logo
२०८१ बैशाख १५ शनिवार



अत्यावश्यक शल्यक्रिया मात्र गर्न निर्देशन

राष्ट्रिय |


अत्यावश्यक शल्यक्रिया मात्र गर्न निर्देशन



सरोज ढुङ्गेल

काठमाडौं, चैत ८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले कोरोना भाइरस (कोभिड–१९)को उच्च सतर्कता अपनाउनका लागि उपत्यकाका ५० शøया र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवा बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मन्त्रिस्तरीय बैठकले कोरोना भाइरस समुदायमा छ छैन भन्ने अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार नमुना परीक्षणका लागि तयारी अवस्थामा राख्ने निर्णयसमेत गरेको छ ।

चीनसमक्ष अनुरोध
सरकारले बाह्य सहयोगका लागि पनि सक्रियता बढाएको छ । प्रवक्ता देवकोटाका अनुसार स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीकोे सूची तयार पारी उक्त सामाग्री उपलब्ध गराउन चिनियाँ राजदूतावासलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले कोभिड–१९ को शङ्का भएका, वृद्धवृद्धा भएका व्यक्ति तथा अन्य रोगबाट प्रताडित, जोखिममा रहेका बिरामी र सम्भावित सङ्क्रमणको आशङ्का लागेकालाई पहिलो प्राथमिकतामा राखी नमुना परीक्षण गराउन पनि निर्देशन दिएको छ । कोरोना भाइरसको शङ्कास्पद व्यक्तिको परीक्षणका लागि नमुना सङ्कलन गर्ने, अन्य प्रयोगशालामा नमुना पठाउँदा पु¥याउनुपर्ने विधिलगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालले प्रयोगशालासँग सम्बन्धित एक जना सम्पर्क व्यक्ति तोकी उक्त व्यक्तिको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनसमेत अस्पताललाई निर्देशन दिएको छ । कोरोना भाइरसको नमुना परीक्षण गर्नयोग्य ठहरिएका वीर, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्नसमेत निर्देशन दिने निर्णय गरिएको छ ।

फिबर क्लिनिकको अनुगमन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि सयभन्दा बढी शøया भएका अस्पताललाई ज्वरो क्लिनिक (फिबर क्लिनिक) सञ्चालन गर्न दिएको निर्देशनसमेत अनुगमन गर्ने भएको छ । मन्त्रालयले कुनै अस्पतालमा कोरोना शङ्कास्पद बिरामी आएमा तत्काल अन्य अस्पताल रिफर नगरी आफ्नै अस्पतालमा आइसोलेसनमा राखी उपचार गर्ने र परीक्षणका लागि नमुना सङ्कलन गर्ने तथा नमुना ‘पोजिटिभ’ आएमा अन्यलाई नसर्ने व्यवस्था मिलाई तोकिएको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
कोरोना भाइरसको शङ्का लागि अस्पतालमा आइसोलेसनमा राखिएका बिरामी तथा निजका आफन्तले आइसोलेसनमा नराख्न तथा तत्काल घर पठाउन अस्पताल प्रशासन तथा सम्बन्धित चिकित्सकलाई दबाब दिने हुँदा उक्त अस्पतालमा सुरक्षा चुनौती हुनसक्ने भएकाले त्यस्तो अस्पतालमा सुरक्षाको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई अनुरोधसमेत गरेको छ ।
बिदा बस्न नपाइने
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका सहसचिव तथा विभागीय प्रमुख बिदामा बस्न नपाउने भएका छन् । मन्त्रालयले कोरोना भाइरस रोग नियन्त्रण व्यवस्थापनमा खटिनुपर्ने भएकाले सहसचिव र विभागीय प्रमुखलाई बिदा नबस्न निर्देशन दिएको हो । यसैगरी उपसचिव र अधिकृतस्तरका कर्मचारीहरूलाई काठमाडौँ उपत्यका नछाड्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
यसैबीच नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवा प्रवाह गर्दा पहिलो सम्पर्कमा स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम तथा क्षमता अभिवृद्धि गर्न माग गरेको छ ।

तालिम उपलब्ध गराउन माग
सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मापदण्डअनुसार कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिहरूको उपचारमा अपनाउनुपर्ने वैज्ञानिक विधिसहितको तालिम यथाशीघ्र उपलब्ध गराएर मात्र काममा खटाउन आग्रह गरेको छ । स्वास्थ्यकर्मी तथा चिकित्सकको स्वास्थ्य सुरक्षाका औजार, उपकरण तथा सङ्क्रमणबाट जोगिन सक्ने सामग्रीको सहज उपलब्धता यथाशीघ्र गराई सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण सुनिश्चित गर्नसमेत माग गरिएको छ ।
देशभरका अस्पताल वा स्वास्थ्य संस्थामा आकस्मिक शल्यक्रिया र आकस्मिक सेवा चाहिनेबाहेकका बिरामीलाई क्रमिक रूपमा कम गर्दै अस्पतालमा भीड कम गर्न तथा घुम्ती क्लिनिक, स्वास्थ्य शिविरसमेत नचलाई स्वास्थ्यकर्मी तथा चिकित्सकले सुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको छ ।

अस्पतालमा चाप कम
कोरोनाको त्रास बढेसँंगै अस्पतालमा बिरामी कम आउन थालेका छन् । उपत्यकाका वीर, शिक्षण, कान्ति, पाटनलगायतका अस्पतालमा कोरोना भाइरसका कारण बिरामी अत्यन्त न्यून मात्रामा आउन थालेका हुन् । वीर अस्पतालमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म बिरामी आउने गरेकामा शुक्रबार एक हजार पनि बिरामी आएका थिएनन् ।
अस्पतालहरूले पनि सूचना प्रकाशित गर्दै अत्यावश्यकबाहेक अन्य बिरामीलाई अस्पतालमा नआउन आग्रह गरेको छ । नियमित औषधि सेवन गरिरहेका बिरामीहरूले पनि फोनमार्फत बुझेर औषधि सेवन गर्न आग्रह गरिएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अस्पतालमा बिरामीको चाप अत्यन्त कम भएको बताउनुभयो । उहाँले ज्वरो र रुखाखोकी लागेका बिरामीलाई छुट्टै व्यवस्था गरी उपचार सुरु गर्न थालिएको
जानकारी दिनुभयो ।
कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले अस्पतालमा १० शøयाको आइसोलेसन वार्ड सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले छ वर्षीय र तीन वर्षीय दुई बच्चालाई कोरोना आशङ्का गरेर टेकु पठाएकामा हालसम्म रिपोर्ट नआइसकेको जानकारी दिनुभयो ।

अत्यावश्यक शल्यक्रिया गरिने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्गाले सूचना प्रकाशित गरेर आकस्मिक बाहेकका कुनै पनि सर्जरी नगर्ने निर्णय गरेको जानकारी दिँदै आकस्मिक तथा अत्यावश्यक शल्यक्रिया मात्र गरिने बताउनुभयो । उहाँले अस्पतालमा आउने बिरामीका सङ्ख्या तथा अस्पतालमा आउँदा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अत्यावश्यक सेवा मात्र दिने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैबीच कोरोना सङ्क्रमण हुन नदिन सरकारले काठमाडौँ उपत्यकाका अस्पतालमा ज्वरो आएका बिरामी र अन्य बिरामीलाई छुट्टाछुट्टै बहिरङ्गमा उपचार गर्न निर्देशन दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?