logo
२०८१ मंसिर ९ आईतवार

  सन्दर्भ शहीद दिवस  



मासिँदै शहीदका घर र सामग्री, संरक्षण नभएको गुनासो

राष्ट्रिय |


मासिँदै शहीदका घर र सामग्री, संरक्षण नभएको गुनासो


काठमाडौं, माघ १६ गते । माघ १६ गते अर्थात् ‘शहीद दिवस’ । हरेक वर्ष माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाइँदै आएको छ । वि.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा फाँसी दिइयो । न्याय, स्वतन्त्रता र समानताका खातिर पहिलो पटक शुक्रराजको अमूल्य जीवनलाई मृत्युको शूलीमा चढाइएपछि धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ मृत्युको पालो कुरिरहनु भएको थियो । माघ १३ गते धर्मभक्तलाई सिफलमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । र माघ १५ गते दशरथ र गङ्गालाललाई शोभाभगवतीमा गोली हानियो ।  माघ १७ गते टंकप्रसाद आचार्य र नरहरि शर्माको जनै चुँडाउने, चारपाटा मुडेर जेलमा थुनियो । त्यस समय जहानियाँ राणा शासनकालमा हुने गरेका अन्याय, अत्याचार र बेथितिप्रति आवाज उठाउने अरुले पनि यस्तै जेल नेल कस्ट भोग्नुपर्यो यसको साक्षी इतिहास छँदै छ । आजभोलि बढो मुस्किलैले मात्र शहीदका पुर्खौली स्थान र उनीहरुका आफन्तहरु भेटिन्छन् ।
१९९७ सालमा उमेरले सबैभन्दा कान्छा २१ वर्षमा शहीद बनेका ‘गङ्गालाल’ लाई नजिकबाट चिनेजानेका अनुसार काठमाडौंको किसिख्व गल्लीमा गोर्खा भूकम्पपछि चारैतिरबाट लामो–लामो लठ्ठीले टेको लगाइएको एउटा घर छ । यस घरमा अहिले भने कोही पनि बसेका छैनन् । शहीद गंगालालको घर बताइएको छेऊमै एउटा किराना पसल छ । यस घरबारे बताउनुहुँदै त्यस टोलका सबैभन्दा ज्येष्ठ नागरिक ७८ वर्षीया कोमललाल श्रेष्ठ भन्नुहुन्छ – ‘पहिलेको घर त, आँखीझ्याल र बार्दली भएको थियो, अहिले अर्कै मोहोडामा यो छ । म त, सानै थिएँ । गङ्गालालको श्रीमती त्यो बेला गर्भवती हुनुहुन्थ्यो त्यही बेला उहाँलाई मार्न लगेको हो । उसको शशी र रवि भन्ने दुई वटा छोरा छन् भन्ने थाहा छ अरु थाहा भएन ।’ यो घर भने अलि पहिले नै अरु कसैले किनिसकेको रहेछ ।
यस्तै शहीद धर्मभक्तको जन्मस्थान भनिएको क्षेत्र पनि संरक्षणविहीन अवस्थामा छ । बैतडीमा जन्मनुभएको शहीद दशरथ चन्द र शुक्रराज शास्त्रीको पनि जन्मस्थान लगायतका ऐतिहासिक स्थलहरुको संरक्षण हुन नसकेकोप्रति उहाँहरुका आफन्तहरुले भने दुख प्रकट पनि गर्दै आउनुभएको छ । त्यस समय, सर्वस्व हरणसहित मृत्युदण्ड दिइएका कारण पनि शहीदहरु रहनुभएको भौतिक संरचनाहरुको संरक्षण गर्न सरोकारवालाहरु चुकेको भन्ने पनि बुझाइ पनि छ ।

छिमेकी भन्छन् – घरबाट छुट्ने बेला गङ्गालालले हसना भने
अहिले त्यहाँ साँघुरो गल्ली छ जुन घरबाट गंगालालले बिदाइ गरे । त्यसबेला उहाँले आफ्नी श्रीमतीको नाम लिदै हसना ! भनेर सम्बोधन गर्नुभएको थियो । खै बोलाएर हो कि, चिच्याएर ? कुन भावले श्रीमती ‘हसना’ को नाम लिएको ! यो भने थाहा नभएको छिमेकी कोमललालले बताउनुभयो । ‘अहिलेको जस्तो होइन । मान्छेहरु बोल्नै डराउथें । बोल्यो कि, गङ्गालालको जस्तो हालत हुन्थ्यो । त्यसपछि परिवारको के, कसो भयो यो पनि थाहा भएन ।’, उहाँ भन्नुहुन्छ ।
शहीद धर्मभक्त माथेमाका नाति विनयकुमार माथेमाका अनुसार धर्मभक्त परिवार त्यस समय भारतमा हुनुभएकोले धर्मभक्तले उतैबाट शिक्षादीक्षा हासिल गर्नुभएको हो । धर्मभक्त जन्मेको घर काठमाडौंको नःबहिल र हाल ओमबहाल बताइए पनि यो उहाँको फूपूको हो ।
नाति विनयकुमार माथेमा भने गङ्गालालकै घर बताइएको केही दुरी नजिकै प्याफलमा ‘बी.के.एम.इन्टरप्राइजेज’ नामक एक व्यापार व्यवसाय गर्दै आउनुभएको छ । पसलमा व्यापारका सामाग्रीहरु एकातिर छन् भने शहीद धर्मभक्तका धेरै फोटोहरु पनि भित्तामा देखिन्छन् । शहीदहरुबारे उहाँ छोटोमा भन्नुहुन्छ, – राजासँग तिमिहरुले कुरा बिगार्ने भन्दै १९९६ मा पनि उहाँहरु समातिनुभएको थियो ।
यसअघि १९९३ सालमा प्रजापरिषद् स्थापना भयो, जहाँ धर्मभक्त, दशरथचन्द, शुक्रराज र गङ्गालालहरु आबद्ध हुनुहुन्थ्यो । १९९७ मा जेलबाट निस्कन सफल भएपनि माघ ३, ४ गतेतिर उहाँ पुनः समातिनुभयो । गङ्गालाललाई फाँसी दिइएपछि उहाँको भाइ पुष्पलालले भने देशमा पहिलो पटक कम्युनिष्ट पार्टीको घोषणापत्र पनि जारी गर्नुभएको थियो ।

धर्मभक्तको नातिकाे भनाई
नुहाइधुवाई गरेर बस्नुभएको धर्मभक्तलाई फाँसीमा चढाइनु अघि अन्तिम इच्छा पनि सोधिएको थियो । सिफलमा बिहान ५ बजे उहाँलाई झुण्ड्याइयो भन्ने बुबाहरुले बताउनुहुन्थ्यो, विनयकुमारले सम्झेर भन्नुभयो । पहिलो पटक झुण्ड्याउदा धर्मभक्त मर्नुभएको थिएन रे । त्यसपछि पहिलो फाँसीमा नमरेपछि माफी हुनुपर्छ भन्ने पनि थियो । जुद्ध शमशेरका नाति नरशमशेरको गुरु भएको भएर पनि नर शमशेरले माफी माग्न भने । तर, धर्मभक्तले उनलाई लात्ताले हानेर गुल्टाएका थिए । यसपछि नर शमशेरले धर्मभक्तको अनुहारमा चक्कुले छिया–छिया पारे र शिथिल भएपछि गोली हानेर मारियो । मुखभरि चक्कुले को¥यो त्यो बेला मूर्छित भएका धर्मभक्त चिच्याएको आवाज पर–पर मैतीदेवीसम्म सुनिएको थियो भन्ने हामीले सुनेका थियौं,उहाँ बताउनुहुन्छ ।
त्यस समय दरबारमा पैसाको मामिलामा जुद्ध शमशेरको चल्ने हुनाले एक पटक त्रिभुवनलाई पैसाको खाँचो पर्दा चन्द्र शमशेरले आफ्ना कान्छा छोरालाई भनेर जुद्ध शमशेरलाई नै पैसाको जोरजाम गर्न लगाइएको थियो । जम्मा अन्दाजी दश हजार मात्रै पठाइएका कारण त्रिभुवन रिसाए र आफैंले चुरोट खाने लाइटरले ती पैसा जलाउनुभयो रे । त्यो बेला बाहिरको कुरा सुन्नै, बोल्नै नदिने, भित्रै राख्ने विनयकुमार भन्नुहुन्छ ।
खासमा, उचाइ ६ फिट र छाती ४६ इन्चका धर्मभक्त व्यायाममा बडो पहलमानी हुनुहुन्थ्यो । घोडेजात्रामा एकपटक धर्मभक्तले आफ्नो सीप र कला प्रदर्शन गर्नुभएको थियो । जुन कौशलताबाट राजा प्रसन्न भएर उहाँको दरबारमा आऊजाउको बाटो थप खुलेको थियो । एकदिन, राजा त्रिभुवनले धर्मभक्तलाई दरबारमा बोलाउनुभएको थियो । त्यसै बेला, जुद्ध शमशेर घोडामा टक–टक आए । नेवारलाई ज्यापु भनिने त्यो बेला, जुद्धशमशेरले धर्मभक्तलाई भनेछन् – ‘ए ज्यापु तँ किन यहाँ आएको ?’ यसको जवाफमा उहाँले सरकारले त केही भनेको छैन, तैंले किन यसो भनेको भनेर जवाफ दिनुभएको थियो । यसैको भोलिपल्टदेखि जुद्धशमशेरले उहाँहरु देशद्रोही, राजद्रोही भएको खेल खेल्ने थाले । यिनीहरुलाई खत्तम नपारे राणाकाल नै नाश हुन्छ भनेर भन्न थाले, नाति विनयकुमार बताउनुहुन्छ । शहीदद्धय धर्मभक्त र शुक्रराज परिवारका नातासमेत पर्ने उहाँको भनाइ छ ।
त्यस समय माथेमा परिवारलाई भने आफू माथेमा भन्न पनि डर लाग्ने वातावरण बनेको थियो, माथेमा सामाजिक गुठीका अध्यक्ष नरेश माथेमा सम्झनुहुन्छ । तर आजभोलि सरकार वा राज्यले शहीदहरु सम्बन्धित गरिएका कार्यक्रमहरु समेत शहीद परिवारका सदस्यलाई जानकारी हुने नगरेकोप्रति उहाँको गुनासो छ । तर कतिपय ठाउँमा शहीदका नाममा सडक, अस्पताल र शालिकहरु बन्ने गरेका छन् । तर बाटाघाटामा निर्माण गरिएका शालिकहरुको पनि उचित संरक्षण गरिनुपर्ने उहाँ बताउनुहुन्छ ।
खासगरी राजनीतिक नेतृत्वले इमानदारीपूर्वक देश विकासको काम गर्न सके शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुने उहाँको पनि भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?