logo
२०८१ माघ २७ आईतवार



आन्दोलन होइन अब चुनावमा जाऔँ,  विरोध गर्नुको कुनै अर्थ  छैन्: अध्यक्ष बिजुक्छेँ   

राष्ट्रिय |


आन्दोलन होइन अब चुनावमा जाऔँ,  विरोध गर्नुको कुनै अर्थ  छैन्: अध्यक्ष बिजुक्छेँ   
फाइल तस्बिर


रमेश गिरी

भक्तपुर, जेठ ८ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्र्तिक २६ र मङ्सिर ३ का लागि निर्वाचनको घोषणा गर्नुभएकामा त्यसको विरोध गर्नुको कुनै अर्थ नभएको उहाँले बताउनुभयो । 

 नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्ेछले भन्नुभयो, “सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्, यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, चुनावको हाम्रो पार्टी स्वागत गर्छ, अब स्थिरताका लागि पनि चुनावमा जानै पर्छ ।”    
 उहाँले भन्नुभयो, “हामीले अघिल्लो पटक पनि चुनावमा गएर निकास दिनु पर्छ भनेकै हो, अदालतले बुझेन वा दलहरुलाई ठाउँमा ल्याउन सकिन्छ कि भनेर संसद पुर्नस्थापना गरिदिएको होला, तर परिस्थितिले फेरी चुनावमा नै जाने गरी त्यही ठाउँमा ल्याइदियो, अब यसको विकल्प छैन ।”  

 जनताले भनेको मान्नुपर्ने बताउदै चुनावबाटै जनताको मत र आदेश लिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । चुनावको विरोध गर्छु, आन्दोलन गर्छौ भन्नुको अर्थ छैन भन्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो, “देशलाई यथास्थितिमा राखेर छ–छ महिनामा आफू पनि सरकारको नेतृत्वमा जाने योजना बनाएकाहरुले त्यो नपाए पनि विरोध गरेका होलान्, सरकारमा जाने बाटो त चुनावपछि पनि छँदैछ जनतासँग मत लिन तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई सचेत गराउनुपर्छ ।’’  

दलहरु कोभिड–१९ नियन्त्रणमा सक्रिय हुनुपर्नेमा त्यसतर्फ चासो नदिएको भन्दै उहाँले भारतमा कोरोना महामारी फैलिरहँदा नेपालको दक्षिण सिमामा क्वारेन्टिन बनाउनुपर्ने, दलहरुले आफ्ना कार्यकर्तालाई स्वयंसेवकका रुपमा कोभिड नियन्त्रणका लागि परिचालन गर्नुपर्नेमा त्यसो गर्न नसक्दा जनताको ज्यान गएको बताउनुभयो । 

बिजुक्छेले भन्नुभयो, “पहाड, गाउँमा गएर चुनाव जितेर आउने र सधै काठमाडौं बस्ने, अनि आफूलाई भोट दिने जनता संकटमा पर्दा थाहै नपाउने ? नेताको यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ, जहाँबाट चुनाव जित्छन्, नेता त्यहीँ बस्नुपर्छ, यो संकटमा आन्दोलन गर्ने होइन, जनतालाई साथ दिन गाउँ जानुपर्छ ।”  

 पहिला जनताको ज्यान सुरक्षित गर्नुपर्छ भन्दै उहाँले त्यसपछि अरु कुरामा ध्यान जानुपर्ने औल्याउनुभयो । नेमकिपाले सन्तुलित विकास आवश्यक छ, विकेन्द्रीकरणले मात्रै जनताले राहत पाउँछन् भन्दै आएको बताउदै उहाँले यस्तो भएको भए अहिलेको कोरोना संकटमो सामना आफ्नै क्षेत्रले गर्न सक्थ्यो भन्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?