logo
२०८१ बैशाख २२ शनिवार



काँग्रेसमा आरोप–प्रत्यारोप, फागुनमै महाधिवेशन गर्न कठिन

राष्ट्रिय |


काँग्रेसमा आरोप–प्रत्यारोप,  फागुनमै महाधिवेशन गर्न कठिन


नारद गौतम

काठमाडौँ, भदौ २१ गते । नेपाली काँग्रेसभित्र आगामी फागुन ७ देखि हुने भनिएको १४औँ महाधिवेशनलाई एकीकृत भएर सम्पन्न गराउनेभन्दा क्रियाशील सदस्यता लगायतका विषयमा आपसी आरोप–प्रत्यारोप गरेर महाधिवेशन सार्ने खेल सुरु भएको छ ।
सभापति शेरबहादुर देउवाले विवादका बीच धमाधम पार्टीका विभाग गठन गर्दै आउनुभएको छ । ‘सभापतिका उम्मेदवार हुँ’ भनेर दाबी गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशाङ्क कोइरालाका फरक फरक भनाइले पनि महाधिवेशन सार्ने खेल सुरु भएको सङ्केत गर्छ ।
कोरोनाका कारण देशभर बन्दाबन्दी र निषेधाज्ञा घोषणा भएको छ तर कोभिड सुरु हुनुभन्दा अगाडि सक्ने कार्यतालिका भएका कार्य पनि अहिलेसम्म अलपत्र छन् । तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते सहमति भए पनि अहिलेसम्म एकता प्रक्रिया टुङ्गोमा पुगेको छैन । समायोजन तोकिएको समयमा पूरा नहुनु र समायोजन नभई क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु नहुने समस्या छँदैछ । नयाँ क्रियाशील सदस्यता वितरण शतप्रतिशत बढाउने सहमति पदाधिकारी बैठकले गरे पनि केन्द्रीय कार्यसमितिको बैठक अझै बस्न सकेको छैन ।
अभौतिक (भर्चुअल) प्रविधिबाट गुटगत बैठक गर्न काँग्रेस नेता दिनहुँजसो व्यस्त हुनुहुन्छ तर पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल भने बन्दाबन्दी खुकुलो नभएसम्म केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्ने दाबी गर्नुहुन्छ ।
समायोजन गर्ने अन्तिम समयसीमा साउन १० गतेसम्म थियो । समायोजनसमेत हेर्नुहुने केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अझै ११ वटा जिल्लामा समायोजन हुन बाँकी नै रहेको बताउनुभयो । पार्टीका शीर्ष र जिम्मेवार नेताहरू समायोजनको काम पूरा गर्न र क्रियाशील सदस्यता नवीकरण गर्र्ने कार्य व्यवस्थित गर्नेभन्दा पनि सभापति पदको उम्मेदवारीलाई सुरक्षित बनाउनेतिर लागेको टिप्पणी एक केन्द्रीय सदस्यको छ ।
जिल्ला कार्यसमितिहरूले क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने कार्य सम्पन्न गरिसक्नुपर्ने समयसीमा साउन मसान्तसम्म तोकेको थियो । त्यसमा पनि नयाँ क्रियाशील सदस्यता फारम अहिलेसम्म ३५ जिल्लाले मात्रै लगेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन सर्छ वा सार्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिनुभएको पाइँदैन । उहाँको कार्यकाल गएको फागुन १९ मै सकिएर एक वर्ष थप गरिएको हो । उता विभाग गठनको विरोध गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशन गर्नसकिने गरी तीनवटा विकल्प अगाडि सार्नुभएको छ ।
नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नसकिएमा कात्तिकसम्म नयाँ क्रियाशील सदस्यताको काम सक्नुपर्ने, १३औँ महाधिवेशनका क्रियाशील सदस्यबाट वडादेखिका अधिवेशन गर्ने र १३औँ महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय महाधिवेशन गर्नसकिने प्रस्ताव छ ।
तर केन्द्रीय सदस्य गुरुराज घिमिरेचाहिँ विधान अनुसार बाँड्नका लागि जिल्ला पु¥याएका क्रियाशील सदस्यताको नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण नगरी महाधिवेशन हुन सक्दैन भन्नुहुन्छ । सभापति देउवाका पार्टीभित्रै भिन्न मत राख्ने नेताले क्रियाशील सदस्यता सभापतिको कब्जामा रहेको प्रतिक्रिया दिइरहँदा उपसभापति विमलेन्द्र निधिले भने क्रियाशील सदस्यता वितरण र नवीकरण कसैको कब्जामा नरहेको बताउनुभएको छ ।
उपसभापति निधि क्रियाशील सदस्यता खुला छ । यो कसैको कब्जामा छैन र हुन पनि सक्दैन । केन्द्रीय पदाधिकारीले होइन वडा समितिले क्रियाशील सदस्यता दिन्छ, नवीकरण गर्छ, उजुरी प¥यो भने छानबिन समितिबाट छानबिन गर्ने हो भन्नुहुन्छ ।
काँग्रेसको सङ्गठन संरचनामा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री डा. शशाङ्क कोइरालाचाहिँ महाधिवेशन हुनेमै शङ्का व्यक्त गर्नुहुन्छ । पार्टी नेतृत्व परिवर्तन हुनुपर्छ भन्नेमा म छु तर तोकिएको समयमै अधिवेशन हुन्छ कि हुन्न ? कोरोना छ, अर्कोतर्फ सभापति देउवाको अधिवेशन गर्ने मनसाय छ कि छैन ? भनेर उहाँ सभापति देउवालाई प्रश्न गर्नुहुन्छ । फागुनमा महाधिवेशन नभए वैशाखमा गर्नुपर्ने प्रस्ताव महामन्त्री कोइरालाको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?