logo
२०८१ बैशाख २२ शनिवार



सम्पर्कमा आएको अग्रवाल परिवारद्वारा सुरक्षा माग

राष्ट्रिय |


सम्पर्कमा आएको अग्रवाल परिवारद्वारा सुरक्षा माग
फाईल तस्विर


काठमाडौँ, माघ २८ गते । अचानक बेपत्ता भएका काठमाडौँको दरबारमार्गमा सञ्चालित मदिरा पसल ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल र अभिषेक अग्रवाल नेपाल फर्कनुभएको छ । नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएका ओमप्रकाश अग्रवाल उहाँकी पत्नी उषा अग्रवाल तथा छोराहरू अमित र अभिषेक अग्रवालसहित नौ जनाको परिवार पुस तेस्रो साता सम्पर्कविहीन बनेको थियो ।

परिवारसहित बेपत्ता भएका अग्रवालद्वय फर्किएको प्रहरी र पारिवारिक स्रोतले जनाएको छ । अग्रवाल परिवार नै भारतमा रहेको अनुमान गरिएको थियो । नेपाल फर्केर अमितले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिनुभएको छ । काठमाडौँ फर्किनुभएका अमित अग्रवाल सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नुभएको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अमित अग्रवालले सुरक्षा माग गर्नुभएकाले आवश्यक सुरक्षा व्यवस्था मिलाउन महानगरीय प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरिएको जानकारी दिनुभयो ।महानगरीय प्रहरी वृत्त कालीमाटी प्रहरी वृत्तमार्फत अग्रवालको सुरक्षा सतर्कता बढाइएको छ । परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले अमित अग्रवाल सम्पर्कमा आएको जानकारी दिनुभयो ।

“उहाँले बैङ्क तथा वित्तीय संस्थाको हिसाब मिलाउने उद्देश्यले काठमाडौँ फर्केको जानकारी गराउनुभएको छ ।” काठमाडौँबाट सम्पर्कविहीन बनेपछि अग्रवाल परिवार भारतमा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले अग्रवाल परिवार बस्दै आएको ज्ञानेश्वरको घरबाट गत पुस २२ गते ओमप्रकाश अग्रवाल, श्रीमती उषा अग्रवाल र छोराहरू अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेका पत्र फेला परेको थियो ।

पत्रमा वित्तीय संस्थाले ऋण तिर्न गरेको ताकेता र मिटर ब्याजीले दिएको मानसिक तनावका कारण सम्पर्कविहीन बनेको उल्लेख गरिएको थियो । काठमाडौँ फर्केका उहाँलाई पुनः तिनै मिटर ब्याजीबाट असुरक्षा हुने देखेपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक सुरक्षा मिलाउन प्रहरीलाई पत्राचार गरेको हो । अग्रवाल परिवारको नाममा चारवटा बैङ्कबाट लिएको ८० करोड रुपियाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको जनाइएको छ । अन्य गैरबैङ्किङ प्रणालीबाट भएको कारोबार भने खुलेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?