logo
२०८१ चैत्र २८ शुक्रवार



नवरात्रभित्र २२ हजार भक्तजनद्वारा पाथीभराको दर्शन

प्रदेश |
राष्ट्रिय |


नवरात्रभित्र २२ हजार भक्तजनद्वारा पाथीभराको दर्शन



चन्द्र पन्दाक
ताप्लेजुङ, असोज २९ गते । दशैँको नवरात्रको अवधिमा करिव बाइस भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण गतवर्ष दर्शन गर्न नपाएका भक्तजनले यो वर्ष नवरात्रभित्रै उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा दर्शनका लागि दशैँ र तिहारको अवधिलार्ई मुख्य मौसम मानिन्छ । सोहीअनुसार यो वर्ष मुख्य मौसमलाई लक्षित गरी गत असोज १ गतेदेखि पाथीभरामा दर्शन खुल्ला गरिएको थियो । दर्शनका लागि खुल्ला गरिएसँगै पाथीभरामा भक्तजनको आगमन सुरु भएको र नवरात्रभित्र मात्र करिव २२ हजार भक्तजनले दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार विगतमा झैं यो वर्ष पनि नवरात्रिको अवधिमा पाथीभरामा भक्तजनको भीड नै लागेको छ । यसवर्ष अधिकांश आन्तरिक भक्तजन आएका छन् भने केही देशबाहिर भारतको सिक्किम र दार्जिलिङका भक्तजन पाथीभराको दर्शन गर्न आएका काफ्लेले जानकारी दिनुभयो । नवरात्रको शनिबार एकैदिन सबैभन्दा बढी साढे छ हजार भक्तजनले पाथीभराको दर्शन गरेका छन् । त्यसपछि दैनिक हजारौं भक्तजनले दर्शन गरेका छन् ।
नवरात्रको अन्तिम अर्थात दशैँको महानवमी पर्वका दिन बिहीबार पनि दुई हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यो वर्ष देशभित्र सङ्घीय राजधानी काठमाडौं लगायतबाट उल्लेख्य सङ्ख्यामा भक्तजन आएका छन् । तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा धाममा काठमाडौं, झापा र भेडेटार क्षेत्रबाट हेलिकप्टमार्फत पनि धेरै भक्तजन पाथीभरा दर्शनमा आएका समितिले जनाएको छ ।
समितिका अनुसार कोजाग्रत पूर्णिमासम्म नै भक्तजनको बाक्लो उपस्थिति रहने छ । पाथीभराको दर्शनका लागि धेरै ठाउँबाट भक्तजनले सम्पर्क गरिरहेका पनि जनाइएको छ । कोभिड–१९ का कारण गत वर्ष पाथीभरा दर्शनमा रोक लगाइएको थियो । यो वर्ष पनि कोभिड सङ्क्रमणको जोखिम कायम नै रहेकाले पाथीभराको दर्शनमा जाने भक्तजनले सकेसम्म स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
भीडभाडमा अनिवार्य मास्क लगाउन साथै सम्भव भए भौतिक दूरा कायम गर्न भक्तजनलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने र भक्तजनको हितमा आवश्यक सहयोग दिने उद्देश्यले सदरमुकाम फुङ्लिङ बजारको तोक्मेडाँडा र पूरानो बैङ्कलाइनमा जिल्ला प्रहरी कार्यालयले नागरिक सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।


पाथीभराको दर्शन गर्ने भक्तजनको भीड । तस्बिर ः चन्द्र पन्दाक ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?