यमबहादुर दुरा
इ
तिहास सर्वव्यापक छ । सबै चीज वा वस्तुमा इतिहास लुकेको छ । तर सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य छन् । यसलाई सजिलै पहिचान गर्न सकिन्न । इतिहास खोतल्न निश्चित आधार ठम्याउन आवश्यक छ ।
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरा गान्धीलाई लेखेको पत्रमा भनिएजस्तै इतिहासका सन्देश बुझ्नका लागि आपूm वरिपरिका अव्यक्त परिवेशलाई अनुशीलन गर्नुपर्छ । तिनको वैज्ञानिक व्याख्या–विश्लेषण गरेर इतिहासका डोबहरू पत्ता लगाउन सकिनेबारे नेहरूले पत्रमा चर्चा गर्नुभएको छ ।
इतिहास बुझ्नका लागि व्याख्या–विश्लेषण गर्नुपर्ने विषयहरूको सूची लामो छ, जसभित्र असङ्ख्य विषयवस्तु पर्छन् । ती विषयवस्तुमध्ये एउटा विषयवस्तु हो, लोकगीत ।
लोकगीत इतिहासको महŒवपूर्ण स्रोत मानिन्छ । इतिहासका पुस्तकहरूमा लोकगीतलाई इतिहासका विभिन्न स्रोतमध्ये एउटा महŒवपूर्ण स्रोतका रूप मान्यता दिइएको पाइन्छ । अनलाइन विश्वकोश ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ ले लोकगीतलाई इतिहासको मौखिक स्रोत मानेको छ । लोकगीतको अध्ययनबाट सम्बन्धित समाजको ऐतिहासिक पक्षलाई उजागर गर्न सकिने ‘इन्साक्लोपिडिया ब्रिटानिका’ को ठहर छ ।
अमेरिकी लोकगीतसम्बन्धी पुस्तक ‘इन सर्च अफ द ब्लुज’ का लेखिका प्राध्यापक मेरिबिथ ह्यामिल्टनले लोकगीत र इतिहासको अन्तरसम्बन्धलाई मिहिन किसिमले केलाउनुभएको छ । ह्यामिल्टन लोकगीतलाई इतिहासको रसिलो स्रोत मान्नुहुन्छ । उहाँको बुभाइ छ, ‘इतिहास अध्येताहरूका लागि लोकगीत महŒवपूर्ण स्रोत हो । ’
‘लोकसाहित्य र संस्कृतिका केही पाटाहरू’ पुस्तकमा लोकगीतको ऐतिहासिक पक्षको महŒवबारे मनोहर लामिछानेले लोकगीत र इतिहासको नाता–सम्बन्धबारे विश्लेषण गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘समाज परिवर्तन हुँदा विभिन्न कालखण्डका घुम्तीहरूमा सत्यतथ्य लुकेको पाइन्छ । लोकजीवनमा चलेका सामाजिक मूल्यमान्यता संस्कृति, सभ्यता र परम्पराहरू लोकभाकामा उतारिएका हुन्छन्’ (पृ.१०) ।
नेपाली लोकगीतमा पनि स्वाभाविक रूपमा इतिहासका असङ्ख्य झलक पाइन्छन् । यद्यपि तिनको उचित परिशीलन, व्याख्या–विश्लेषण र अर्थापन भने भएको पाइँदैन ।
एक समय रेडियो नेपालमा एउटा गीत खुब गुञ्जन्थ्यो । गीतको एउटा हरफ यस्तो थियो, ‘घुरुमा घुरु परेवा घु¥यो बार्दली–कौसीमा, नब्बे है सालमा भुइँचालो गयोे सोमबारे औँसीमा । ’ यो गीतको हरफले १९९० साल माघ २ गते सोमबारका दिन आएको भुइँचालोको तिथिमितिलाई अकाट्य किसिमले वर्णन गरेको छ । लोकगीतमा इतिहास भेटिन्छ भन्ने तथ्यलाई यो गीतले पुष्टि गरेको छ ।
खरो रूपमा इतिहास बोल्ने यस्ता गीत हामीकहाँ छन् तर समयक्रममा तिनीहरू विस्मृत हुँदैछन् । सन् १८१६ मा नेपालको एकतिहाइ भूभाग गुम्ने गरी नेपाल र इष्ट इन्डिया कम्पनीबीच असमान सन्धि भयो । यसप्रति रोष प्रकट गर्दै त्यस समयमा गीत तथा कविता रचिएका थिए भनिन्छ । हाल ती रचना सग्लो रूपमा नभेटिएकाले तिनले कस्तो सन्देश सम्प्रेषण गरेका थिए भन्नेबारे यसै भन्न सकिने अवस्था छैन ।
प्रथम तथा दोस्रो विश्वयुद्ध ताका हजारौँ भोका–नाङ्गा नेपाली युवा पराई भूमिमा अनाहकमा ‘बलिको बोको’ बने । मृत्युको मुखमा पुगेर फर्केकाहरूले युद्धको गीत गाए । यता, गाउँघरमा पर्खिएर बसेका आफन्तजन र साथीसँगीले पनि विरहमा युद्धको गीत गाए ।
त्यो समयमा पनि युद्ध–विभीषिकाले निम्त्याएको पतझडपनबारे थुप्रै लोकगीत रचिए, गाइए । ‘गाई पाल्यो रेलिमै वनैको बाघलाई, छोरो पाल्यो रेलिमै जर्मनको धावालाई’ लाई त्यसबेला गण्डकी भेगमा गाइएका गीतको एउटा उदाहरणका रूपमा लिन सकिन्छ । लोकसाहित्यविद् सत्यमोहन जोशी यो गीतलाई बेला बेलामा उद्धरण गरिरहनुहुन्छ ।
धेरैजसो गीत समयको भासमा हराए । ती लोकस्मृतिमा छैैनन् । यस्ता गीत बचेको भए विश्वयुद्धले तत्कालीन ग्रामीण समाजमा पारेको मनोविज्ञान तथा सामाजिक–सांस्कृतिक असर बुझ्न सहज हुने थियो ।
गन्धर्व समुदायले कख्याउँदै आएको र हाल बिरानो बन्दै आएको कर्खा परम्परालाई पनि जिउँदो इतिहास मानिन्छ । कर्खा घटनाप्रधान गीत हो । यसमा राजा–महाराजाका उतारचढावपूर्ण जीवनगाथा समेटिन्छन् । कर्खाले इतिहासका अनेकौँ अध्याय उदाङ्गो पार्ने गरी खजाना पस्किरहेको छ । जङ्गबहादुरको व्यक्तित्वदेखि सिंहदरबार आगलागी काण्डसम्मका प्रसङ्गहरू छन् । सुदूर अतीतदेखि निकट अतीतका राजनीतिक तथा सामाजिक घटनाक्रम कर्खामा समेटिएका छन् ।
कास्की हेम्जाकी हीरादेवी गाइनेनीले माथरसिंह बस्नेतको कर्खा गाएको प्रसङ्ग लोकसांस्कृतिक वृत्तमा अभैm पनि चर्चित छ । इतिहास बोल्ने हीरादेवी गाइनेनीको जन्म तथा मृत्युसम्बन्धी विवरण खुलेको छैन ।
कर्खामा राजा–महाराजाका बखानमात्र हुँदैन, यसमा बाढीपहिरो जस्ता प्राकृतिक वितण्डा, आपराधिक घटना, युद्ध तथा स्थानीय घटनाचक्रहरू पनि समेटिन्छन् । यसमा ‘ग्रासरुट्स’ का नागरिकका कथाव्यथाले पनि ठाउँ पाउँछन् । कर्खामा स्थानीयपन झल्कने जनइतिहास प्रचुर मात्रामा भेटिन्छन् । तत्कालीन समयमा जिउँदो समाचारका रूपमा रहेका यी कर्खा मौखिक इतिहास हुन् । प्रत्येक कर्खामा अन्वेषणीय इतिहास छ ।
अङ्ग्रेजी ‘बलाड’ शब्दको हाराहारी मानिने सवाई इतिहासको अर्को महŒवपूर्ण स्रोत हो । विगतमा भोट लडाइँदेखि भुइँचालोको विनाशसम्मको सवाई जनजिब्रोमा सञ्चित थिए ।
नरबहादुर रानाले वि.सं. १९३३ मा जङ्गबहादुर राणाको मृत्यु भएपछि लयात्मक शैलीमा ‘जङ्गबहादुरको सवाई’ लेखेको डा. तारानाथ शर्माले ‘नेपाली साहित्यको ऐतिहासिक परिचय’ पुस्तकमा चर्चा गर्नुभएको छ (पृ.२६) । ओलाङचुङगोलाका नरबहादुरले वि.सं. १९२२ मा ‘भोट लडाइँको सवाई’ लेखेको पनि सोही पुस्तकमा चर्चा गर्नुभएको छ (उही) । तर अहिले सवाई सुन्ने र सुनाउने परम्परामा पूर्णविराम लागिसकेको छ । यससँगै मौखिक इतिहासको एउटा अध्याय सेलाएजस्तै भएको छ । तर पनि बचेका सवाईहरूबाट इतिहास पर्गेल्न सकिन्छ ।
सवाईका अतिरिक्त बालन, घाँटु, सोरठी, कृष्णचरित्र, शोकगीत आदिमा नेपाली समाजको सांस्कृतिक तथा आध्यात्मिक जीवनका गहिरा अध्यायहरू भेटिन्छन् । यी गीतमा थप अन्वेषण, विश्लेषण र अर्थापनका लागि पर्याप्त ठाउँ छ । लोकगीतमा स्थानीय पहिचान झल्कने इतिहास तत्व भेटिन्छन् । त्यो पनि सर्वसाधारणको मुखबाट निस्केको । ‘राम बोल्यो मैनाले, दमौलीमा पुल हाल्यो चाइनाले’, ‘सेती खोला चाइनेजो फनक्कै घुमेको, माछा छैन चइनेजो जाल केलाई बुनेको’ जस्ता लोकगुञ्जनमा स्थानीय पहिचानसहितको इतिहास सल्बलाएका छन् ।
हामी केटाकेटी हुँदा एउटा गीत सुनिन्थ्यो ः ‘यो मायाले दिएको सिरौँला, कि त खाउँला कि पैँचो तिरौँला’ । यो गीत कहिले रचियो, कसले रच्यो भन्ने सम्बन्धमा कुनै निश्चित समयरेखा भेटिँदैन । यसबारे यति कुराचाहिँ निश्चिततापूर्वक भन्न सकिन्छ, यसले हाम्रो रैथाने परिकार र खाद्य संस्कृतिको इतिहास बोलिरहेको छ । लोकगीतका अध्येताहरू बुझाइमा हरेक लोकगीतमा कथा हुन्छ । सङ्गीत अध्येता लिण्डा डिजुरस पनि यसमा पूरापुर सहमत हुनुहुन्छ । वास्तवमा हाम्रा लोकगीतमा जनताका बेहिसाब कथाकुथुङ्ग्री लुकेका छन् ।
हुन पनि हो, लोकगीतमा लोकजीवनमा असङ्ख्य कथा छिरल्लिएका छन् । प्रथम तथा दोस्रो विश्वयुद्धमा भाडाका सिपाहीका रूपमा अरूका लागि रगतको खोलो बगाउने हाम्रा पितापुर्खा, अरबको खाडीमा पसिनाले निथ्रुक्कै भिज्दै घर–परिवारका लागि रोटो–भोटोको जोहो गर्नुपर्ने बाध्यतामा फसेका मुगलानीका पीर–व्यथालगायत सयौँ कथा नेपाली लोकगीतमा उनिएका छन् ।
कलानाथ अधिकारी, अलिमिया, केवलपुरे किसान, गोकुलप्रसाद जोशी, जनकप्रसाद हुमागाईं, देवीप्रसाद वनवासीजस्ता प्रतिभाहरूले लोकगुञ्जनमार्पmत जनसाधारणका कथा–व्यथा पस्कनुभयो । उहाँहरूका अभिव्यक्तिलाई चिरफार गर्ने हो भने जनस्तरका इतिहास पाउन सकिन्छ । जनजीवनका कथा ओकल्ने लोकगीत आपैंmँमा इतिहास हुन्, जसमा इतिहासका अनमोल तत्व (ज्ञान) छरपष्ट छन् । लोकगीतको भण्डारमा रहेका हाम्रा बेहिसाब गीतको परिशीलन तथा विश्लेषण गरेर इतिहासम्बन्धी ज्ञान उत्पादन गर्न सकिने पर्याप्त ठाउँ छ । तर त्यसमा रहेका इतिहास तत्व देख्नका लागि हामीले तेस्रो आँखा प्रयोग गर्नुपर्ने हुन्छ ।
(लेखक पत्रकारिताका अध्यापक हुनुहुन्छ । )