संवाद आयोजना हुन लागेको सचिवालयमा संयोजक तथा मन्त्रालयका सहसचिव कुमारराज खरेलले स्पष्ट पार्नुभयो । यसका लागि आयोजक समिति र सञ्चालन समिति, विज्ञ कार्यदल र सचिवालयले संयुक्त प्रयास अघि बढाइरहेको छ । आयोजक समिति र सञ्चालन समितिका संयोजक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहनुभएको छ । विज्ञ कार्यदलको संयोजकत्व भने राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले गर्नुभएको छ ।
विभिन्न सत्रमा सहभागी हुनुहुने विज्ञको छनोट प्रक्रिया यही कार्यदलमार्फत चलिरहेको छ । यसका लागि १६० भन्दा बढी विज्ञलाई पत्र पठाइएको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवीयताको भविष्य’ शीर्षकमा आउँदो चैत २०, २१ र २२ गते विश्वस्तरीय सगरमाथा संवाद आयोजना हुने छ । जलवायु परिवर्तन र यसको असरमा परेका नेपालजस्तो पर्वतीय देश र साना टापु राष्ट्रले एकै डोरीमा उनिँदै असर न्यूनीकरण र अनुकूलनका उपायको खोजी गर्ने छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?