बेलिना थापा
लमजुङ, असार १४ गते । पहाडी जिल्ला लमजुङमा पनि सलह कीरा देखिन थालेको छ । सुन्दरबजार नगरपालिका, दोर्दी गाउँपालिका र क्व्होलासोंथर गाउँपालिकामा सलह देखिएको स्थानीयले बताएका छन् । सुन्दरबजार नगरपालिका-९ फेदीकुना क्षेत्रमा सलह कीरा भेटिएको कृषि प्राविधिकले बताएका छन् ।
फेदीकुना क्षेत्रमा केही सङ्ख्यामा सलह देखा परेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँका अनुसार त्यहाँ १२-१५ वटाको सङ्ख्यामा सलह देखिएको छ । सलहजस्तो देखिने कीरा भेटिएको खबरपछि स्थलगत अनुगमन गरेको र सलहको एउटा प्रजाति रहेको पुष्टि भएको उहाँले बताउनुभयो ।
फेदीकुनामा भेटिएको कीरामा सलहको लक्षण मिलेकाले सलह रहेको पुष्टि भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘थोरै सङ्ख्यामा मात्र देखियो । यति थोरै सङ्ख्याको कीरा कहाँबाट आयो भन्ने अध्ययन हुँदैछ । किसानको खेतबारीमा भने केही नोक्सान गरेको छैन ।’
यसलाई नियन्त्रण गर्ने विषयमा कृषि क्याम्पसका विज्ञसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।