logo
२०८१ मंसिर १० सोमवार



राजनीति र राजनीतिकर्मी महिलाका समाचार कभरेज गर्नेमा गोरखापत्र र 'दि राइजिङ नेपाल' अगाडि

राष्ट्रिय |


राजनीति र राजनीतिकर्मी महिलाका समाचार कभरेज गर्नेमा गोरखापत्र र 'दि राइजिङ नेपाल' अगाडि


काठमाडौं, फागुन ५ गते । गोरखापत्र दैनिकले सबैभन्दा धेरै राजनीतिक कभरेज गर्ने गरेको एक अध्ययनले देखाएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग) र टेवाले सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीलाई लिएर गरेको छ महिनाको सञ्चार अनुगमन प्रतिवेदनमा सार्वजनिक गरिएकाे हाे ।

अध्ययनमा गोरखापत्रले २३ प्रतिशत राजनीतिक विषय कभरेज गर्ने गरेको उल्लेख गरिएकाे छ। यस्तै, गोरखापत्र संस्थानकै अङ्ग्रेजी दैनिक प्रकाशन 'डि राइजिङ नेपाल'ले १६ प्रतिशत राजनीतिक विषय कभरेज गर्ने गरेको छ ।

निजी सञ्चार माध्यममा नागरिक दैनिकमा १८ प्रतिशत, कान्तिपुरमा १६ प्रतिशत, नयाँ पत्रिकामा १२ प्रतिशत, अन्नपूर्ण पोष्टमा नाै प्रतिशत र काठमाडाैं पोष्टमा छ प्रतिशत कभरेज राजनीतिक समाचारले स्थान प्राप्त गर्ने गरेको छ ।

महिला राजनीतिकर्मीले नेपालका मिडियामा ५.८४ प्रतिशत स्थान प्राप्त गर्ने गरेका छन् । अनुगमनमा गोरखापत्र दैनिक, डि राइजिङ नेपाल, कान्तिपुर, डि काठमाडाैं पोष्ट, नागरिक, अन्नपूर्ण पोष्ट र नयाँ पत्रिका छन् । यी पत्रपत्रिकामा समाचार, लेख–फिचर, सम्पादकीय, सम्पादकलाई चिठ्ठी र फोटोको अनुगमन गरिएको थियो ।

यस संस्थाले २०२१ को जुलाईदेखि डिसेम्बरसम्म महिला राजनीतिकर्मीलाई लिएर सञ्चार अनुगमन गरेको थियो । महिला राजनीतिकर्मीहरुका बारेमा सात वटा दैनिक पत्रिकामध्ये सबैभन्दा धेरै कभरेज गोरखापत्र दैनिकले गरेको छ । जम्मा कभरेजको २९.७ प्रतिशत कभरेज महिला राजनीतिकर्मीले प्राप्त गरेका छन् ।

यसैगरी, डि राइजिङ नेपाल र कान्तिपुरमा १९.६ प्रतिशत कभरेज महिला राजनीतिकर्मीहरुको छ भने नागरिकमा ११ प्रतिशत, अन्नपूर्ण पोष्टमा ९.४ प्रतिशत, नयाँ पत्रिकामा ६.४ प्रतिशत र डि काठमाडाैं पोष्टमा ४ प्रतिशत कभरेज भएको छ ।

पेजका आधारमा राजनीतिकसम्बन्धी जम्मा छ हजार ३८२ सामग्रीले स्थान पाएको छ । जसमा पेजका आधारमा राजनीतिकसम्बन्धी सामग्री सबैभन्दा बढी कभरेज भित्री पेजमा प्रकाशित भएका छन् । भित्री पेजमा ५२ प्रतिशत सामग्री प्रकाशित भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी पहिलो पृष्ठमा ३६ प्रतिशत, विचार पेजमा १० प्रतिशत र सम्पादकीयमा २ प्रतिशत सामग्री प्रकाशित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?