logo
२०८१ बैशाख २२ शनिवार



काँग्रेस सभापतिका लागि आकाङ्क्षी बढ्दै

राष्ट्रिय |


काँग्रेस सभापतिका लागि आकाङ्क्षी बढ्दै


नारद गौतम

काठमाडौँ, साउन ३१ गते । नेपाली काँग्रेसको आगामी फागुनमा हुने १४औँं महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकाङ्क्षी सतहमा आउन थालेका छन् । कतिपय नेता साँच्चिकै निर्वाचनको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् भने केही नेता चर्चामा
आउन पनि सभापतिको उम्मेदवारको दाबी प्रस्तुत गर्दैछन् ।
स्वाभाविक प्रतिस्पर्धी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल देखिनुभएको छ । उहाँहरू १३औँ महाधिवेशनका मुख्य प्रतिस्पर्धी हुुनुुहुुन्छ । त्यस्तै सभापतिका अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौलाले १४औँ महाधिवेशनमा पनि निरन्तरता दिने सम्भावना छ । त्यसैले १३औँ महाधिवेशनकै तीन प्रतिस्पर्धा अहिले सभापति बन्ने दौडमा लाग्नु अनौठो नभएको काँग्रेसभित्र विश्लेषण छ ।
पछिल्लो पुस्ताको हिसाबले १४औँ महाधिवेशनमा सभापति पदको चर्चामा रहेका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम अग्र पङ्क्तिमा छ । उहाँहरू दुवै नेताको पारिवारिक इतिहास गौरवपूर्ण छ । उपसभापति विमलेन्द्र निधि तत्कालीन काँग्रेस महामन्त्री महेन्द्रनारायण निधिका छोरा हुनुहुन्छ । उहाँले पार्टीका
विभिन्न पदमा बसेर नेतृत्व प्रदान गरिसक्नुभएको छ ।
अर्कातिर प्रकाशमान सिंह पूर्वमहामन्त्री हुुनुहुन्छ । छयालीस सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह र महिला नेत्री मङ्गलादेवी सिंहका छोरा हुनुहुन्छ । उहाँले आफू पार्टी सभापतिको दाबेदार भएको बताउँदै आउनुुभएको छ ।
बीपी पुत्र एवं वर्तमान काँग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले त शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न सक्ने एकमात्र उम्मेदवार आफू भएको दाबी गर्दै आउनुभएको छ । कोइराला परिवारका नेतात्रय डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला र सुजाता कोइरालामध्ये एक जनाले सभापतिको उम्मेदवारी दिन सक्ने विश्लेषण छ ।
काँग्रेसमा सभापति उठ्नेहरूको उच्च चर्चासँगै विधिमा पनि प्रश्न उठेकोे छ । काँग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको विश्लेषण छ, “शेरबहादुर देउवाले अहिले आएर विभागहरू गठन गर्नुको मुख्य कारण नै आफ्नो पक्षमा महाधिवेशनको परिणाम ल्याउने चाल हो । महासमितिले पारित गरेको विधानलाई बेवास्ता गर्दै २८ वटा विभाग थप्नुको अरू कारण केही छैन । ”
हालको संस्थापन पक्षबाट सभापति देउवालाई चुनौती दिने सभापतिको उम्मेदवार विमलेन्द्र निधि नै भएको संस्थापन पक्षकै उच्च तहमा चर्चा गरिन थालिएको छ । स्रोतका अनुुसार अघिल्लो महाधिवेशनमै देउवाले १४औँ महाधिवेशनमा सभापति बनाउने आश्वासन निधिलाई दिएकै कारण निधिले कदम चाल्नुहुनेछ ।
देउवाइतर पक्षमै सभापतिका उम्मेदवारको सङ्ख्या बढी छ । डा. रिजाल भन्नुहुन्छ, “शेरबहादुर देउवा र निधिबाहेक नै पौडेल समूहमा सभापतिको उम्मेदवारका आकाङ्क्षी धेरै छन्; जसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशाङ्क कोइराला र डा. शेखर कोइराला हुनुुहुन्छ । ”
अर्को पक्षमा धेरै उम्मेदवार भएपछि सभापति देउवालाई अब आउने महाधिवेशन जित्न त हाइसन्चो हुने भयो होइन भनी राखिएको जिज्ञासमा पूर्वमन्त्री डा. रिजालको तर्क छ, “जति बढी देउवाको थिचोमिचो बढ्छ, त्यति नै अर्को पक्षलाई एक हुन तीव्र दबाब पर्छ । ”
पौडेल समूहलाई एकल उम्मेदवार चयन गर्न त्यति सजिलो छैन । पौडेलको भनाइ छ, “महाधिवेशन सिद्धान्त र विचारको लडाइँ हो, काँग्रेसभित्रको मेरो लडाइँ नै विचार सहितको पार्टीको रूपमा स्थापित गर्नुपर्छ भन्ने हो, विचारको बलमा हामीले काम गर्नुपर्छ, विचार नै प्रमुख हो । ”
सहमतिको संस्कार र आलोचना
पार्टीका विभाग गठन गर्नेदेखि सभापति पदको विरासतका हिसाबले पार्टी सङ्गठनमा सभापति देउवाको स्वाभाविक पकड छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भन्नुुहुन्छ, “विभाग गठनले महाधिवेशन प्रभावित हुुँदैन । सङ्गठनलाई प्रभावकारी बनाउने कार्य सभापतिको हो, महाधिवेशन र विभाग गठन अगल पाटा हुन् । ”
केन्द्रीय सदस्य बहादुरसिंह लामाको टिप्पणी छ, “सहमतिको प्रयास गर्दा सहमतिमा नआउने, बहुमतीय प्रणालीमा पनि जान नमान्ने, ६०–४० को भागबन्डा माग गर्ने तर ४० प्रतिशतका लागि नाम माग्दा कहिल्यै नदिने काम भयो । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?