logo
२०८१ बैशाख १४ शुक्रवार



बढ्यो विदेशी लगानी

राष्ट्रिय |


बढ्यो विदेशी लगानी


विश्वास रेग्मी

काठमाडौँ, भदौ ९ गते । कोभिड–१९ सङ्क्रमणका कारण गत आर्थिक वर्ष २०७६/७७ मा करिब पाँच महिना समग्र अर्थतन्त्र शिथिल बने पनि प्रत्यक्ष विदेशी लगानीमा भने नेपालले सफलता हासिल गरेको छ ।
राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको गत आवको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुुसार नेपालले सो अवधिमा १९ अर्ब ६७ करोड ७५ लाख रुपियाँ प्रत्यक्ष विदेशी लगानी भित्र्याएको छ । जुन आर्थिक वर्ष २०७५÷७६ को तुलनामा १८.२ प्रतिशतले बढी हो । उक्त आवमा नेपालले १६ अर्ब ६४ करोड ६९ लाख रुपियाँको विदेशी लगानी ल्याएको थियो । यस हिसाबले गत आवमा नेपालले थप तीन अर्ब रुपियाँ बढी विदेशी लगानी भित्र्याउन सफल भएको छ ।
विदेशी लगानीकर्ताले नेपालमा गरेको आम्दानीबापत लैजाने रकम (रिपाट्रिएसन) भने उल्लेख्य रूपमा घटेको छ । गत आवमा १९ करोड ९८ लाख रुपियाँ मात्र नेपालबाट बाहिरिएको छ । त्यसको अघिल्लो आवमा भने विदेशी लगानीकर्ताले तीन अर्ब ५८ करोड रुपियाँ लगेका थिए । यसरी बाहिरिने रकम एक समीक्षा अवधिबीचको अन्तरालमा ९४.४ प्रतिशतले घटेको देखिन्छ ।
१५ अर्ब पर्यटन आम्दानी गुम्यो
विषम परिस्थितिबीच पनि विदेशी लगानी बढाउन सफल भएको नेपालले सङ्क्रमणका कारण पर्यटन क्षेत्र ठप्प भएपछि पर्यटकबाट हुने ठूलो आम्दानी घटेको छ । गत आवमा नेपाल भित्रिने पर्यटकबाट ६० अर्ब ८८ करोड रुपियाँ बराबरको आम्दानी भएको छ । जुन त्यसअघिको आवको तुलनामा १९ प्रतिशत अर्थात् करिब १५ अर्ब रुपियाँले कम हो । नेपालले त्यतिबेला ७५ अर्ब ३७ करोड रुपियाँ आम्दानी उक्त शीर्षकमा गरेको थियो ।
पर्यटनबाट आम्दानी गुमे पनि यस्तै शीर्षकमा भने नेपालले अर्को लाभ प्राप्त गरेको छ । आवतजावतमा प्रतिबन्ध लाग्दा नेपालबाट भ्रमणका लागि बाहिरिने करिब ३७ अर्ब रुपियाँ बचेको छ । गत आवमा नेपालबाट भ्रमणका लागि ५३ अर्ब १३ करोड रुपियाँ मात्र बाहिरिएको छ । आव २०७५÷७६ मा यही शीर्षकमा ८९ अर्ब ९० करोड रुपियाँ नेपालबाट बाहिरिएको थियो । भ्रमणबापत नेपालमा भित्रने रकमभन्दा बाहिरिने रकम बढी भएको अवस्थामा गत आवमा भने सात अर्ब रुपियाँभन्दा बढी रकम नेपालले यात्राबापत लाभ प्राप्त गरेको छ ।
विपे्रषणबापत पनि नेपालले अनुमानितभन्दा धेरै गुमाउनु नपरेको अवस्थामा यी सबैको फाइदा शोधनान्तर स्थितिमा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार गत आवमा नेपालको शोधनान्तर अवस्था (बाहिरिनेभन्दा भित्रिने रकम) दुई खर्ब ८२ अर्ब रुपियाँले बचतमा छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?