logo
२०८१ बैशाख २८ शुक्रवार



निको हुने सङ्ख्या बढ्यो, एक महिनामा सङ्क्रमित र निको हुने बराबरी

राष्ट्रिय |


निको हुने सङ्ख्या बढ्यो, एक महिनामा सङ्क्रमित र निको हुने बराबरी


इश्वरचन्द्र झा
काठमाडौँ, भदौ १७ गते । दुई सातासम्म निरन्तर निको हुने दर ओरालो लागेपछि बुधबार पहिलो पटक अहिलेसम्मकै सबैभन्दा बढी कोभिड–१९ का बिरामी निको भई घर फर्केका छन् । करिब एक महिनापछि नयाँ पुष्टि भएका सङ्क्रमित र निको भएकाको सङ्ख्या बराबर दर्ता गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १२० जना सङ्क्रमित थपिएका छन् । एक हजार ११२ जना सङ्क्रमित निको भई घर फर्केका छन् । हाल निको हुने दर ५४.९ प्रतिशत छ । मङ्गलबार ७६८ जना सङ्क्रमित निको भई घर फर्केका थिए ।

सामान्य रुपमा कोभिड–१९ का सङ्क्रमित १५ दिनमा निको हुन्छ । पन्ध्र दिनअघि भदौ २ गते थपिएका सङ्क्रमित र स्वास्थ्य लाभ भएकाको सङ्ख्या पनि बराबर नै छ । भदौ २ गते एक हजार १६ जना सङ्क्रमित थपिएका थिए । जुन अहिलेसम्मकै सबैभन्दा बढी थियो । पन्ध्र दिनपछि भदौ १७ गते एक हजार ११२ जना सङ्क्रमित निको भएका छन् । तर पछिल्लाो एक महिना यता निको हुनेको सङ्ख्या निरन्तर घट्दै गएको थियो । साउन ३१ गतेसम्म १७ हजार २०१ जना निको भएका थिए । त्यति बेला कुल सङ्क्रमित २६ हजार १९ थियो र निको हुने दर करिब ७० प्रतिशत थियो । तर भदौ १७ गते कुल सङ्क्रमित ४१ हजार ६४९ पुगेको छ । निको हुने २३ हजार २९० मात्रै छन् । करिब पचास प्रतिशत बिरामीमा सङ्क्रमण अझै सक्रिय छ ।

साउन तेस्रो साता निको हुने दर ७२ प्रतिशतसम्म पुग्यो । जसले कोभिड–१९ सक्रिय रहेको बिरामी पाँच हजारमा झरेको थियो । तर भदौ तेस्रो साताको सुरुवातमा ५३ प्रतिशतमा पुगेको छ । हाल सक्रिय सङ्क्रमित १८ हजार १०८ छन् ।

नयाँ सङ्क्रमित पुष्टि हुने बढ्नु र निको हुने दर घट्दै जानुले मृत्युदर बढ्ने अनुमान गरिएको छ । बिरामी निको हुन समय लिएपछि मृत्यु हुनेको सङ्ख्या निरन्तर वृद्धि हुँदै आएको छ । तर बुधबार एकैपटक निको हुने सङ्क्रमितको सङ्ख्या बढेपछि जनस्वास्थ्यमा चासो राख्नेहरूमा उत्साह थपेको छ । जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे स्वास्थ्य हेरचाह, पूर्वाधारको अवस्था, बिरामीको आत्मबल र बिरामीमा सही समयमा सही उपचारको विधि अपनाइए निको हुने दर बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?