logo
२०८१ बैशाख २० बिहीवार



कृषि उत्पादन आपूर्ति सुधार्न किसान तथा व्यवसायीको आग्रह

राष्ट्रिय |


कृषि उत्पादन आपूर्ति सुधार्न किसान तथा व्यवसायीको आग्रह


सीता शर्मा

काठमाडौँ, जेठ २३ गते । देशमा साढे दुई महिनादेखि गरिएको बन्दाबन्दीको सबैभन्दा बढी मारमा किसान परेका छन् । तरकारी बिक्री गरेर कमाउने बेलामा तरकारीले बजार नपाउँदा बारीमै सडाउनुपर्ने अवस्थाबाट अहिले किसान गुज्रिएका छन् । कतिपय स्थानीय सरकारले एक स्थानीय तहको तरकारी अर्को स्थानीय तहले भित्र्याउन निषेध मात्रै गरेनन् तरकारी नै नष्ट गर्ने कामसमेत गरे । यस्ता गतिविधिले किसानलाई कृषिप्रतिको वितृष्णा जगाएको छ । यस्तैमध्येका हुनुहुन्छ, तरकारीको पकेट क्षेत्र मानिने काभ्रे पाँचखालका स्थानीय तरकारी उत्पादनक किसान माधव तिम्लिसिना । उहाँको यस क्षेत्रमा लागेको झन्डै डेढ दशकको अनुभवमा तरकारी उत्पादन गरेर बजारै नपाएर बारीमै तरकारी सडाउनु परेको पहिलोपटक हो । किसान तिम्लिसिनाले यसअघि तरकारीमा रोग कीरा लाग्ने, मौसमले साथ नदिनेजस्ता धेरै समस्या भोगे पनि अहिलेजस्तो बजार नपाएर बारीमै सडाउनुपर्ने अवस्था नआएको अनुभव सुनाउनुभयो । अघिल्लो वर्ष यही बेलामा झन्डै १२ लाख रुपियाँको तरकारी बिक्री गर्नुभएका उहाँले अहिले १२ हजारको तरकारी पनि बिक्री गर्न नसकेको दुःखेसो गर्नुभयो । “धेरै तरकारी बारीबाटै उठ्दैन । उठेको तरकारीको पनि मूल्य छैन,” तिम्लिसिनाले भन्नुभयो, “पहिले क्यारेटको दुई हजार रुपियाँसम्म लिएको गोलभेँडाको भाउ अहिले क्यारेटको मुस्किलले २०० रुपियाँ पाउन पनि गाह्रो छ ।
धादिङबेँसीका तरकारी किसान वेदप्रसाद क्षेत्रीको त अब तरकारीमा लगानी गर्ने जाँगर नै मरिसकेको छ । एक दशकदेखि झन्डै एक सय रोपनीमा तरकारी उत्पादन गरेर काठमाडौँलाई मुख्य बजार बनाउँदै आउनुभएका उहाँले भन्नुभयो, “लाखौँ खर्च गरेर उत्पादन गरेको तरकारी बारीमै सडाउनुपर्दाको पीडा अहिले अधिकांश किसानले भोगेका छौँ, यो पीडाले किसानलाई अहिले न निद्रा न भोक बनाएको छ ।” राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष नवराज बस्नेतले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा एक ठाउँबाट अर्को ठाउँ, जिल्ला वा पालिकामा तरकारी आपूर्तिको समस्या भएको बताउनुभयो । नेपाली किसानबाट उत्पादित तरकारीलाई सहज रूपमा बजारमा पु¥याउने र बजारीकरण गर्ने व्यवस्थित मेकानिजम नबन्दा र यस विषयमा सरकार जिम्मेवार निकाय बेखबर बन्दा यसमा लगानी गरेका किसानले ठूलो क्षति भोग्नु परेको आक्रोश व्यक्त गर्नुभयो । कालीमाटी तरकारी तथा फलफूल बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बाहिरबाट बढी तरकारी आएर नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्नेमा १ प्रतिशत पनि सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “कालीमाटी बजारका कुरा गर्ने हो भने पछिल्लोपटक कागती, प्याज, लसुनबाहेक अन्य तरकारी बजारमा आएकै छैन । ”
अघिल्ला वर्षमा कालीमाटी बजारबाट यो बेलामा एक हजार मेट्रिक टन तरकारी खपत हुने गरेकामा अहिले घटेर औसतमा ५०० मेट्रिक टनमा झरेको छ, त्यसैले पनि विगतको तुलनामा तरकारीको भाउमा असर परेको उहाँको भनाइ छ ।कालीमाटीका थोक व्यापारीसमेत रहनुभएका आचार्यले कोरोनाको जोखिमका कारण गरिएको लकडाउनले काठमाडौँमा बढी तरकारी खपत हुने सानादेखि ठूलो होटेल, क्यान्टिन, छात्रावास, पार्टी प्यालेसलगायतका क्षेत्र बन्द भएको र ठूलो सङ्ख्यामा जनसङ्ख्या उपत्यकाबाहिर गएकाले तरकारी माग घट्दा किसान मात्रै होइन व्यापारीलाई पनि असर परेको बताउनुभयो । किसानबाट लाखौँ रुपियाँ तिरेर खरिद गरेका ट्रकका ट्रक तरकारी सस्तोमा दिँदा पनि बिक्री नहुँदा दिनहुँ फाल्नु परेको उहाँले गुनासो गर्नुभयो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटीमा हाल दैनिक औसतमा भित्रिएको ५०० मेट्रिक टन तरकारीमध्ये अधिकांश स्थानीय उत्पादन नै रहेको बताउनुभयो । उहाँका अनुसार बजारमा हाल देशबाहिरबाट २२ प्रतिशत तरकारी आएको छ, त्यसमा पनि अधिकांश प्याज, कागती र लसुन रहेको छ । अन्य हरियो तरकारी खासै आएको छैन ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा लकडाउन ७१औँ दिनसम्म देशका विभिन्न भन्सार हुँदै देशबाहिरबाट ८५ हजार २५३ मेट्रिक टन तरकारी र ३४ हजार २४३ मेट्रिक टन फलफूल आयात भएको छ । आपूर्तिमन्त्री लेखराज भट्टले भारतीय तरकारी बढी आपूर्ति हुँदा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर फाल्नुपर्ने अवस्था आएको भन्ने कुरामा पटक्कै सत्यता नभएको बताउनुभयो । मन्त्री भट्टले भन्नुभयो, “हामीले सकेसम्म स्वदेशकै उत्पादनलाई प्राथमिकता दिनुपर्छ भनेर स्थानीय सरकार र तरकारी किसानका सहकारीसँग समन्वय गरेर हाल स्थानीय उत्पादनको ‘सप्लाइ चेन’ बनाएर नेपाली किसानबाट उत्पादित तरकारी बजार ल्याउने व्यवस्था गरेका छौँ ।”
एकाध ठाउँमा त्यस्ता समस्या देखिए पनि सबैतिर यो अवस्था नभएको दाबी गर्दै मन्त्री भट्टले भन्नुभयो, “भारतीय उत्पादन बढी आएर नेपाली किसानको उत्पादनले बजार नपाउने अवस्था आउन दिनु हुँदैन तर नेपाली उत्पादनले बजारको माग नधानेपछि त आयात पनि गर्नुप¥यो, अहिले हामीले नपुगेको मात्रै आयात गरिरहेका छौँ ।”
कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले सरकारका अन्तरसम्बन्धित निकायबीच समन्वय नहुँदा नेपाली किसानले उत्पादन गरेका उत्पादनको बजारीकरण गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “एकातिर समन्वय गर्न सकिएन, अर्कोतिर हाम्रा किसानले उत्पादन गरेका उत्पादनलाई बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धी बनाउन सकिएको छैन, त्यसैले पनि किसानको तरकारी बारीमै सडाउनुपर्ने अवस्था आयो ।”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?