logo
२०८१ श्रावण १२ शनिवार



‘अद्यावधिक नक्सा स्थायी’

राष्ट्रिय |


‘अद्यावधिक नक्सा स्थायी’
फाइल तस्बिर


चाँदनी हमाल

काठमाडौँ, जेठ ३१ गते । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारद्वारा हालै जारी गरिएको अद्यावधिक नक्सा स्थायी भएको बताउनुभएको छ । भारतीय मिडिया आजतकलाई शुक्रबार दिनुभएको अन्तर्वार्तामा उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको यो नक्सा परिवर्तन नहुने प्रस्ट पार्नुभयो ।
उहाँले नेपालको नक्सा अद्यावधिकले भारतसँग हुने वार्तामा कुनै पनि असर नपार्ने प्रतिक्रिया दिनुभयो । जति सक्दो चाँडो कुनै पनि पूर्वाग्रहबिना समस्याको समाधान गर्न सकियो त्यति नै छिटो सम्बन्ध अझ सुमधुर भएर अगाडि बढ्ने उहाँले बताउनुभयो । नक्सा तत्काल अद्यावधिक गर्ने विषय भारतकै कारण आएको दाबी उहाँले गर्नुभयो । “जब भारतले २ नोभेम्बर २०१९ मा जम्मु काश्मीरलाई पुनव्र्यवस्थित गरेर नक्सा परिवर्तन ग¥यो ।
हामीले सीमा विवादका बारेमा नयाँदिल्लीसँग धेरै पटक कुरा गर्ने प्रयास गरेका थियौँ तर त्यहाँबाट कुनै प्रतिक्रिया आएको छैन । त्यसपछि नेपालका सबै राजनीतिक दलले संयुक्त रूपमा नक्सा परिवर्तन गर्न जोड दियो । अब यो पुनः परिवर्तन गर्न सकिँदैन”, मन्त्री ज्ञवालीले स्पष्ट पार्नुुभयो ।
नेपालको अद्यावधिक नक्सामा नेपालका आफ्ना क्षेत्रहरू सही रूपमा वर्णन गरिएको जानकारी उहाँले दिनुभयो । भारतसँगको विवादका विषयमा भने भारतसँग औपचारिक वार्ता आवश्यक रहेको जिकिर उहाँले गर्नुभयो । स्वतन्त्र सार्वभौम मुलुकले गरेको राष्ट्रहितको निर्णयको भारतीय पक्षले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपालले स्वतन्त्र निर्णय लिएको र राष्ट्रिय हितको पक्षमा निर्णय गर्नु कसैको विरोध गर्नु नभएको समेत प्रस्ट्याउनुभयो ।
“भारतसँग दुईपटक वार्ता गर्न हामीले पहल गरेका छौँ तर हाम्रो पत्रमा भारतबाट कुनै प्रतिक्रिया आएको छैन’’, उहाँले भन्नुुभयो । चीनले नेपाललाई उक्साइरहेको भन्ने टिप्पणीअन्तर्गत सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले स्वतन्त्र रूपमा नेपालले लिएको निर्णयमा नेपालीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सुझाव दिनुभयो । “नेपाल मात्रै दक्षिण एसियामा एक यस्तो राष्ट्र हो जो कहिल्यै पनि कसैको उपनिवेशमा रहेको छैन् । त्यसकारण नेपाल आफैँ कुनै निर्णय लिन सक्दैन भन्ने औपनिवेशिक मानसिकता पनि परिवर्तन गर्न‘पर्छ,” उहाँले भन्नुभयो ।
नेपाल–भारत सीमा समस्या समाधान गर्न नेपालले पठाएको कूटनीतिक नोटको औपचारिक जवाफ भारतले दिएको छैन् । तथापि भारतीय विदेश मन्त्रालयमार्फत भारत नेपालसँगको सुमधुर सम्बन्ध चाहने भनेको छ । बिहीबार मात्र मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकारको जवाफमा भारतले नेपालसँगको मैत्री सम्बन्धलाई ठूलो मूल्यवान् सम्झेको उल्लेख गर्नुभयो । नेपालले दुई देशबीचको सांस्कृतिक र मैत्री सम्बन्धको ख्याल राख्छ भनेर उहाँले घुमाउरो तरिकाले नेपाललाई गरेको अन्य सहयोगका विषय जोड्नुभएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?