logo
२०८१ बैशाख १६ आईतवार



मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

राष्ट्रिय |


मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा


लक्ष्मण दर्नाल

काठमाडौँ, मङ्सिर २५ गते । पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी पथान्तरण गरिएको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउने छ ।
आयोजनाले अहिले सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडान गरिरहेको छ । चारवटा गेटमध्ये सिन्धु र अम्बाथानको गेट जडान अन्तिम चरणमा पुगेको मन्त्रालयका प्रवक्ता रितेश शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ग्याल्थुमको गेटको फ्रेम जडान गरेपछि पानी पथान्तरण गर्न मिल्नेछ । सुन्दरी जलको गेट पानी पथान्तरण गर्दै गर्दा जडान गर्न मिल्नेछ । ”
पानी पथान्तरणअघि एसियाली विकास बैङ्कको विज्ञ समूहले अनुगमन गर्नेछ । सम्पूर्ण कामको पुनरवलोकन गरेपछि पानी पथान्तरण गरिने छ । प्रवक्ता शाक्यका अनुसार तीन चरणमा पथान्तरण गरिने छ । पहिलो चरणमा सुरङमा पानी पठाएर होल्ड गरिने छ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी पठाइने छ ।
सुरुङ फिनसिङको काम सकिएको छ भने हेडवक्र्सको काम भइरहेको छ । हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिने छ । हेडवक्र्स निर्माणको काम भइरहेको छ । सम्झौता अनुसार हेडवक्र्स आगामी माघसम्म सम्पन्न भइसक्नुपर्ने छ । निरन्तर काम भइरहेकाले सम्झौता अवधिभित्रै सकिने सम्भावना
रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

याङ्री र लार्के परियोजनाको काम अगाडि बढाइँदै
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ तर दोस्रो चरणको परियोजना सम्पन्न भएपछि याङ्री र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याउँदा दैनिक ५१ करोड लिटर पानी आउने छ । याङ्री र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप नौ किमी सुरुङ खन्नुपर्ने हुन्छ ।
दोस्रो चरणको परियोजनाको प्रस्ताव र डिजाइन तयार भएको छ । यस वर्ष डिजाइनको स्टिमेट फाइनल गरी खरिद कार्य गर्ने योजना समितिको रहेको छ । सडक निर्माणका लागि छ करोड ५० लाख रुपियाँ मुआब्जा वितरण भइसकेको छ । छुटेका मुआब्जा पनि वितरणकै क्रममा छ ।
स्थानीय सडक, पुल, खानेपानीलगातका विकास निर्माणको काममा स्थानीयवासीसँग सहमति भइसकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएपछि काम अगाडि बढ्ने समितिले जनाएको छ । आयोजनाका लागि करिब २५ अर्ब रुपियाँ लागतको अनुमान गरिए पनि मुख्य लगानीकर्ताको टुङ्गो भने लागिसकेको छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?