logo
२०८१ माघ ८ मंगलवार



इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह

राष्ट्रिय |


इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह


काठमाडौं, कात्तिक १३ गते । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका– ८ वडा इकाइ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाल आयल निगमको व्यवस्थापनका सबै पक्षलाई सूक्ष्म विश्लेषण गरी फजूल खर्च घटाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिनुभयो ।

आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गर्नुभयो ।

देशलाई वेथितिबाट पार लगाउन काङ्ग्रेस नेतृत्वमा वर्तमान सरकार गठन भएको तर्क गर्दै उहाँले जनचाहनाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । “इन्धनको मूल्यवृद्धिले जनतालाई राहत होइन, आहत पारेको छ,” उहाँले भन्नुभयो ।

पटक–पटक पार्टीको १४ औँ महाधिवेशनको तीथि सारिएकामा रोष प्रकट गर्दै नेता सिंहले पछिल्लो समयमा घोषित मितिमा नै महाधिवेशन सम्पन्न गर्नैपर्नेमा जोड दिनुभयो । विधि र पद्धतिअनुसार पार्टी सञ्चालन नभएकोमा चिन्ता व्यक्त गर्दै उहाँले ‘व्यक्ति होइन विचारलाई मानेर अघि बढ्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो ।

इकाइ सभापति आशमान सङ्गतले तल्लो तहदेखि नै इमानदार नेतालाई नेतृत्वमा पुर्याउनु समयको माग भएको विचार व्यक्त गर्दै पार्टीको छविमा आँच आउने गतिविधि नगर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि पार्टीपङ्ति एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?