logo
२०८१ बैशाख १३ बिहीवार



उपत्यकामा अस्पताल आउने संक्रमित संख्या घट्दै

राष्ट्रिय |


उपत्यकामा अस्पताल आउने  संक्रमित संख्या घट्दै


काठमाडौं, भदौ १९ गते । उपत्यकाका विभिन्न अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितहरुको संख्यामा कमी आएको छ । पछिल्लो हप्तामा उपचारका लागि अस्पताल आउने कोभिड १९ का विरामीको संख्यामा कमी देखिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा केही दिन यता उपचारका लागि आउने कोरोना संक्रमितको संख्यामा कमी आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका मेडिकल अफिसर डा. किजन महर्जनकाअनुसार अहिले साधारण बेडमा उपचाररत कोभिडका विरामी संख्या २८ रहेको छ । जसमध्ये वार्डमा २३ जना छन् भने क्याभिनमा ५ जना उपचाररत छन् । अस्पतालको आईसियूमा १५ जना उपचाररत रहेको डा. महर्जनले बताउनुभयो ।

अस्पतालले कोभिड १९ का विरामीका लागि साधारण बेडहरु ४० वटा छुट्याएको छ भने आईसियूतर्फ २४ वेडहरु छुट्याएको छ । “केही हप्ता अघि अस्पतालका बेडहरु सबै भरीभराउ थिए तर अहिले कमी हुदै गइरहेको छ” उहाँले भन्नुभयो ।

यस्तै त्रिवि शिक्षण अस्पतालले पनि पछिल्ला दिनहरुमा अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितको संख्यामा कमी हुँदैगएको जनाएको छ । डा.निरज बमले पछिल्लो साता अस्पतालमा आउने कोभिड १९ का विरामीको संख्या क्रमशः कम हुदैगएको बताउनुभयो । अहिले अस्पतालमा साधारण बेडतर्फ ६१ जना उपचाररत रहेको उहाँले बताउनुभयो । आईसियूतर्फ भने ४५ जना उपचाररत रहेको उहाँको भनाई छ ।

जहाँ कोभिडका लागि १०१ वटा साधारण बेडहरु छुट्याइएको छ भने आईसियूतर्फ ४५ वटा बेडहरु छुट्याइएको छ । अस्पतामका कुनैबेला साधारण बेडहरुमध्ये ९५ वटा बेडहरुसम्म भरिएको थियो भने आईसियूमा सधैजसो विरामीहरु रहेकै हुने बमले बताउनुभयो । निजि अस्पतालहरुमा उपचार महङ्गो हुने भएका कारण आईसियूमा विरामीहरुको चाप बढेको उहाँको भनाइ छ ।

त्यस्तै कोभिड यूनिफाईड अस्पतालमा पनि उपचारका लागि आउने कोरोना संक्रमितका विरामीहरुको अवस्था स्थिर रहेको देखिएको छ । अस्पतालमा प्रमुख प्रशासकीय अधिकृत डा.भुपेन्द्र बहादुर बस्नेतकाअनुसार अहिले उपचारका लागि आउने बिरामीको संख्यामा पछिल्लो समय कमी देखिएको बताउनुभयो । अहिले अस्पतालमा साथारण बेडतर्फ ९८ जना उपचाररत रहेको र आईसियुमा ३० जना, एचडियुमा ३८ जना उपचाररत रहनुभएको उहाँको भनाई छ । एक हप्ता अघिमात्र अस्पतालका सबैजसो बेडहरु भरिएको उहाँले बताउनुभयो ।

यस्तै ह्याम्स अस्पतालमा पनि उपचारका लागि आउने कोरोना संक्रमितको संख्यामा कमी आएको अस्पताल प्रशासनले जनाएको छ । अहिले ह्याम्स अस्पतालमा २५ जना उपचाररत रहेको जसमध्ये आईसियुमा १२ जना रहेका छन् । अरु साधारण बेडमा उपचाररत छन् । केही हप्ता अघिमात्र ३५ जना उपचाररत रहने गरेकोमा अहिले कमी आएको अस्पतालले जनाएको छ ।

यता पाटन अस्पताल, ओम अस्पतालले पनि पछिल्ला दिनहरुमा उपचारका लागि आउने कोरोना संक्रमितको संख्यामा कमी देखिएको जनाएको छ ।
आईसियुमा नघटे पनि कोरोनाका विरामी आईसियुमा भर्ना हुने विरामीको संख्या भने अपेक्षाकृत रुपले घट्न नसकेको अस्पतालहरुले जनाएका छन् । विभिन्न अस्पतालले दिएको जानकारीअनुसार उपचारका लागि आउने कोरोना संक्रमितको संख्या कम भएपनि सघन उपचार कक्ष आईसियुमा भने चाप घटेको छैन ।

खोप लगाएकाहरु पनि उपचारका लागि अस्पतालमा
कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरु पनि कोरोना संक्रमण भएर उपचारका लागि अस्पताल आउने गरेको अस्पतालहरुले जनाएका छन् । पहिलो मात्रा र दुवै मात्रा खोप लगाएका व्यक्तिहरु पनि कोरोना संक्रमण भएर अस्पतालमा आउने गरेको अस्पतालहरुले जनाएका छन् । तर खोप लगाएकाहरु गम्भीर प्रकृतिको विरामी भने नरहेको उहाँहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?