काठमाडौँ, चैत १६ गते । आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
तराई भूभागमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले सबैमा अनुरोध गरेको छ ।
हाल देशको प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्य तया सफा छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६ दशमलव चार डिग्री सेल्सियस छ ।
त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस छ ।