दीपक श्रेष्ठ
ऋषिङ (तनहुँ), माघ २२ गते । चालीस वर्षअघि हेमबहादुर झेडीमगर ३१ वर्षका हुनुहुन्थ्यो । सानै थिए छोराछोरी । गाउँले साथीभाइ धेरैजसो लाहुरतिरै थिए । कोही साथी पोखरा थिए त कोही तराईका जङ्गल फाँड्न झरेका थिए । साथीभाइले हेमबहादुरलाई पनि उक्साउँथे, कति दुःख बेसाउने हो गाउँमा ? खै किन हो, हेमबहादुर गाउँमै रमाउनुभयो ।
हेमबहादुरले सोच्नुभयो, गाउँमै केही नगरी भएन । त्यसपछि दमौली झर्नुभएका हेमबहादुरले एक हजार मिटर जति पाइप खरिद गर्नुभयो । भारी कसेर लाग्नुभयो उकालो । जसोतसो पाइप जोडजाड गरेर बारी कान्लामा पानी झारिछाड्नुभयो । त्यसपछिका दिनमा तरकारी र फलफूल खेतीमा दैनिकी बिताउँदै आउनुभएका हेमबहादुर माघ १९ गते ऋषिङ गाउँपालिका भवन कोटदरबारअगाडि काउली जोख्दै भेटिनुभयो । किलोको ७० रुपियाँमा काउली बेच्दै गर्दा भेटिनुभएका हेमबहादुरले भन्नुभयो, “के गर्ने हजुर, यस्तै कर्म जानियो, दुःखिया काम । ”
गाउँपालिकामा कामविशेषले आउने सेवाग्राही र कर्मचारीले हारालुछ गरी हेमबहादुरको तरकारी खरिद गरे । एकैछिनमा डोको रित्तियो । हेमबहादुर गफिन रुचाउनुभयो । “माछा पनि पालेको छु हजुर”, उहाँले थप्नुभयो, “सानो पोखरी छ, ग्रासकार्प र कमनकार्प राखेको छु । १५ वर्ष भयो । गाउँमै बिक्छ माछा । किलोको चार सय रुपियाँमा बेच्छु । ”
उहाँको घरमा १५ घार माहुरी पनि छ । दुई घार बसाइँ हिँडेको दुःखेसो गर्दै भन्नुभयो, “के मिलेन खै ? मह निकालेको भोलिपल्टै बसाइँ उड्यो । ” उहाँले गत वर्ष खैरेनीटार पु¥याएर ८० हजार रुपियाँको मह बेचेको कथा पनि सुनाउनुभयो । ठिक्क कदका हेमबहादुरको मुजा परेको मुहार खुलेको थियो । उहाँले हँसिलो पाराले भन्नुभयो, “मह बेचेर ८० हजार रुपियाँको मुठो आएपछि एक तोलाको औँठी किनेर लगाएँ । ”
उहाँको तरकारी बजार गाउँ नै हो । कोटदरबारकै नालथोक बजार र कहिलेकाहीँ चालीसे बाँपुसम्म डोकोमा तरकारी बेच्न लैजानुहुन्छ । हस्यौली पारामा हेमबहादुर भन्नुहुन्छ, “अरू बेला घरघरै घुमाएर बेच्छु हजुर, घुम्ती तरकारी पसल । ”
ऋषिङ गाउँपालिका–६ को काफलडाँडाका हेमबहादुरका पाँच छोरी सबैको घरबार भइसक्यो । जेठो छोरो विदेश, कान्छो स्थानीय विद्यालयमा नौ कक्षा पढ्दै छन् । विदेशबाट फर्केर गाउँमै फलफूल र तरकारी खेती गर्छु भनेर छोराले ढाडस दिएकाले खेती धानिएला भन्ने विश्वास पलाएको छ, हेमबहादुरलाई । उहाँले भन्नुभयो, “अब धेरै काम गर्न सकिन्न, छोराले साथ दिए खेती अझै बढाउँछु । ”
रेखोपाखो गरी ७० रोपनी जति जग्गा छ उहाँको । चार रोपनी जतिमा १२० बोट सुन्तला लगाउनुभएको छ । सबै जग्गामा खेती लगाउन भ्याउनुभएको छैन । घरव्यवहारबारे झेडीमगरले भन्नुभयो, “घरमा काम गर्ने जन नहुँदा एउटा राखेर चारवटा भैँसी बेचेँ । दुई हल गोरु छन् । सानाठूला गरी १५ वटाजति बाख्रा छन् । दुई बूढाबूढीले धान्या छौँ । ”
गाउँको उत्साही किसानका रूपमा फलफूल र तरकारी खेतीसम्बन्धी तालिममा उहाँलाई धेरै ठाउँबाट बोलावट भइरहन्छ । आफ्नो खेतीमा स्थानीय सरकारबाट हेमबहादुरले केही अपेक्षासमेत गरेर गाउँपालिकामा निवेदन दिनुभएको थियो । निवेदन के भयो, उहाँले थाहा पाउनुभएको छैन । घरतिर लाग्ने तयारीसाथ डोकोमा नाम्लो मिलाउँदै हेमबहादुरले भन्नुभयो, “सरकारले दिन्छ रे भनेर निवेदन हालेको, देलान् नि !”