logo
२०८१ बैशाख १३ बिहीवार



कोरोना अस्पताल तय

राष्ट्रिय |


कोरोना अस्पताल तय


सरोज ढुङ्गेल

काठमाडौँ, चैत २५ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरोनाको बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्ण रूपमा कोरोनाकै उपचारका लागि प्रयोग गरिने बताउनुभएको छ
कोरोना उपचारको तयारीबारे विभिन्न छवटा अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग सोमबार मन्त्रालयमा जानकारी लिएर निर्देशन दिने क्रममा मन्त्री ढकालले यस्तो धारणा राख्नु भएको हो ।
मन्त्री ढकालले टेकु, पाटन र सशस्त्र प्रहरीको अस्पताल पूर्ण रूपमा कोरोनाका लागि उपचार सुरु गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउने जानकारी दिनुभयो । उहाँले सबै मिलेर काम गर्दा मात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोनाविरुद्धको लडाइँमा पनि सामूहिक रूपमै काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले जस्तोसुकै चुनौती पनि सामूहिकताको माध्यमबाट सामना गर्न सकिने भएकाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै काम अघि बढाउनुपर्ने बताउनुभयो ।
मन्त्री ढकालले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन दिनुभयो । कोरोना उपचारका लागि तयार गरिएका अस्पतालहरूको तयारीका बारेमा अनुगमन टोलीको तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अस्पतालहरूको अवस्थाको जानकारी दिनुभएको थियो ।

नौ स्थानमा कोरोना परीक्षण
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाबाहिर नौ स्थानबाट कोरोना भाइरसको परीक्षण सुरु गरेको छ । सोमबार मात्र मन्त्रालयले धुलिखेल, भरतपुर र भैरहवाबाट कोरोना परीक्षण गर्न सुरु गरेको छ । यसबाहेक सातवटा प्रदेशमा सरकारले कोरोना परीक्षण सुरु गरिसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारले परीक्षणको दायरालाई बढाउँदै लगेको जानकारी दिनुभयो ।
उहाँले हालसम्म एक हजार ६९७ जनाको कोरोना परीक्षण गरिसकिएको जानकारी दिँदै नौ जनामा मात्र कोरोना पोजेटिभ देखिएको बताउनुभयो । प्रवक्ता देवकोटाले उपत्यकाभित्र १२ र बाहिर ८५ जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिँदै पोजेटिभ देखिएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको बताउनुभयो ।
प्रवक्ता देवकोटाले पछिल्लो दुई दिनमा नेपालमा थप व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँले पछिल्लो ४८ घन्टामा गरिएका नमुना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?