logo
२०८१ फाल्गुन १३ मंगलवार



काँग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

राष्ट्रिय |


काँग्रेसले अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल


चितवन, फागुन २० गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, “काँग्रेसले आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग गर्न सक्छ, त्यसमा काँग्रेसको भूमिका अझ महत्वपूर्ण हुन्छ । यसबारेमा पोजिटिभ हुन सकिन्छ, त्यस सम्बन्धमा छलफल हुन्छ ।”
प्रधानमन्त्री बन्न काँग्रेस सभापति शेरबहादुर देउवालाई सजिलो नभएको जनाउँदै उहाँले प्रधानमन्त्री हुनबाट उहाँलाई रोक्न खोजेको नभई लोकतन्त्र र प्रणालीलाई के गर्दा राम्रो हुन्छ भन्नेबारे छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको स्थिति नाजुक छ, सङ्कटबाट देशलाई पार लगाउने जिम्मेवारी कसले लिने ? काँग्रेसबाहेक अरुले भूमिका खेल्न सक्ने हैसियत मैले देखेको छैन ।”
पार्टीको आज हुने पदाधिकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठक माग गर्ने जनाउँदै उहाँले नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने अवस्था देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा किन जाने, कसरी जाने, के रुपमा जाने भन्ने कुराहरु छलफल गर्छाैँ ।” एक प्रश्नका जवाफमा अहिलेको ‘भद्रगोल राजनीति’ काँग्रेसले सम्हाल्नुपर्ने बताउँदै उहाँले भारत, चीन र अमेरिकालार्ई सुविधा हुने गरी नभई नेपालको प्रणालीलाई सुविधाजनक हुनेगरी सरकार बन्नुपर्ने बताउनुभयो ।
उहाँले व्यवस्था प्रभावित गर्ने गरी आफूलाई कुनै पद नचाहिएको र अहिलेकै अवस्थाको राष्ट्रपति पद पनि आफूलाई कहिल्यै नचाहिने बताउनुभयो । आफू बाँचुञ्जेल क्रियाशील भूमिकामा रहने पौडेलको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?