logo
२०८० चैत्र १५ बिहीवार

  सन्दर्भ : नेकाँ चौधौं महाधिवेशन  



कसैको चाहनाले पार्टी चल्दैन, नेतृत्व क्षमता हुनुपर्छ प्रा.डा. बराल

राष्ट्रिय |


कसैको चाहनाले पार्टी चल्दैन, नेतृत्व क्षमता हुनुपर्छ प्रा.डा. बराल


सपना थामी
काठमाडौं, असार २६ गते । नेपाली काँग्रेसको चौधौं महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी सभापति र अन्य पदका आकांक्षीहरू यतिबेला चुनावी दौडधूपमा छन् । काँग्रेसको चौधौं महाधिवेशन आउँदो भदौ १६ देखि १९ गतेसम्म हुँदैछ । काँग्रेस सभापति शेरबहादुर देउवा पुनः सभापतिका रुपमा चौधौं महाधिवेशनमा उत्रनु हुने भएको छ ।
काँग्रेस सभापति देउवा निकट रहँदै आउनुभएका उपसभापति विमलेन्द्र निधि पनि पार्टी सभापतिमा दाबी गर्नुभएको छ । काँग्रेस नेता निधि प्रभावशाली नेतामध्येकै एक हुनुहुन्छ । यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आगामी महाधिवेशनको लागि स्वभाविक प्रतिस्पर्धी हुनुहुन्छ । यसैगरी, प्रकाशमान सिंहले पनि आफू विगतमा पार्टी उपसभापति भइसकेको र पार्टीको सेकेण्ड म्यानसम्म भएर काम गरेको हैसियतले आफू स्भाविक रुपमा सभापतिको दाबेदार रहेको बताउँदै आउनुभएको छ ।
विपि पुत्र तथा काँग्रेसका महामन्त्री डा.सशांक कोइराला, डा. शेखर कोइराला, सुजता कोइराला लगायतका काँग्रेसका प्रभावशाली नेताहरुले पनि चौधौं महाधिवेशनमा पार्टी सभापतिको दाबी गर्नुभएको छ ।
काँग्रेसको संस्थापन र कोइराला विरासतको लिगेसीसहित सभापतिमा उहाँहरुको दाबी छ । काँग्रेसको चौधौं महाधिवेशनमा पार्टी सभापतिका लागि प्रमुख प्रतिस्पर्धामा झण्डै आधा दर्जनभन्दा बढी आकांक्षी रहँदै आउनुभएको छ । काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनका सन्दर्भमा राजनीतिक विश्लेषक प्राध्यापक डा. लोकराज बरालसँग गरिएको संवादमा आधारित आलेखः

प्रतिस्पर्धा स्वभाविक

आसन्न नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको मिति नजिक हुँदै जाँदा काँग्रेसका प्रभावशाली नेताहरुसहित गाउँ, नगरसम्ममा भेटघाट र बहस बढ्दै जानू स्वभाविक रहेको राजनीतिक विश्लेषक प्रा.डा. लोकराज बराल बताउनुहुन्छ । काँग्रेस सभापति शेरबहादुर देउवासहित पार्टी सभापतिमा अरु प्रभावशाली नेताहरुले दाबी गर्नु लोकतान्त्रिक प्रणालीको अभ्यास भएको र आउँदो महाधिवेशनमा प्रतिस्पर्धाबाट जो जित्छ, उसैले नेतृत्व गर्ने धारणा राख्नुभएको छ । पुस्तान्तरण वा नेतृत्व हस्तान्तरण भनेको स्वेच्छाले नेतृत्व सुम्पनु हो पार्टी सभापतिका दाबेदारहरुले आफ्नो क्षमता पनि वृद्धि गर्नसक्नुपर्ने उहाँ बताउनुहुन्छ । दलभित्र परिवारवाद हाबी पनि हुने गर्छ तर, विश्राम लिने भन्ने विषय हुनसक्छ तर प्रतिस्पर्धाबाटै नेतृत्व चुनिन्छ । डेमोक्रेटिक पार्टी गैरकानुनी नहुन अर्थात् कानुनी वैधानिकताका लागि काँग्रेसले भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यता छ । यसका लागि काँग्रेस जुट्नैपर्छ ।

दोस्रो पुस्ताको नेतृत्व आश गर्न सकिँदैन

काँग्रेसको चौधौं महाधिवेशनमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल लगायतका नेताहरु दोस्रो तथा युवा पुस्ताको नेतृत्वको प्रतिश्पर्धामा छन् । तर, उनीहरुको पहँुच पुग्नेमा बराल विश्वस्त देखिनुहुन्न । पार्टी सभापतिमा दोस्रो तथा युवा पुस्ता आउनेमा पनि उहाँ आशावादी हुनुहुन्न । नयाँ परिस्थिति अनुसार नेतृत्व क्षमता बढाउनुपर्याे, आकर्षक नेतृत्व दिनसक्नुपर्याे बरालले बताउनुभयो । काठमाडौंमा बसेर यहि वरपर घुम्ने नेतृत्व होइन, पार्टीलाई गतिशीलता दिनसक्ने नेतृत्व चाहिन्छ, बराल बताउनुहुन्छ ।

काँग्रेसलाई गठबन्धनसँग मिल्नु बाध्यात्मक

नेपाली काँग्रेस यतिबेला महाधिवेशनमा मात्रै केन्द्रीकृत छैन, विपक्षी गठबन्धनसँग संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्दै आएको छ । प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक पनि प्रतिनिधिसभा विघटन गर्नुभएपछि संघीय संसद पुनःस्थापना र सरकार गठनका लागि प्रमुख प्रतिपक्षी दलको हैसियतले काँग्रेसले मुख्य नेतृत्व गर्दै आएको छ । काँग्रेसलाई विपक्षी गठबन्धनसँग मिल्नु बाध्यात्मक आवस्था आएको डा. बराल बताउनुहुन्छ । सरकार गठन र आगामी निर्वाचनको सन्दर्भमा नेकपा एमालेले निर्धारण गर्ने उहाँले बताउनुभएको छ । एमाले नेता माधवकुमार नेपाल समूहले समर्थन नगरे काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न सकिँदैन । काँग्रेस सरकारमा गएपनि चुनावमा जितेर जान सजिलो हुन्छ भनेर हो तर, माधवकुमार नेपाल समूहले के गर्छ भन्न सकिँदैन, बरालले बताउनुभएको छ ।

नेपाली काँग्रेसले चौधौं केन्द्रीय महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता लगायतका अ्य गतिविधिलाई तीव्रता थप बढाएको छ । पाँच वर्षसम्म निष्क्रिय रहँदा काँग्रेसमा अहिले यो हतारो बढेको पनि बरालले बताउनुभयो । समग्रमा काँग्रेस सभापति पदमा अहिलेको अवस्थामा प्रतिस्पर्धाबाटै दनेतृत्व चयन हुने निष्कर्ष उहाँको छ । दोस्रो तथा युवा पुस्ताबाट पार्टी सभापतिमा आश गर्न सक्ने अवस्था नरहेको राजनीतिक विश्लेषक प्राध्यापक डा. लोकराज बरालको आशय छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?