logo
२०८१ बैशाख ६ बिहीवार



मेलम्चीको बाँध पुग्ने सडक खोल्न सुरु, दशैं अघि पानी ल्याउन सकिने

राष्ट्रिय |


मेलम्चीको बाँध पुग्ने सडक खोल्न सुरु, दशैं अघि पानी ल्याउन सकिने
तस्बिर: सुजन गुरूङ्ग


मुकुन्द गैरे
काठमाडौं, असार ९ गते । असार एक गते आएको मेलम्ची नदीको बाढीले नदी क्षेत्र वरपर रहेका शहर वस्तीलाई बगरमा परिणत बनाइदियो । उक्त बाढीले मेलम्ची खानेपानीको आयोजनामा समेत क्षति गरायो । आयोजनाको क्षति पु-याएको संरचना बनाउन काम अगाडि बढाइएको छ ।

मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्कस् रहेको ठाउँसम्म पुग्न बाटो बनाउने काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम सुरु भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

स्थायी संरचनामा बाढीले असर नगरेको कारण नदीमा सङलो पानी बगेको अवस्थामा दशैं, तिहार अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउन सकिने उहाँले जानकारी दिनुभयो । सुरुङ परीक्षण पछि सुधार गर्न सुन्दरी जलबाट पसेर पनि गर्न सकिने आयोजनाको भनाइ छ ।

पानी ल्याउनको लागि अम्बाथानको टनेल भरिएको बालुवा सर्फा गर्नुपर्ने हुन्छ । भरिएको बालुवा सफा गरेको अवस्थामा भदौं, असोज महिनाको अन्तिमसम्म सुरुङमा पानी हाल्न सकिने आयोजनाको भनाइ छ । पानी आउने अस्थायी टनेलको २०० मिटर जति क्षेत्रमा बालुुवा भरिएको पानी ल्याउन उक्त टनेल सफा गर्नुपर्ने आयोजनाको भनाइ छ ।

बाढीका कारण भएको क्षति आकंलन गर्न गएको प्राविधिक टोली मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म भन्दा अलि वरबाट फर्किएको छ । आयोजनाका मुहानसम्म निरीक्षण गर्न उक्त टोली सोमबार काठमाडौँबाट प्रस्थान गरेको भए तापनि मेलम्ची बजारभन्दा तीन किलोमिटरमाथि पुगेर फर्किएको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सोमबार साँझ सिन्धुपाल्चोकको क्युल भन्ने ठाउँसम्म पुगेको टोली त्यहाँबाट अगाडि बढ्न नसकी काठमाडौँ फर्किएको जानकारी दिनुभयो । निरीक्षणका लागि मेलम्ची खानेपानी आयोजना, निर्माण कम्पनी र परामर्शदाता कम्पनीका प्राविधिकसहितको सात जनाको टोली मुहानतर्फ प्रस्थान गरेको थियो ।

तर त्यहाँसम्म पुग्न बाटो बिग्रिएको र बस्ने टेन्टसँगै खान बस्ने व्यवस्था गर्नुपर्ने भएकाले पुनः तयारीका साथ जाने गरी फर्किएको प्रवक्ता पन्तले बताउनुभयो । मेलम्ची बजारदेखि मुहानसम्मको दूरी १८ किलोमिटर छ । बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवर्क, पुल तथा मुहानको संरचनामा क्षति पु-याएको छ । आयोजनाको अस्थायी संरचनामा क्षति पु-याएको भए तापनि मुख्य सुरुङलगायत स्थायी संरचनामा भने असर नगरेको आयोजनाको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप