logo
२०८१ माघ १४ सोमवार

 त्रिवि चिकित्सक कुटपिट प्रकरण 



छानविन समिति गठन, प्रनाउलाई जिम्मेवारीबाट हटाइयो

राष्ट्रिय |


छानविन समिति गठन, प्रनाउलाई जिम्मेवारीबाट हटाइयो
फाइल तस्विर


काठमाडौँ, वैशाख ४ गते । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

गएराति चिकित्सकत्रय शम्भू खनाल तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त घटनाका आरोपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणलाई न्यूनीकरण गरी नागरिकको जीवन रक्षार्थ अग्रपङ्त्तिमा खटिएका चिकित्सकको उच्च सम्मान रहेको महानगरीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यालयले कार्यस्थलमा खटिने प्रहरी कर्मचारीबाट पेशाकर्मी तथा आमनागरिकप्रति गरिने व्यवहारमा कहीँकतै कमजोरी हुन नदिने तथा स्वास्थ्यकर्मीको सुरक्षा र आवागमनमा विशेष संवेदनशील रहने प्रतिबद्धता जनाएको छ ।

उक्त घटनाका विषयमा नेपाल चिकित्सक सङ्घलगायत चिकित्सा पेशासँग सम्बन्धित विभिन्न संस्थाले समेत गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?