logo
२०८१ मंसिर ६ बिहीवार



भीडतन्त्र समृद्धिको अवरोध

विचार/दृष्टिकोण |




डा. अतीन्द्र दाहाल

प्राचीन चिनियाँ दार्शनिक कन्फुसियसका अनुसार सबल राज्यको प्रमुख आधार ‘शिक्षित र नैतिक’ नागरिक समूह हो । यद्यपि, शिक्षित भनेको औपचारिक अध्ययनसँगै अब्बल श्रेणीको लब्धाङ्कपत्र प्राप्त गरेको नभई व्यवहार, सोच÷विचार, दया÷माया, करुणा, परिपक्वता, अनुशासन, सदाचार तथा समाजका लागि आवश्यक अनुकरणीय कौशल तथा गुणले विभुषित भन्ने अर्थ लाग्थ्यो । शिक्षाको सट्टा दीक्षाले सुसज्जित भन्ने अन्तर्य झल्कन्थ्यो । पश्चिमा साहित्य, दर्शन तथा ज्ञानका आदिकर्ता प्लेटोले प्रसिद्ध पुस्तक ‘रिपब्लिक’ मा समेत गणराज्यका नागरिक शिक्षित, अनुशासित, धैर्यवान तथा तार्किक हनुपर्ने र राज्यले सोही तवरबाट जनमानसलाई प्रशिक्षित गर्नुपर्ने भन्नुभएको छ ।
शिक्षाका पछिल्ला अनुपम सिद्धान्तले पनि सत्य र सही कुरा जान्नुसँगै सत्य, नैतिक र चरित्रवान नागरिक निर्माणमा शिक्षालाई प्रयोग गर्नुपर्ने भन्छ । तसर्थ, ‘शिक्षित र नैतिक’ नागरिक समूह प्राचीनदेखि उत्तरआधुनिकतासम्म सबै कालखण्डका दार्शनिकहरूबीच उच्च अभिरुचिसाथ विश्लेषण तथा चिन्तन÷मन्थन भएकोे विषय हो । किनकि देशको प्रगति तथा अधोगतिको प्रमुख श्रेय स्वयम् नागरिक समूहमा आधारित हुन्छ ।
नागरिक महŒवको आयाम
देशको समुल समृद्धि तथा सभ्यताउन्मुख परिवर्तन आमनागरिक चरित्र तथा चिन्तनबाट अभिप्रेरित हुन्छ । हुन त हरेक अविकास वा कमजोर प्रगतिमा सरकारलाई दोष दिन सजिलो छ, यद्यपि सरकारका पनि आफ्नै सीमितता, अप्ठ्यारा अनि असहजता अवश्य र प्रशस्त हुन्छन् । देशमा एक राष्ट्रपति, एक उपराष्ट्रपति, एक प्रधानमन्त्री, केही मन्त्रीहरू, केही सय सांसद अनि राज्यकोषबाट वेतनभोगी केही हजार सरकारका सहयोगीहरू छन् तर नागरिकको सङ्ख्या त्योभन्दा हजारौँ गुणा बढी छ । जसको समूह ठूलो र आयातन फराकिलो छ, स्वभावैले उसले गर्नुपर्ने योगदान र निर्वाह गर्नुपर्ने भूमिका पनि अनुपातिक हिसाबमा ठूलै हुन्छ । अफसोस, उक्त गम्भीर अनि विशाल वाञ्छनीय भूमिकालाई आत्मसात् गर्दै जिम्मेवार सारथि बन्नुसट्टा हामी नागरिक अधिकांश समय सामाजिक सञ्जालका असामाजिक सतही बहसमा दौडदै छौँ । सञ्जालमा उग्र रूपले अभिव्यक्ति प्रकट गर्नुलाई एक र अन्तिम लक्ष्यजस्तो गरी प्रस्तुत हुन्छौँ । हालसालै एक टेलिभिजन कार्यक्रम प्रस्तोतामाथि अन्धभक्त हुँदै राज्यलाई आफ्नो नियमित कार्यसम्पादन गर्न नै अवरोध हुनेगरी अथवा राज्यले कुनै प्रक्रिया नै सुरु गर्नुहुन्न भन्ने अभिप्रायले असामाजिक अभिव्यक्ति उठाउन खोज्नु निकै दुःखदायी अनि सतही अभ्यास होे ।
हामी नागरिकले मनन गर्नुपर्छ कि हरेक लोकप्रिय कुरा नै सत्य वा लाभदायकसमेत हुन्छ भन्ने छैन । उत्तेजित जोशले जकडेको भीडबाट कुनै निर्णय गराउन अथवा राज्यका वैधानिक कार्यसम्पादन प्रभावित गर्न खोज्नु भीडतन्त्र
(मोबोक्रेसी) हो । राज्यले अनुसन्धान नै गर्न हँुदैन भन्ने हिसाबले अनावश्यक रूपमा माहोल तताउन खोज्नु स्वतन्त्रताका नाममा अहङ्कारी र आडम्बरी स्वछन्दतामात्र हो । यस्तो छुट कसैलाई छैन । देशको कानुन र संविधान सबैलाई समान रूपमा आकषर््िात हुन्छ । पीडित पक्षले तोकेरै किटानी जाहेरी गरेपछि अनुसन्धान बढाउनु राज्यको दायित्व तथा जिम्मेवारी हो । त्यसैले, कम्तीमा समर्थनमा अनावश्यक उत्तेजित हुनेहरूले आफूलाई संयमित बनाउनुपर्छ । यदि साँच्चै लोकतन्त्रमाथि विश्वास र सम्मान भए हिरासतमा रहेका व्यक्ति स्वयम्ले समर्थकलाई त्यसरी अनावश्यक उग्र नाराबाजी नगर्न अनुरोध गर्नुपर्छ । यसरी बेलाबेला व्यक्तिविशेषका पछाडि दौडने समूह पनि देशको विकास र अपेक्षित समृद्धिको एक सशक्त अवरोध हो । विषयकेन्द्रितभन्दा व्यक्तिकेन्द्रित विचार निर्माणको अपरिपक्व अभ्यास लोकतन्त्रकै लागि समेत हानिकारक हुन्छ । फ्रान्सिस लियोटार्डको निबन्ध ‘द पोस्ट–मोर्डनिजम’ का अनुसार सत्यका विविध पाटाहरू र बहुरूप हुन्छन् । कसैको समर्थनमा उत्तेजित हिसाबले आफूलाई अवतरण गर्नु पहिले हामीले ती सम्भावित बहुरूपलाई समेत आत्मसात् गर्नुपर्छ ।
सत्यका बहुरूप
संसारमा थुपै्र विधाका सेलिब्रेटीहरूले बाहिर देखिनेभन्दा फरकखालको चरित्रसमेत बोकेका र जेलसमेत गएका छन् । स्वीडेनका चर्चित गायक आस्प रक्कीलाई यही वर्ष छ वर्षको कारावास तोकियो । अमेरिकाको दक्षिण–पूर्वी क्षेत्र टेनेसीका गायक ब्ल्याकबोय जेबीलाई लागूऔषध ओसारपसार गरेबापत जेल चलान गरियो । जुलियस असान्जमाथि यस्तै अपराधको सजाय छ । अमेरिकी प्रसिद्ध वकिल मिसाएल एभान्तीलाई धम्क्याएर २५ मिलियन डलर असुल गरेबापत सजाय हुँदै छ । चीनमा सामाजिक सञ्जाल सेलिब्रेटी २० वर्षीया याङलाई राष्ट्रियगानको अपमानको कसुरमा जेल पठाइयो । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ जेलजीवनमा हुनुहुन्छ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अवस्था समान छ । भारतीय अभिनेता सलमान खानलाई निरन्तर कानुनी कारबाही आइलाग्ने गरेको छ । यी केही प्रतिनिधि घटनाहरू हुन् ।
लिन्डसे स्टनबर्गले सन् २०१७ मा गरेको अनुसन्धान ‘क्राइम एन्ड सेलिब्रेटी’ मा झन्डै २० प्रतिशत सेलिब्रेटीहरू विविधप्रकारका आपराधिक गतिविधिमा रहने र एउटा अपराधलाई ढाकछोप गर्न अर्को अपराध गर्दा अपराधको शृङ्खला बन्ने निष्कर्ष छ । तीमध्ये केहीले आफ्नो आवरण लुकाउन सम्बन्धित अपराधको विरुद्ध काम गर्ने परिचय बनाउने गरेको पनि देखिन्छ । अर्को एक तथ्याङ्कका अनुसार सन् २०१८ मा मात्रै संसारभर झन्डै ६० जना सेलिबे्रटीहरू अमानवीय र पाशवत अपराधमा संलग्न भएको देखिन्छ ।
सामाजिक सज्जा र लोकप्रियताका उच्चतम आभुषणले सुसज्जित अनेकौँ विख्यात पात्रहरूका समेत धमाधम थुपै्र आपराधिक सत्य खुल्दै छन् । विभिन्न देशमा पादरी अनि धर्मगुरुहरू नै व्याभिचार तथा यौनजन्य अपराधमा संलग्न भेटिँदै छन् । लागूपदार्थ ओसारपसार, त्रास तथा कोलाहल फैलावट, वस्तु तथा सामानको चोरी निकासी÷पैठारी, मानव बेचविखन तथा अन्य प्रकारका तस्करीमा समाजका लब्धप्रतिष्ठित भनिएका र फरक सामाजिक जीवन तथा हैसियतका समेत संलग्न भेटिएका नजिर हामीसँगै प्रशस्त छन् । गल्ती जोकोहीबाट भएको हुन सक्छ । त्यसैले समर्थन गर्दा सद्भाव राख्ने र सकारात्मक सोच्ने हो, यद्यपि उफ्रँदै समर्थन गरेको मानिसलाई देवत्वरण गर्ने अनि बाँकी सबै समुदाय तथा राज्य पूरैलाई अथाह सत्तोसराप गर्नु अथवा छानबिन नै गर्न हुँदैन भन्नु किञ्चित शोभनीय हँुदैन ।
देशमा प्रशासन, प्रहरी, अदातल सबै छन्, सत्य तथा आधिकारिक कुरा र आवश्यक निर्णय त्यहीँबाट हुन्छ । अनुसन्धानबाट निर्दोष साबित भएपछि विनापूर्वाग्रह स–सम्मान रिहाइ भइन्छ । तर, कसैमाथि यति धेरै विश्वाससमेत गर्नुहुन्न कि भोलि उक्त समर्थनका कारण आमसमाजसँग लज्जित बन्नु परोस् । हामी संयमित र सचेत रहनुपर्छ । राज्यको चौथो अङ्ग सञ्चारले राज्यलाई आफ्नो कार्यसञ्चालन गर्न नै नदिने हिसाबले समाचार सम्पादन, सम्प्रेषण गर्नुसमेत हँुदैन ।
यस्ता विषयमा कहिलेकाहीँ अनावश्यक राजनीतिकरण हुन सक्छ । गोटेनवर्ग विश्वविद्यालय स्वीडेनमातहतको भिडेम इन्स्टिच्युटबाट सार्वजनिक पछिल्लो प्रतिवेदनले अत्यधिक विद्युतीयकरण (एक्सट्रिम डिजिटलाइजेसन) र विशाक्त तथा षड्यन्त्रमुलक राजनीतिकरण (टक्सिक पोलिटिसाइजेसन) लाई लोकतन्त्रका प्रमुख चुनौती सम्झन्छ । देशको पुरानो पार्टीले सरकारको विरोध गर्ने नाममा जस्ता पनि विषय उठान गर्ने हतोत्साही मानसिकता देखाउनुसमेत शोभनीय होइन । कोही अमूक व्यक्तिमाथि राज्यको कामलाई नै प्रभाव पार्ने दुस्वपनाले अन्धसमर्थन जनाउनेजति तागत तथा साहस सबैले आ–आफ्नो काम र पेसामा पनि लगाउने हो भने देशले त्यसबाट प्राप्त गर्ने समग्र फाइदा अधिक हितकर हुन्छ ।
हामीले नागरिक भूमिकामा व्यापक परिवर्तन र संशोधन गर्नुपर्छ । हामी अरू सबैलाई सल्लाह दिन र आलोचना गर्न व्यस्त रहन्छौँ तर आफ्नो काम गर्नचाहिँ जान्दैनौँ । यहाँ शिक्षक÷प्राध्यापकहरू आफ्नो काम छाडेर राजनीति गर्छन् र दोष सरकारलाई दिन्छन् । सरकारी वेतनधारी कर्मचारी आफू नागरिकप्रति असहयोग र सेवाप्रवाहमा विलम्ब गर्छन् अनि कमजोरी सरकारमा देख्छन् । देश बनाउन योगदान गर्नुपर्ने युवापुस्ता रैतीसरहको आत्मसम्मानविहीन जीवन बिताउन जुनसुकै हालतमा पनि विदेश भासिने कुरामा अलिकति पनि असहज अनुभव गर्दैन तर आक्रोशचाहिँ सरकारमाथि पोख्छ । सबका सब यहाँ आफ्नो क्षेत्रलाई लथालिङ्ग छाडेर अरूलाई सुझाव दिन अथवा सरकारमाथि प्रायोजित विरोध गर्न उत्साहित रहन्छ । यस्तो भड्किलो नागरिक समूह रहँदासम्म सरकार एक्लैले मात्र केही गर्न सम्भव हुँदैन ।
सरकारलाई सबैले सहयोग गर्नुपर्छ, उसको काम गर्न दिनुपर्छ । सरकारले आफ्नो काम र अख्तियारी प्रयोग गर्दा त्यसको अनावश्यक विरोध गर्ने उत्तेजित जोशभित्र नागरिक होस्, सचेतना, विद्वता र धैर्यता हराउनुहुन्न । हामी आफ्नो काम गरौँ, सरकारलाई उसको काम गर्न दिऊँ । भीडबाट राज्यको प्रक्रियालाई अवरोध गर्ने कुराको पक्षपोषण नगरौँ । सभ्य नागरिक संस्कार र दायित्व निर्वाहको एउटा प्रमुख पाटो यो पनि हो ।

(लेखक काठमाडौँ स्कुल अफ लमा प्राध्यापन गर्नुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?