logo
२०८१ श्रावण ११ शुक्रवार



भूकम्पलगत्तै लिदी असुरक्षित

राष्ट्रिय |


भूकम्पलगत्तै लिदी असुरक्षित


चाँदनी हमाल

काठमाडौँ, भदौ ७ गते । पाँच वर्षअघि २०७२ वैैशाख १२ गते भूकम्प गएलगत्तै सबैभन्दा बढी असर गरेको सिन्धुपाल्चोकमा तत्कालिक भौगोलिक मूल्याङ्कन (¥यापिड जियोलोजिकल एसेस्मेन्ट) गरिएको थियो । त्यस अध्ययनका क्रममा कति ठाउँ बस्न मिल्ने अनि कति ठाउँमा बस्न नमिल्ने तय गरिएको थियो । भूकम्पअघि र पछि राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा जाइकाले समेत सिन्धुपाल्चोकमा पटकपटक भौगर्भिक अध्ययन गरेका थिए ।
भूगर्भविद् शिवकुमार बाँस्कोटाले भूकम्पपछि हिँडेर जान नसकिँदा हामी हेलिकप्टरबाट जहाँ जहाँ उत्रन सकिन्थ्यो उत्रेर अनि पैदल हिँडेर अध्ययन गरेको विगत सम्झनुभयो । त्यस बेलाको अध्ययन अनुसार हाल पहिरो गएर गाउँ पुरिएको स्थान लिदी पनि मानव बस्ती बस्न असुरक्षित
भनिएको थियो ।
बाँस्कोटाका अनुसार त्यहाँ बलेफी खोला बगेतिर फर्किंदा बायाँ किनारमा तलबाट भीर र माथि पनि भीर भएको बीचमा बस्ती छ । गाउँको पश्चिमपट्टि मयुङ खोला छ । त्यस खोला क्षेत्रमा भूकम्प गएकैताका पहिरो निरन्तर झरिरहेको थियो ।
बाँस्कोटाले भौगोलिक बनावट अनुसार लिदी गाउँ तीनतिर पहिरोले घेरेको अवस्था छ भनेर स्पष्ट पार्नुुभयो । गाउँ रहेकै ठाउँमा क्षति नदेखिए पनि गाउँको पश्चिमतिर खेतबारीमा धाँजा फाटेको र जमिन धसिएको
भेटिएको थियो ।
पूर्व र पश्चिम दुवैतर्फ नदीले काटेर गहिरो खोँच बनाएको छ, जसले गर्दा गाउँको तीनतिर ठाडो भीर बनेको छ । ठ्याक्कै गाउँको माथिपट्टि पहरोमा ठूला ढुङ्गा छन् । जसलाई ह्याङ्गिङ बोल्डर भनिन्छ । त्यस्ता ढुङ्गा एक आपसमा छुट्टिएर रहेका छन् । नाइस भन्ने त्यो चट्टान भूकम्पले चिराचिरा पारेको छ । बलौटे ढुङ्गा भएकाले पानी त्यसभित्र बढी गएर बिस्तारै जमिनमा धसिँदैजाँदा लिदीको पहिरो गएको उहाँले अनुमान गर्नुभयो ।
अध्ययनको सिफारिस गर्दै उहाँले भिरालो धेरै भएकाले वर्षायाममा सो भाग खस्न सक्ने र वर्षा याममा त्यहाँ जाने सबै बाटो पहिरोका कारण अवरुद्ध हुनेहुँदा गाउँको पूर्वपट्टिको भागमा बस्न सुरक्षित देखिन्छ भनेर स्पष्ट पार्नुभयो । उहाँले भन्नुभए जस्तै पहिरो डाँडाबाट भासिएर सोहोरिने क्रममा ठूल्ठूला ढुङ्गासमेत बस्तीमाथि खसेका छन् । पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप अध्ययन गरेको थियो । जस अनुसार बस्ती जोखिममा रहेको प्रमाणित गरिएको थियो । सोही अनुसार बस्ती अन्यत्र सार्नुपर्ने कुरा हरेक वर्षायाममा चर्को हुने गरेको थियो । हिउँदमा सुक्खा हुँदा बस्ती सार्नुपर्ने चर्चा सामसुम हुनेगर्छ ।
गाउँको तल रहेको ब्रह्मायणी नदीमा निर्माणाधीन बलेफी ‘ए’ हाइड्रो पावरको सुरुङ बनाउँदा भएका विस्फोटले पनि गाउँ थर्किने गरेको स्थानीय वडा सदस्य विष्णु दोङ बताउनुहुन्छ ।
भूगर्भविद् बाँस्कोटाले सुरुङ विस्फोटकै कारण त्यति ठूलो पहिरो जानेगरी थर्कन
(भाइब्रेसन) नहुने दाबी गर्नुहुन्छ । थोरै असर त पर्छ तर ठूलो पहिरो नजान सक्छ । हाइड्रोपावरले सुरुङ बनाउँदा कत्तिको असर पर्छ भनेर भूकम्पीय तरङ्गसमेत मापन गरेर पूर्वमूल्याङ्न गरेर उपकरण जडान गरी काम गर्छ । जति घर वा बस्तीमा बढी असर पर्ने हो त्यति घर पहिले नै मुआब्जा दिएर हटाउने गरिन्छ । सोही अनुसार केही घर पहिले नै हटाइएको थियो ।
बलेफी खोलाको पारिपट्टिको बोल्डे भन्ने ठूलो गाउँ छ । त्यो पनि पहिरोको अति जोखिममा रहेको गाउँ हो । त्यहाँका धेरै बस्ती बस्न योग्य छैनन् भनेर सिफारिस गरिएको थियो । स्थानीय बासिन्दा वडा सदस्य दोङका अनुसार असार महिनादेखि पहिरो झर्न थालेपछि स्थानीयवासी गाउँदेखि अलिकमाथि अर्को डाँडाको कोदोबारीमा त्रिपालमा रात बिताउँथे । पानी परेका दिन पनि घरमा त्यति बस्दैनथे । पहिरो आएको दिन बिहान घर फर्केर कतिपयले दैनिकी सुरु गर्न पनि भ्याएनन् । साउन २३ गते स्थानीयवासीले त्यस भेगका लाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, बैगानका पाँच सयभन्दा बढी घर सार्न माग गरेका थिए ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?