logo
२०८१ बैशाख १५ शनिवार

  ब्रेन गेन सेन्टर  



नेपाली जोडिने क्रम जारी, कानुन र संरचना अभावमा कार्यान्वयन अन्योल

राष्ट्रिय |


नेपाली जोडिने क्रम जारी, कानुन र संरचना अभावमा कार्यान्वयन अन्योल


काठमाडौं, फागुन २८ गते । विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले स्थापना गरेको ‘ब्रेन गेन’ सेन्टरमा त्यस्ता नेपाली जोडिने क्रम जारी छ । उक्त सेन्टरमा विदेशमा अनुभव सँगालेका नेपालीलाई सूचीकृत हुन आह्वान गरिएको थियो । परराष्ट्र मन्त्रालयको आह्वान अनुसार विदेशमा अनुभव सँगालेका नेपाली सेन्टरमा जोडिन आइपुगेका छन् । अझैँ आउने क्रम जारी छ । तर, दर्ता भएका विज्ञलाई राष्ट्रिय विकासको योजनासँगै जोडेर लैजान नसक्दा अन्योल बढेको छ । मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार ‘ब्रेन गेन’ कार्यक्रममा कानूनी र संरचनागत आधार तयार गर्न सके अझै प्रभावकारी हुने बताउनुभएको छ ।

कानूनी र संरचनागत आधार तयार गर्न सके अझ बढी व्यक्तिहरु जोडिन सक्ने सम्भावना रहेको छ । कोरोना महामारीका कारण पनि सेन्टरमा त्यस्ता नेपाली जोडिनेको संख्या कम भएको हो । अहिले केही मानिस जोडिएको भए पनि उनीहरुलाई दीर्घकालीन रुपमा टिकाइराख्न चुनौतीपूर्ण नै रहेको लम्साल बताउनुहुन्छ । “ब्रेन ग्रेन’ कार्यक्रममार्फत केही मानिस जोडिएका छन् । तर, उनीहरुलाई दीर्घकालीन रुपमा कसरी टिकाउने भन्ने नै चुनौतीपूर्ण देखिएको छ,” उहाँ भन्नुहुन्छ ।

उहाँका अनुसार ठोस कार्यविधिको अभावमा कुन निकायसँग कसरी समेटिएर जाने भन्ने अन्योल बढेको छ । नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुप्रसाद उप्रेतीले विदेशमा रहेका विशिष्ट ज्ञान सिप भएका नेपालीलाई नेपालमा ल्याउने प्रयास राम्रो भए पनि नीतिगत समस्या रहेको उहाँ बताउनुहुन्छ ।

विदेशमा रहेका युवाहरु शक्ति केन्द्रसँग नजिक हुने बहानामा यस्ता कार्यक्रम ल्याउन आग्रह गर्ने उहाँ बताउनुहुन्छ । तर, उनीहरु नै सरकारले बोलाउँदा आउँदैनन् । नेपाल फिर्ता गर्न सरकारले एकीकृत नीति बनाएर मात्र अघि बढे ब्रेन गेन कार्यक्रमले सफलता पाउने उहाँ बताउनुहुन्छ । तर, अहिलेको अवस्थामा बाहिरी देशमा ज्ञान सिप हासिल गरेका युवालाई नेपालमा ल्याएर काम लगाउनु चुनौतीपूर्ण हुने उहाँ बताउनुहुन्छ ।

सरकारले ब्रेन ग्रेन कार्यक्रमलाई नीतिगत रुपमै प्रष्ट पार्न नसक्नु दुःखद हो । विदेशमा रहेको गैरआवशीय नेपाली संघमा पनि राजनीतिकरण हुनाले यो कार्यक्रम त्यति फलदायी नभएको उप्रेतीले बताउनुभयो । नेपालमा फर्काउने प्रमुख माध्यम अनुसन्धान क्षेत्र भएकाले सरकारले अनुसन्धानमा सरकाले बढी लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।

पूर्व सचिव हरि बस्यालले विदेशमा रहेर ज्ञान सिप आर्जन गरेका दक्ष जनशक्तिलाई नेपालमा फर्काउने प्रयास गरिए पनि चुनौतीपूर्ण रहेको बताउनुभएको छ । विदेशमा राम्रो विषय पढेकालाई नेपालमा ल्याएर सरकारी क्षेत्रमा लगाउनु नै चुनौतीपूर्ण रहेको उहाँ बताउनुहुन्छ ।

राम्रो युनिभर्सिटी पढेर नेपाल आएर केही गर्छु भन्नेहरुका लागि समस्या हुने उहाँको भनाइ छ । ‘विदेशमा ज्ञान सिप आर्जन गरेकालाई नेपालमा ल्याउने प्रयास राम्रो हो तर नेपालमा ल्याएर त्यही अनुसारको काम र तलब दिन समस्या हुन्छ ।

विदेशबाट ज्ञान सिप आर्जन गरेर स्वेदशमा फर्केर निजी क्षेत्र चहार्दै हिँड्नुपर्ने अवस्था सृजना भएको छ,’ उहाँले भन्नुभयो । विदेशमा ज्ञान आर्जन गरेकालाई नेपाल फर्काउन सर्वप्रथम उनीहरुलाई टिकाइराख्नको लागि नीति नियमको आवश्यकता रहेको उहाँ बताउनुहुन्छ ।

यस्तै, ब्रेन गेनेको सम्भावनाका साथै ब्रेन ड्रेनको समस्यालाई रोक्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको बस्याल बताउनुहुन्छ । उहाँका अनुसार नेपालमै ज्ञान, सिप, क्षमता भएकालाई व्यक्तिलाई पनि टिकाइराख्न सरकारलाई चुनौती रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?