logo
२०८१ बैशाख २२ शनिवार

   मेलम्ची खानेपानी आयोजना   



चैत तेस्रो सातासम्म काठमाडौँमा पानी

राष्ट्रिय |


चैत तेस्रो सातासम्म काठमाडौँमा पानी


मेलम्ची, चैत ३ गते । गत साउन र भदौमा बाढीले पुरेर क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना पुनः सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले वि.सं. २०७९ वैशाख १ गतेभित्र मेलम्चीको पानी काठमाडौँमा ल्याउने लक्ष्य राखेको हो ।

सिन्धुपाल्चोकको याङ्गी, लार्के र मेलम्ची खोलामा पहिरोसँगै आएको बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य प्रवेशद्वार (बफर ड्याम) हेड वक्र्स र अडिट टनेलमा थुप्रिएको गेग्रान र लेदो हटाएर पानी सञ्चालन गर्ने तयारी भइरहेको छ । खानेपानी मन्त्रालयले उक्त लक्ष्यअनुरूप आयोजनालाई समय अगावै सम्पन्न गर्ने गरी कार्ययोजनासहित काम गरिरहेको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले बुधबार प्रभावित क्षेत्रको निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा उहाँले चैत तेस्रो सातासम्म काठमाडौँमा पानी पु¥याइने बताउनुभयो । उहाँले भन्नुभयो, “चैत दोस्रो साताभित्र आयोजना क्षेत्रको सफाइ सकेर पानी काठमाडौँ पु-याउँछौँ ।” उहाँले आयोजनाका मुख्य ठेकेदार चिनियाँ सिनो हाइड्रो कम्पनीका प्रतिनिधि, मेलम्ची खानेपानी विकास समिति तथा परियोजनाका पदाधिकारीलाई तोकिएको समयअघि नै सक्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

सफाइको काम सकिएलगतै मुहानबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा पठाउने तयारी भइरहेको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने सरकारको पहिलो लक्ष्य रहेकाले त्यसमा कुनै सम्झौता नहुने प्रष्ट पार्नुभयो । बाढीले खानेपानी आयोजनाको मुख्य प्रवेशद्वार बफर ड्यामदेखि अम्बाथानसम्मका चारवटा ढोका र ८०५ मिटर सुरुङमा पुरेको थियो । आयोजना क्षेत्रबाट बाढीले थुपारेको एक लाख घनमिटरभन्दा धेरै गेग्रान र सुरुङ भित्रबाट छ हजार घनमिटर लेदो हटाउने काम सकिएको छ ।

बाढीका कारण मुहानको सुरुङको २०६ मिटर क्षेत्रसहित अम्बाथानको १७, २१ र ३८ नम्बर गेटमा गेग्रान र ठूला ढुङ्गा नेपाली सेनाको प्राविधिक टोलीले हटाएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रमुख कार्यकारी वासुदेव पौड्यालले बाढीले क्षति पुगेको क्षेत्रमा कार्ययोजनासहित काम भइरहेको जानकारी दिनुभयो । कार्यप्रगति सन्तोषजनक रहेकाले तोकिएको समयै पानी सुचारु हुने दाबी उहाँले गर्नुभयो ।

चिनियाँ कम्पनी सिनो हाइड्रोले सफाइका लागि ३५ करोड रुपियाँको ठेक्का पाएको थियो । उक्त कम्पनीले तोकेको समयभन्दा एक महिनाअघि काम सक्ने गरी अन्य तीनवटा सहायक ठेकेदारमार्फत काम गरिरहेको छ । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इञ्जिनियर पदम कुँवरले सफाइको काम सकिन लागेको बताउनुभयो । उहाँले गेग्रान हटाउन २४सै घण्टा काम भइरहेको बताउनुभयो । १५० जना प्राविधिकले तीन चरणमा काम गरिरहेका छन् । बाढीका कारण पानी नियन्त्रण गर्ने ९ नम्बर गेट, अडिट टनल, ३८ नम्बरको ढोकामा थुप्रिएको गेग्रान हटाएर सुरुङभित्र छिरेको लेदो बालुवा हटाउने काम भइरहेको छ ।

चिनियाँ कम्पनी सिनो हाइड्रोका नेपाल प्रतिनिधि कृष्णकुमार तामाङ ‘समीर’ले प्राविधिकसहितका झन्डै १५० कर्मचारीले सफाइ तथा मर्मतको काम गरिरहेको र सरकारले तोकेको समयभन्दा एक महिनाअघि नै काम सम्पन्न हुने बताउनुभयो । बाढीले पु¥याएको क्षति र भावी योजनाबारे अहिले एसियाली विकास बैङ्कले विज्ञ टोली बनाएर अध्ययन गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?