logo
२०८१ बैशाख २२ शनिवार



देउवा र पौडेललाई अभिभावक बन्न सुझाव

राष्ट्रिय |


देउवा र पौडेललाई अभिभावक बन्न सुझाव


नारद गौतम

काठमाडौँ, भदौ १७ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनपछि पार्टी सभापतिको कुर्सीमा को निर्वाचित होला भनेर राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ । आगामी फागुनमा हुने महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका लागि नेताबीच रस्साकस्सी देखिएको छ ।  नेपालको राजनीतिमा २००७ सालदेखि सत्तामा होस् वा सडकमा, काँग्रेस राजनीतिको मुख्य हिस्सेदार बनिरहेको छ । काँग्रेसबाट देशले करिब आधा दर्जन प्रधानमन्त्री तथा थुप्रै वैचारिक व्यक्तित्व पाइसकेको छ । बीपी, सुवर्णशमशेर, कृष्णप्रसाद, गिरिजाप्रसाद र सुशील सभापति हुँदा राजनीतिक तनाव र सङ्कटमा उहाँहरूले पार्टी र देशको नेतृत्व हाँक्नुभएको थियो ।

पछिल्लो पुस्ताका सुशील सभापति हुँदा काँग्रेस दोस्रो संविधान सभा निर्वाचनमा पहिलो दल बन्यो । उहाँ नै प्रधानमन्त्री हुँदा नेपालको नयाँ संविधान जारी भयो । काँग्रेसका हरेक सभापतिको कार्यकालमा नयाँ र गौरवपूर्ण कार्य भएको भनाइ काँग्रेसजनको छ ।

काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल विचारमा १४आैँ महाधिवेशनमा सभापति को बन्लाभन्दा पनि सभापतिको कुर्सीमा कसलाई बसाउने भन्ने मुख्य प्रश्न रहेको बताउनुहुन्छ । “चार पुस्ताले दुःख गरेर ल्याएको संविधान धरापमा पर्न नदिन र देशलाई सही बाटोबाट अगाडि बढाउन प्रमुख प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ, सत्ता वा विपक्षमा जहाँ रहे पनि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी सक्षम र सबल हुनुपर्छ”, डा. रिजालले स्पष्ट पार्नुभयो ।

नेपाली कांँग्रेसको स्थापनाकालमा कार्यकारी सभापति हुँदा बीपी युवक मात्रै हुनुहुन्थ्यो । उहाँ ४५ वर्षको उमेरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । अहिले सभापति देउवा र वरिष्ठ नेता पौडेल पाका उमेरकै नेतामा गनिनुहुन्छ । कतिपयले गिरिजाप्रसादले ८४ वर्षको उमेरसम्म प्रधानमन्त्री र काँग्रेस सभापति भएर नेतृत्व लिँदा हुने तर देउवा र पौडेलले किन नहुने तर्क अगाडि सार्ने गरेका छन् । काँग्रेस नेत्री सुजाता कोइराला हामीले गिरिजाबाबुको उमेरसँग तुलना गरेर हुँदैन, पौडेल हाम्रा अभिभावक र धेरै सिनियर नेता हुनुहुन्छ, उहाँले अब सबैलाई मिलाएर युवालाई बाटो खोल्नुपर्छ भन्नुहुन्छ ।

“यो पार्टीलाई बचाउने हो भने देउवा र पौडेलले नयाँ पुस्तालाई दिनुपर्छ, काँग्रेसप्रतिको आकर्षण बढाउन नयाँ एवं युवा पुस्ता नेतृत्वमा आउनुपर्छ । हामीभन्दा तल रहेका योग्य तथा सभापति बन्न सक्ने र काँग्रेस बचाउने क्षमता राख्छन्”, नेत्री सुजाताको भनाइ छ ।

सभापति देउवा नजिक रहनुभएका उपसभापति विमलेन्द्र निधि र अर्का नेता गोपालमान श्रेष्ठले सभापति दाबी गर्नुभएको छ । वरिष्ठ नेता पौडेल खेमाबाट उहाँको नेतृत्वलाई चुनौती दिँदै महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला लगायतका नेताले पनि सभापतिको आकाङ्क्षा देखाउनुभएको छ । आफ्नै खम्बाहरूले हात झिक्ने तयारी गरेपछि अघिल्लो पुस्ताका शीर्ष नेताद्वय देउवा र पौडेल सङ्कटमा पर्नुभएको छ । युवा नेता गुरु घिमिरेको तर्क छ “सभापति देउवा र वरिष्ठ नेता पौडेल पुस्ताले बिदा लिनुपर्छ । दुवै पार्टीको संरक्षक र मार्गदर्शक भएर सम्मानित ठाउँमा रहनुपर्छ । उहाँहरूभन्दा पछिल्लो पुस्ताका नेताले युवाको उल्लेख्य सहभागिता र समायोजनमा पार्टीलाई हाँक्नुपर्छ । ’’

अर्का युवा नेता प्रदीप पौडेल व्यक्ति बदल्नु ठूलो कुरा होइन, काँग्रेस बदल्न सक्ने र कांँग्रेसले अपिल गरेको कुराप्रति जनतालाई विश्वास दिलाउन सक्ने क्षमताको नेतृत्व हुनुपर्ने धारणा राख्नुहुन्छ । देउवा र पौडेल काँग्रेसका अग्रज नेता बीपी, गणेशमान कृष्णप्रसाद र गिरिजाप्रसादको प्रशिक्षणमा हुर्केको नेता हुनुहुन्छ । शालीन नेता पौडेल यसअघि सभापतिको उम्मेदवार त हुनुभयो तर निर्वाचन जित्न सक्नुभएन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?