नरेन्द्र ढकाल
गोरखा, साउन १७ गते । गोरखाका दुई गाउँपालिका सिल गरिएको छ । कोरोना सङ्क्रमितको स्वाब सङ्कलनमा खटिएका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि बारपाक सुलिकोट गाउँपालिकामा पाँच दिनका लागि बन्द भएको छ ।
आगामी २१ गतेसम्म स्वास्थ्य संस्थाबाहेक सबै सरकारी तथा गैरसरकारी कार्यालयसमेत बन्द गरिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो । ती स्वास्थ्यकर्मीको सम्पर्कमा आएको जनप्रतिनिधि, कर्मचारी स्वास्थ्यकर्मीलगायतको कन्ट्रयाक ट्रेसिङ तयारी भइरहेको उक्त गाउँपालिकाले जनाएको छ ।
यता गोरखा नगरपालिकाले पनि वडा नं. ९ को लक्ष्मीबजार क्षेत्रलाई सिल गरेको छ । बारपाक सुलिकोटमा सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीको श्रीमती शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत रहेकाले उहाँको परिवारका सदस्यमार्फत सङ्क्रमण फैलनसक्ने भन्दै सिल गरिएको गोरखाको नगरपालिकाले जनाएको छ । सम्पर्कमा आएकाहरू सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने र रिपोर्ट नआएसम्म स्वास्थ्य संस्था र वडा कार्यालयको सेवा बन्द गर्ने निर्णय भएको नगरप्रमुख राजनराज पन्तले जानकारी दिनुभयो ।
समुदायस्तरमा कोरोना फैलिएको भीमसेन थापा गाउँपालिका असार १५ गते देखि बन्द छ । उक्त गाउँपालिकाको वडा नं. ५ रिठ्ठेपानी, वडा नं. ६ को मोहोरिया र वडा नं. ८ को महादेवटारमा समुदायस्तरमा कोरोना पुष्टि भइसकेको छ । प्रहरी हिरासतबाट छुटेका महादेवटारका एक युवक र उनको सम्पर्कमा आएका तीन जनामा कोरोना पुष्टि भइसकेको छ । त्यहाँ पहिलो चरणमा असार ८ गते ३८ र दोश्रो चरणमा मङ्गलबार ११७ जनाको कन्ट्याक्ट ट्रेसिङ भइसकेको छ । तीमध्ये पहिलो चरणका नमूना सङ्कलन गरी पठाइएका तीन जनाको रिपाेर्ट पोजिटिभ आएको छ ।
बाँकी ३५ जनाको रिपाेर्ट नआएपछि उक्त गाउँलाई सङ्क्रमित क्षेत्र घोषणा गरी सम्पूर्ण गतिविधि बन्द गरिएको वडा अध्यक्ष बासु थापाले जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ । यसैगरी वडा नं. ५ को रिठ्ठेपानी र मोहोरियामा भने सरोकारवालाहरूको असावधानीबाट कोरोना सङ्क्रमण फैलिएको हो । दुइ जना भारतबाट र एक जना महिला चितवनबाट आएकी महिलाको रिपाेर्ट नेगेटिभ आएको भन्दै छोडिएको भोलिपल्ट पोजिटिभ रिपा्ेर्ट आएपछि उनीहरूको सम्पर्कमा आएकाहरूमा कोरोना फैलिएको हो । अहिले त्यहाँ पनि सङ्क्रमित क्षेत्र घोषणा गरेर कन्ट्याक्ट ट्रेसिङसमेत गरिसकिएको छ ।