काठमाडौं, चैत ९ गते । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (मार्च २३, सन् १९५०) को सम्झनामा हरेक वर्ष मार्च २३ लाई विश्व मौसम दिवस को रुपमा मनाउने गरिन्छ । बुधबार नेपालमा पनि ‘पूर्वसूचना र पूर्वतयारी’ भन्ने मूल नाराका साथ विविध कार्यक्रम आयोजना गरी विश्व मौसम दिवस, २०७८ मनाइएको छ ।
यस वर्षको विश्व मौसम दिवसको मूल विषय ‘प्रारम्भिक चेतावनी र प्रारम्भिक कार्य : प्रकोप जोखिम न्यूनीकरणको लागि जल मौसम विज्ञान र जलवायु जानकारी’ रहेको छ । यसले विपद् जोखिम न्यूनीकरणका निम्ति जल–मौसम र जलवायुको पूर्वसूचना तथा त्यसैअनुसारको पूर्वतयारीको अपरिहार्यतालाई जोड दिँदै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।
दिवसका अवसरमा बुधबार जल तथा मौसम विज्ञान विभागद्वारा यहाँ आयोजित कार्यक्रममा मौसम, जलवायु र जल विज्ञानका विविध क्षेत्रमा आबद्ध व्यक्तित्व, सङ्घसंस्था र सरोकारवाला निकायका विज्ञहरुले मौसमी पूर्वसूचना र तयारीसँगै सम्भावित क्षतिबारे सजग हुन आवश्यक रहेकामा जोड दिनुभएको छ । जल तथा मौसम सेवाको उत्पादन र प्रयोगलाई अभिवृद्धि गर्दै दिगो विकास एवं समृद्धि र विपद् जोखिम न्यूनीकरणमा योगदान पुर्याउन सवै सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको धारणा छ ।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले आगामी दिनमा नाराअनुसारको प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै पूर्वतयारीका सूचनाका सम्बन्धमा थप काम गर्नुपर्ने बारेमा सुझाव दिनुभयो । उहाँले बाढी पहिरो र वर्षाको जस्तै सुक्खा र खडेरीका बारेमा समेत पूर्वसूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले विभागले गर्दै आएको पूर्वसूचना प्रणालीमा नयाँ र आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै जनतासमक्ष सूचना प्रवाहका लागि सञ्चारमाध्यमको सहयोग अपरिहार्य रहने उल्लेख गर्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पछिल्लो समयमा मौसमी विपद्का घट्ना बढिरहेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्न सम्बन्धित सबै निकायबीच आपसी सहयोग र समन्वयको खाँचो औँल्याउनुभयो । मन्त्रालयका सहसचिव एवं विश्व मौसम सङ्गठनका स्थायी प्रतिनिधि रामगोपाल खरर्वुर्जाले मौसमी विपद् कुनै एक देशमा मात्र सीमित नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय समन्वय र सहयोगको आवश्यकता हुनुपर्ने बताउनुभयो ।
विभागका महानिर्देशक कमलराम जोशीले गत वर्षायाममा पूर्वसूचना प्राप्त भए पनि त्यसबाट हुने सम्भावित क्षतिलाई आकलन गर्न नसक्दा मुलुकले बेमौसमी वर्षाको विपद्बाट ठूलो जनधनको क्षति बेहोर्नुपरेको बताउनुभयो । मौसमी विपदबाट जोगिन पूर्वसूचना र पूर्वतयारीका साथै सम्भावित क्षतिको आकलन गरी सोहीअनुसार तयारी गर्न राज्यका सबै निकाय लाग्नुपर्ने उहाँको भनाइ थियो ।
जलवायु परिवर्तनको कारणले जल तथा मौसमजन्य विषम घटनाहरु हावापानी, जलवायु र अति वर्षाका बारम्बार अस्वभाविकरुपमा घट्ने तथा विगतको भन्दा थप विनासकारीरुपमा देखा पर्ने र मौसमी चक्रको प्राकृतिक स्वरुपमा समेत परिवर्तन भइरहेको देखिन्छ । नेपालमा पनि अत्यधिक गर्मी, सुक्खा÷खडेरी, भारी वर्षा, शीतलहर, चट्याङ, बाढीजस्ता मौसमी प्रकोपका विपद्मा बढोत्तरी भइरहेको छ ।
जीवन र जीविकोपार्जनलाई यस्ता विपद्का जोखिमको सङ्कटबाट बचाउन प्रभावमा आधारित पूर्वानुमानसहितको पूर्वसूचनाको अत्यन्त महत्व छ । यस्ता सूचना तथा पूर्वानुमान सर्वसाधारण र विपद् व्यवस्थापनमा सम्बद्ध निकायहरुका लागि विपद् जोखिमको न्यूनीकरण तथा रोकथाम, पूर्वतयारी र प्रतिकार्यका निमित्त कोसेढुङ्गा सावित हुने गर्दछन । सही समयमा सही पूर्वानुमान र सूचनाको सम्प्रेषण तथा त्यसको प्रयोग गर्न सदैव तयार रहन र सक्षम हुन सकेमात्र जल तथा मौसमजन्य प्रकोपवाट जनधनको सुरक्षा गर्न सकिन्छ ।
विभागले पूर्वसूचना प्रदान गर्ने, जल, मौसम जलवायु र जलवायु परिवर्तनसम्बन्धी तथ्याङ्क प्रदान गर्ने र जोखिमयुक्त हिमनदी तथा हिमतालको नियमित अनुगमनका साथै जलवायु तथ्याङ्कलाई अद्यावधिक राख्ने काम गर्दै आएको छ । साथै नदी जलाधारमा आवश्यक जलमापन र मौसम मापन केन्द्रहरुको विस्तार गर्न र जल तथा मौसमजन्य प्रकोपको अनुगमन, पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको थप विकास र विस्तारलाई उच्च प्राथमिकता राखेको विभागले जनाएको छ ।